वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा



बाँके ।

दैलेखको आठबीस नगरपालिकाको ८ नम्बर वडाका तत्कालीन अध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उपाध्यायसहित गणेश आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिलकुमार शाहीविरुद्ध पनि मुद्दा दर्ता गरेको हो ।

उनीहरूले विद्यालयमा आइसीटी व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/०७७ मा सामान खरिद गर्दा चार लाख ९८ हजार रूपैयाँ रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार विद्यालयमा बजेट विनियोजन नै नभएको अवस्थामा विभिन्न मितिमा आइसीटी व्यवस्थापनका लागि सोलार खरिद गर्न कोटेसन आह्वान गर्ने, कोटेसन छनोट गर्ने र खरिद नै नगरी सामान खरिद गरिसकेको भनेर विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर भुक्तानी दिइएको पाइएको हो ।

‘व्यवस्थापन समितिको सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी जिल्ला दैलेख, आठबिस नगरपालिका वडा नम्बर ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम भुक्तानीको लागि आठबिस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दैलेखमा चार लाख ९८ हजार रकम भुक्तानी लिने उद्देश्यले सरकारी रकम खाने मास्ने उद्देश्यका साथ गैरकानुनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको’ अभियोगपत्रमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार