नेपालगन्ज कार्यपालिका निर्वाचनः कांग्रेससहितको गठबन्धनभित्रै माओवादीलाई अन्तरघात



बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धन भित्रैबाट अन्तरघात भएको छ ।

गठबन्धनभित्र अन्तरघात हुँदा त्यसको फाइदा जनता समाजवादी पार्टी (जसपा)ले उठाएको छ । कार्यपालिका सदस्यको लागि भएको चुनावमा नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)–एकीकृत समाजवादी (एस) र राप्रपा तथा नेकपा एमाले–जसपाबीच गठबन्धन थियो ।

कांग्रेससहितको चार दलीय गठबन्धनमा अन्तरघात भएको हो । गठबन्धनभित्र भएको अन्तरघातको सोझो फाइदा जसपाले लिएको छ । चार दलीय गठबन्धनमा स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनका तीनजना उम्मेदवार पराजित भए । एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको जसपाले चार दलीय गठबन्धनका तीन उम्मेदवारलाई पराजित गरेको छ ।

नेपालगन्जमा नगर प्रमुख र उपप्रमुखसहित २३ वटा वडाबाट एक सय १७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । तीमध्ये कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता थिए भने उता एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता थिए ।

कांग्रेससहितको चार दलीय गठबन्धनसँग स्पष्ट जित्ने संख्या थियो । संख्या उपलब्ध भए पनि अन्तरघात हुँदा गठबन्धनले तीन सदस्य जित्न सकेन । वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा नेपालगन्जको मेयर र उपमेयरमा नेपाली कांग्रेस र जसपाले गठबन्धन गरेका थिए । कार्यपालिका सदस्यको निर्वाचनमा भने कांग्रेसले जसपालाई बाहिर राखेर अन्य तीन दलसँग गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको थियो ।

चार दलीय गठबन्धनबाट माओवादीका तर्फबाट उम्मेदवार बनेका दुईजना र एसका तर्फबाट उम्मेदवार बनेका एकजना पराजित बनेका हुन् । त्यसको फाइदा भने कांग्रेसले गठबन्धनबाट बाहिर राखेको जसपाले उठाएको छ । चार दलीय गठबन्धनमा रहेका माओवादी र एसका उम्मेदवारलाई हराउँदै एक महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्यमा जसपाका उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा पाँच महिला र तीन पुरुष गरेर आठजना निर्वाचित भए । नेपाली कांग्रेसका तीनजना, जसपाका तीनजना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुईजना निर्वाचित भएको उनले जानकारी दिए ।

महिला सदस्यहरुमा कांग्रेसबाट अमृताकुमारी सिंह, कुमारी पुष्पा सिंह र संगीता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी बिना थापा विजयी भएका छन् । यस्तै तीनजना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका वसन्त कनोजिया, मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका केही सदस्यहरुले आफ्ना उम्मेदवारहरुलाई भोट नदिँदा पराजित हुनुपरेको माओवादीका एक नेताले जानकारी दिए । ‘चार दलीय गठबन्धनमा कांग्रेसले अन्तरघात गरेका कारण हाम्रा उम्मेदवारले पराजय भोग्नुप¥यो,’ उनले भने, ‘यस विषयमा आगामी दिनमा कार्यपालिका बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा गम्भीररुपमा छलफल हुन्छ ।’ नेपाली कांग्रेस नेपालगन्ज नगर समितिका एक पदाधिकारीले गठबन्धनमा अन्तरघात हुँदा गठबन्धनकै उम्मेदवारले हार बेहोर्नुपरेको बताए ।

‘गठबन्धनमा अन्तरघात भएको कुरा त प्रस्ट नै खुलिसकेको छ,’ उनले भने, ‘कुन पार्टीका सदस्यले अन्तरघात गरे भन्नेबारे छानबिन गरे खुल्ला कांग्रेसले नै अन्तरघात ग¥यो भन्न मिल्दैन ।’

नेपालगन्जको नगर कार्यपालिकाले आइतबारबाट पूर्णता पाएको छ । ३३ सदस्यीय नगर कार्यपालिकामा कुनै पनि दलको स्पष्ट बहुमत पुगेको छैन । कार्यपालिकामा अब जसपाका १०, कांग्रेसका नौ, एमालेका पाँच, माओवादीका चार र राप्रपाका पाँचजना सदस्य हुने भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार