गर्मी बढेसँगै बाँकेका अस्पतालमा बिरामीको चाप



कोहलपुर ।

जिल्लामा पछिल्लो केही सातायता अध्यधिक गर्मी बढेको छ । गर्मीसँगै लाग्ने मौसमी रोगहरुका कारण स्वास्थ्य संस्थामा बिरामीहरुको भीड पनि बढ्न थालेको छ । दिनानुदिन बिरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

अहिले स्वास्थ्य संस्थामा विशेषगरी मौसमी ज्वरो, झाडापखाला, टाउको दुख्ने, शरीर चिलाउने जस्ता समस्या लिएर बिरामीहरु आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोहलपुर नगरपालिकास्थित शम्शेरगन्ज स्वास्थ्य चौकीका प्रमुख लिलाधर बुढाथोकीले गर्मी बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको चापसमेत बढ्न थालेको बताए ।

केही दिनयता स्वास्थ्य चौकीमा भाइरल ज्वरोका बिरामीको संख्या बढिरहेको उनी बताउँछन् । दैनिक यस्ता प्रकारका समस्या भएका बिरामी दुईदेखि तीन दर्जनसम्म आउने गरेको उनले बताए । यस्तै छालासम्बन्धी समस्या भएका बिरामीको समेत संख्या दैनिक बढ्दो अवस्थामा रहेको उनको भनाइ छ ।

यस्तै खजुरा गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा समेत बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । खजुराका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले भर्खर गर्मी सुरु भएकोले बिरामीहरुको चाप बढ्न थालेको बताउँछन् । उनका अनुसार अहिले विशेषगरी ज्वरो र झाडापखालाका बिरामी नै बढी आउँछन् । यस्तै गर्मीयाम बढेसँगै मौसमअनुसार हुने समस्या लिएर बिरामीहरु आइरहेको उनले बताए । पौडेलले विगतभन्दा फरक खालका समस्या लिएर बिरामीहरु आउन थालेको पनि बताए ।

पहिला स्वास्थ्य संस्थामा यो बेलामा झाडापखालाका बिरामीहरु बढी आउने गरेको उनको भनाइ छ । तर अहिले छालासम्बन्धी समस्या भएका बिरामी, आङमासी र ज्वरो र छिटफुटरुपमा पखालाका बिरामी आउने गरेका छन् । ‘अस्पतालमा बिरामीको चाप बढ्न थालिसक्यो ।अब बिस्तारै बढ्दै जान्छन्,’ उनले भने, ‘हामी त्यहीअनुसार तयारी गर्नुपर्छ ।’

यतिमात्रै होइन जिल्लाको एकमात्र ठूलो भेरी अस्पतालमा समेत बिरामीको चाप ह्वात्तै बढेको छ । बेमौसमको गर्मी चर्केपछि दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको बिरामी जिल्ला अस्पतालमा उपचारको लागि आइरहेको अस्पतालले जनाएको छ । अहिले दिनभरि अत्यधिक घाम हुने र राति पनि हावा नचली अत्यन्तै धेरै गर्मी हुन थालेकोले भाइरल ज्वरोको प्रकोप बढिदेखिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. श्याम विके बताउँछन् ।

भाइरल ज्वरोबाट बच्न गर्मीबाट जोगिनु पर्ने, पर्याप्त मात्रामा पानी खानुपर्ने, चर्को घाममा कतै जान नहुने र आराम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । अन्य समयको तुलनामा यो बेला अस्पतालमा बिमारीको चाप बढेको छ । गर्मीका कारण बच्चाहरुमा समेत एलर्जी र खटिराको प्रकोप देखा पर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार