बाँके ।
कोहलपुर नगरपालिका–१३ मा शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेड चप्परगौडी शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष डम्बर खड्काको प्रमुख आतिथ्यतामा साक्षरता कार्यक्रम सम्पन्न भयो । भरैयाका स्थानीयवासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको गरिमा विकास बैंक लिमिटेड चप्परगौडी शाखाका प्रमुख निलकण्ठ रेग्मीले जानकारी दिए ।
शाखा प्रमुख रेग्मीले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिएका थिए । ससानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने उनले बताए ।
उक्त अवसरमा बोल्दै वडाध्यक्ष खड्काले सामाजिक सुरक्षा भत्ता सहजरुपमा वितरण गर्नको लागि गरिमा बैंकसँग सम्झौता गरिने जानकारी दिए । ‘वृद्धवृद्धाहरु भत्ता लिन बिहानैदेखि बैंकमा लाइन लाग्नुपर्दैन,’ उनले भने, ‘सोको अन्त्यको लागि चप्परगौडीमा रहेको गरिमा विकास बैंकसँग सम्झौता गर्ने तयारी गरेका छौं । असारअघि यो काम हुन्छ ।’
घरमै सामाजिक सुरक्षा भत्ता दिने वातावरण बनाइने वडाध्यक्ष खड्काले दाबी गरे । कार्यक्रममा भरैयाका स्थानीय, समाजसेवी, कृषक, व्यापारी, नागरिक समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्