सहिद सेतु विककै गाउँको छैन लालपुर्जा



अधिकांश दलित समुदायको बसोबास रहेको सेतु विकको गाउँमा करिब ४० घरधुरी छन् । २०३५ सालदेखि स्थानीयहरुले भोगचलन गरिरहेको ऐलानी जमिन एकजना व्यक्तिले षड्यन्त्रपूर्वक आफ्नो नाममा गरेका थिए । ती व्यक्तिले लामो समय गाउँलेहरुलाई त्रसित बनाएर राखे । पटकपटक बस्ती उठाइदिने धम्की दिए ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ गाउँ जो सहिद सेतु विकको गाउँ हो । तर उनको घर भएको जमिन उनको परिवारको नाममा छैन । सेतु विकका गाउँलेहरु आफ्नो खुट्टा टेक्ने ठाउँको अनिश्चिततामा बाँचिरहेका छन् ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध नेपालमा २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको व्यापक सहभागितामा जनआन्दोलन–२ भएको थियो । उक्त शान्तिपूर्ण आन्दोलनका क्रममा देशभरि २० जनाले सहादत पाए ।

तीमध्ये एक थिइन् खजुराकी सेतु विक पनि । सरकारले सेतु विकको सम्मान खातिर भन्दै उनको गाउँ प्रवेशद्वार निर्माण गर्नुका साथै सडकलाई पनि सेतु मार्ग नाम दिएको छ । नेपालगन्जको एउटा चोकको नाम नै सेतु विक चोक राख्नुका साथै विकको शालिक पनि राखिएको छ ।

तर उनको गाउँवासीले नै अहिलेसम्म आफू बसेको जमिनको लालपुर्जा पाएका छैनन् । उक्त गाउँका स्थानीय लालबहादुर थापा भन्छन्, ‘सहिदको सम्मान गर्ने हो भने हाम्रो गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्छ ।

हाम्रो त जमिनको लालपुर्जा नपाएरै जिन्दगी जालाजस्तो छ ।’ रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका सेतुका श्रीमान् शेरबहादुर भन्छन्, ‘सेतुको गाउँ नै रहेन भने हाम्रो के अस्तित्व रह्यो र ? शालिक बनाएर मात्रै उसको सम्मान कसरी हुन्छ ?’

अधिकांश दलित समुदायको बसोबास रहेको सेतु विकको गाउँमा करिब ४० घरधुरी छन् । २०३५ सालदेखि स्थानीयहरुले भोगचलन गरिरहेको ऐलानी जमिन एकजना व्यक्तिले षड्यन्त्रपूर्वक आफ्नो नाममा गरेका थिए । ती व्यक्तिले लामो समय गाउँलेहरुलाई त्रसित बनाएर राखे । पटकपटक बस्ती उठाइदिने धम्की दिए । डोजर लगाएर बस्ती हटाउने प्रयास गरियो ।

डम्मर विक (तुफान) जो त्यतिबेला आन्दोलनको नेतृत्वकर्ता थिए उनी अहिले खजुरा गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् । तुफानका अनुसार अहिले व्यक्तिका नामको जग्गा सरकारको नाममा आइसकेको बताए । उनले भने, ‘हामीले लामोसंघर्ष गरेर उक्त जग्गा सरकारको नाममा ल्याउन सफल भएका छौं ।

अब सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले प्रक्रिया पूरा गरेर स्थानीयहरुलाई जग्गा उपलब्ध गराउँछ ।’ अध्यक्ष तुफानले आफ्नो कार्यकालमा स्थानीयहरुलाई लालपुर्जा दिलाउने बताएका छन् । यद्धपि यस्तो आश्वासन स्थानीयहरुले सुन्दै आएको वर्षाै भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार