
शोकमा रहेको सुन्दर हरिजन परिवार ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
कारागारमा एउटा व्यक्तिको सजाय अर्काे व्यक्तिबाट भुक्तान गरिएको र षड्यन्त्रपूर्वक ज्यान लिइएको भन्दै कर्तव्य ज्यान मुद्दामा बाँके प्रहरीमा जाहेरी दिइएको छ । तर प्रहरीले उक्त जाहेरी दर्ता गरेको छैन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको र षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै सुन्दरका दाई सुनिल चमार (हरिजन)ले किटानी जाहेरी दिएका हुन् ।
सुन्दर २०७९ जेठ ४ गते रोल्पा जिल्ला कारागारको शौचालयमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । तर कारागारले विजयविक्रमले आत्महत्या गरेको भन्दै परिवारलाई खबर गरेको थियो । त्यसपछि नै सुन्दरलाई विजयविक्रम नामका व्यक्तिको सजायमा कैदमा राखिएको खुल्न आएको हो ।
सुन्दरलाई औषधि उपचार गराइएको भनेर प्रहरीले परिवारलाई बुझाएका रसिदमा पनि विजयविक्रमको नाम उल्लेख छ । सामान्य खर्चसमेत पु¥याउन नसक्ने सुन्दर भनेर प्रहरीले महँगा कपडा र अन्य सामानहरु प्रहरीलाई बुझाएको छ ।
यो थाहा पाएपछि सुन्दरको हत्या गरिएको भन्दै दिइएको जाहेरीमा जिल्ला कारागार कार्यालय रोल्पा, जिल्ला कारागार कार्यालय रोल्पाका तत्कालीन कार्यालय प्रमुख कमला घिमिरे, जिल्ला कारागार कार्यालय बाँके, जिल्ला कारागार कार्यालय बाँकेका तत्कालीन प्रमुख देवेन्द्र श्रेष्ठ र सुन्दरको नाम लिएर जेल बाहिर पुगेका विजयविक्रमलाई विपक्षी बनाइएको छ । उनीहरुलाई ज्यानसम्बन्धी महलअन्तर्गत हदैसम्मको सजाय गरी उचित क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ ।
तर बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपाने घटनास्थल रोल्पा भएको र अहिले छानबिन समिति पनि फिल्डमा रहेर अनुसन्धान गरिरहेकोले बाँकेमा जाहेरी दर्ता उपयुक्त नदेखिएको भन्दै परिवारलाई सम्झाइबुझाई पठाइएको बताउँछन् ।
उनी परिवारलाई छानबिन समितिको प्रतिवेदन कुर्न आग्रह गरिएको बताउँछन् । जाहेरीकर्ता सुनिलले प्रहरीले भनेको पत्याउने कि नपत्याउने भन्ने विषयमा अलमलमा परेको बताए । ‘प्रहरीले पनि त्यही भन्छ । मानवअधिकारमा गएका थियौं, त्यहाँ पनि छानबिनले के भन्छ कुर्नुहोस् भने । अब के गर्ने भन्ने नै थाहा भएन,’ उनले भने ।
अधिवक्ता युगबहादुर गुरुङ प्रहरीले रीतपूर्वका आएको जाहेरी दर्ता गर्दिन भन्न नपाउने बताउँछन् । घटना जहाँ भए पनि त्यसको परिणाम कहाँ देखियो त्यहाँ पनि मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको उनले बताए । उक्त घटना बाँकेसँगै जोडिएकोले पनि यहाँ मुद्दा दर्ता गर्दिन भन्न नपाउने उनको भनाइ छ । यदी मुद्दा दर्ता नभएमा अदालतमा जाने विकल्पमा सोच्नुपर्ने उनले बताए । सुन्दर २०७६ भदौ १९ गते चोरी गरेको आरोपमा पक्राउ परेका सुन्दरलाई २०७६ माघ २१ गते एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको थियो ।
फैसलाअनुसार जरिवाना बुझाएमा सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुनुपर्ने थियो । तर सुन्दर २०७९ जेठ ४ गते रोल्पा जिल्ला कारागारको शौचालयमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि प्रहरीले विजयविक्रमले आत्महत्या गरेको भन्दै परिवारलाई खबर गरेको थियो ।
यस विषयमा छानबिन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानबिन समिति बनाएको छ । संयोजक चापागाईंसहितको टोली अहिले रोल्पामा पुगेर छानबिन गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्