डुडुवाका अध्यक्ष चौधरीद्वारा सपथग्रहण



डुडुवा ।

स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथग्रहण गराइएको छ । शक्रबार एक समारोहका बीच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सपथग्रहण गरेका हुन् ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराए । सपथ लिएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई सपथ गराउने छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । उक्त ऐनको दफा १०९(२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

त्यस अवसरमा खजुरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराएका थिए । सपथ खाँदै विकले गाउँपालिकाको विकासमा ध्यान केन्द्रित हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार