मेयर रावतको उद्घाटन मोहः आधा काम सम्पन्न नहुँदै कोहलपुर बसपार्क उद्घाटन



कोहलपुर ।

कोहलपुरमा निर्माण कार्य सम्पन्न नहुँदै लामो दुरीको बसपार्कको टर्मिनल भवन उद्घाटन गरिएको छ । कोहलपुर–११ स्थित डुडुवा नाला नजिकै निर्माणाधीन लामो दुरीको बसपार्कको भवन मंगलबार उद्घाटन गरिएको हो ।

मंगलबार बिहान नगरपालिकाद्वारा आयोजित कार्यक्रमका बीच नगर प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन् । उक्त बसपार्क निर्माण सम्पन्न भइसकेको छैन । निर्माण सम्पन्न हुन अझै करिब आठ महिना बाँकी छ ।

तर नगर प्रमुखको कार्यकाल सकिनै लाग्दा भवनको उद्घाटन गरिएको हो । अहिले कोहलपुरमा नयाँ जनप्रतिनिधि छनोटको लागि मतगणना भइरहेको छ । उक्त अवसरमा बोल्दै नगर प्रमुख रावतले पाँच वर्षको अवधिमा कोहलपुरमा दर्जनांै गौरवका आयोजना निर्माण कार्य सम्पन्न गरेको बताए । उनका अनुसार नगरपालिकाले निर्माण गरेको सबैभन्दा ठूलो तथा गौरवको आयोजना निर्माणको अन्तिम चरणमा छ ।

‘पाँच वर्षमा हेर्न र घुम्न लायक ठाउँ बनाएका छौं,’ उनले भने । यस्तै उनले नगरपालिकाले आफैँ निर्माण गरेको बसपार्क राष्ट्रिय गौरवको आयोजना भएको समेत दाबी गरे । ‘पत्रकार साथीहरु निर्माण भइरहेको भवन किन उद्घाटन भयो भन्नुहोला । हाम्रो अवधि अब सकिएको छ । यो निर्माणाधीन अवस्थामा रहे पनि सम्पन्न हुने चरणमा भएकाले उद्घाटन गरिएको हो,’ उनले प्रष्ट्याए ।

No description available.

बसपार्कको टर्मिनल भवन निर्माण भइरहेको भवनमा बैंक राख्न मिल्ने उनले बताए । यस्तै प्रहरी चौकी, स्वास्थ्य चौकी र वडा नम्बर ११ को वडा कार्यालयसमेत निर्माण गरिएको छ । उक्त अवसरमा वडा कार्यालयसमेत उद्घाटन गरियो । प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सिंगो बसपार्क नभइ टर्मिनल भवन मात्रै उद्घाटन गरिएको जानकारी दिए ।

बसपार्क निर्माणको लागि नगरपालिकाले नगर विकास कोषसँग २७ करोड ९९ लाख १८ हजार रुपैयाँ ऋण सम्झौता गरिएको छ । बसपार्क निर्माणको लागि ६० प्रतिशत नगर विकास कोषको ऋण र ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षको लागि कोषसँग ऋण सम्झौता गरिएको थियो ।

कोहलपुर–११ चौराहा नजिकै लामो दुरीको बसपार्क बनाउन नगरपालिकाले २५ वर्षको लागि जग्गा कोहलपुर नगर विकाससँग लिज सम्झौता गरिसकेको छ । बसपार्क निर्माणको लागि ४६ करोड ६५ लाख तीन सय रुपैयाँ लाग्ने स्टमेट नगरपालिकाले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार