दाङका १० मध्ये ८ स्थानीय तहको नतिजा आयो, कहाँ को विजयी?



दाङ ।

जिल्लाका १० स्थानीय तहमध्ये ८ वटाको नतिजा आइसकेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

२ वटा उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकाको नतिजा आएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बुधबार बिहान लमही नगरपालिका र गढवा गाउँपालिकाको नतिजा आएको हो। जसमा लमही नगरपालिकाको मेयरमा कांग्रेसबाट जोगरामा चौधरी ९३१७ मत प्राप्त गरी विजयी भएका छन्, भने उपमेयरमा कांग्रेस कै लक्ष्मी योगी ८७३७ विजयी भएकी हुन्।

लमहीमा २०७४ सालको निर्वाचनमा मेयरमा एमालेका कुल बहादुर केसी र उपमेयरमा कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएका थिए।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यम नारायण शर्मा पोख्रेल ६९०९ मत ल्याएर विजयी भएका छन्। गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी शारदा कुमारी चौधरी ५८८१ मत प्राप्त गरी विजयी भएकी हुन्।

गढवामा २०७४ सालमा एमाले निर्वाचित भएको थियो। ८ वटा वडाहरू मध्य ४ वटा माओवादी, २ नेपाली कांग्रेस र २ एमालेले जितेका छन्। यस्तै, बंगलाचुलीमा माओवादी केन्द्रका उम्मेदवार तुलसीराम पुन अध्यक्षमा ५७४१ र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर जिसी ५९४५ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै, राजपुर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी ३९८० र उपाध्यक्षमा नेपाली कांग्रेसकी धनपति देवी यादव ३८३६ मत ल्याएर विजयी भएका हुन्। २०७४ सालमा पनि नेपाली कांग्रेस नै यो गाउँपालिकामा विजयी भएको थियो।

यसैगरी, दंशगीशरण गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शम्भु गिरी ५४६७ र उपाध्यक्षमा नेपाली कांग्रेसकी पिमा कुमारी वली ५४७९ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै, बबई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कुल बहादुर खत्री क्षत्री ६६१५ र उपाध्यक्षमा बम कुमारी खड्का ६४०० मत प्राप्त गरी विजयी भएका छन्। यस गाउँपालिकामा २०७४ सालमा नेकपा एमाले विजयी भएको थियो।

यस्तै, शान्तिनगर गाउँपालिका अध्यक्षमा प्रमोद बस्नेत ५७१६ र उपाध्यक्षमा प्रेमा कुमारी बुढाथोकी ५७५० मत ल्याएर विजयी भएका छन्। यस्तै, लुम्बिनी प्रदेशको राजधानी भएको राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट ६८९८ उपाध्यक्षमा नेकपा एमालेकी कमलापति चौधरी ६६७४ ० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका २ उपमहानगरमा अहिले मत गणना जारी रहेको छ, भने घोराहीमा गठबन्धनलाई पछि पार्दै निवर्तमान मेयर नरुलाल चौधरीले अग्रता कायम गरेका छन्, भने तुलसीपुरमा मंगलबार रातिदेखि शुरु भएको मत गणनामा अहिलेसम्म ३ वटा वडाहरूका मत गणना जारी भइरहँदा गठबन्धनका मेयर गेहेन्द्र गिरीको अग्रता रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार