ट्रक र ई–रिक्सा ठोक्किदा बर्दियामा एकको मृत्यु



बर्दिया ।

बर्दियाको ठाकुरबाबामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– वडा नम्बर २ मा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गुडिरहेका रा१क १८३ ननम्बरको ट्रक र भे१स ९५६२ नम्बरको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक एकापसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धिताल घाइते हुनुभएको थियो ।

ईलाका प्रहरी कार्यालय बगनाह, भुरिगाउँबाट खटिएको प्रहरी टोलीले घाइते धितालको उद्धार गरेर ठाकुरबाबा पोलिक्लिनिक भुरिगाउँमा उपचारको लागि लगेको थियो ।

घाइते धितालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ई–रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २१ गते बुधबार