पूर्वउपप्रमुख सञ्जुले भनिन्ः समग्र सम्बृद्धि र विकासका लागि आचार्य र सुवेदीलाई जिताउनुपर्छ



कोहलपुर ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगीता सुवेदीलाई उम्मेदवार बनाएको छ । उम्मेदवारहरु घरघरमा पुगेर मतदातामाझ आफ्नो एजेण्डा राख्ने, जनताको समस्या सुन्ने र आफ्नो पक्षमा मत माग्ने काममा व्यस्त छन् ।

काँग्रेसले कोहलपुरमा युवा पुस्तामा लोकप्रिय, मिसन र भिजन भएका उम्मेदवार अघि सारेको छ । नेपाली काँग्रेस बाँकेकी सचिव सन्जु थारुले कोहलपुर नगरपालिकाको समग्र सम्बृद्धि र विकासका लागि काँग्रेसले युवा उम्मेदवारलाई अघि सारेको बताइन् ।

कोहलपुर नगरपालिकाकी पूर्वउपप्रमुख समेत रहेकी थारुले पाँच वर्षको अवधिमा थारु समुदायको उत्थान र विकासका लागि आफुले सारेका एजेण्डाहरुलाई पूरा गराउन पनि आचार्य र सुवेदीलाई जिताउनुको विकल्प नभएको बताउँछिन् ।

कोहलपुरमा थारु समुदायको बाग्लो बसोबास रहेको छ । थारु समुदायलाई मात्रै हुने बंशानुगत रोग सिकलसेलको पहिचान, उपचार र रोकथामका सवालमा सन्जु उपप्रमुख हुँदा नेतृत्वदायी भूमिका खेलिन् ।

उनकै पहलमा कोहलपुरका सिकेलसेलबाट पीडित थारु समुदायले उपचार पाइरहेका छन् । यसलाई अझै व्यवस्थित र प्रभावकारी गराउन आवश्यक छ । त्यसकालागि काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवार रहेका आचार्य र उपप्रमुखमा उम्मेदवार बनेकी सुवेदीलाई जिताउन सञ्जुको आग्रह छ ।

‘विकास कस्ले गर्छ भन्ने ठूलो कुरा हो’, उनले भनिन्, ‘भोली काँग्रेसबाट जितेर जाने उम्मेदवारलाई थारु समुदायका लागि मैले अघि सारेका अधुरा योजनाहरुलाई पूर्णता दिन अहम भूमिका खेल्ने मात्र होइन पूरा गराउने प्रतिबद्धता पनि व्यक्त गर्छु ।’

सञ्जुकै पहलमा थारु समुदायमा परम्परागतरुपमा चल्दै आएको लोकतान्त्रिक बडघर प्रथालाई कानुनी मान्यता दिन पहल भइसकेको छ । ऐन बनाएर त्यसको कार्यान्वयनको प्रक्रियामा छ । थारु समुदायको सीप र कला संस्कृतिलाई संरक्षण गर्दै त्यसलाई आर्थिक आयआर्जन र रोजगार सँग जोड्ने योजना सञ्जु थारुकै पहलमा अघि बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार