दिनभरि चुनाव प्रसार, साँझतिर मापसेको फन्दामा



जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चैत महिनामा कुल ५३ जना मापसे कारबाहीमा परेको तथ्यांक छ । तर, बाँकेमा वैशाख ५ गतेदेखि १४ गते साँझसम्मको तथ्यांक हेर्दा मापसे कारबाहीमा पर्नेको संख्या एक्कासी बढेर दुई सय ६७ जना पुगेको छ ।

कोहलपुर ।

वैशाख ५ गतेदेखि १४ गतेसम्मको तथ्यांक हेर्दा मादक पदार्थ सेवन (मापसे) चेकिङमा दुई सय ६७ जना कारबाहीमा परे । यीमध्ये अधिकांश दिनभरि राजनीतिक दलको चुनावी प्रचारप्रसारमा गएका हुन् ।

मिसन टुडे दैनिकलाई प्राप्त तथ्यांकानुसार चुनावी गतिविधि बढ्दै जाँदा मापसेकर्ताहरुको संख्या पनि बढ्दै छ । उनीहरुले साँझको समयमा मापसे गरेरै सवारी साधन चलाउने गरेका छन् । जसले गर्दा सडक दुर्घटना बढ्न सक्ने जोखिम बढाएको छ ।

एक प्रहरी अधिकृतका अनुसार मादक पदार्थ सेवन गरेकाहरुले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेकाले जिल्लामा चेकिङसमेत बढाइएको छ । ‘चुनावी माहोल छ । दिनभरि चुनावमा परिचालन भएकाहरु साँझ मापसे सेवन गरेर घर फर्किंदा चेकिङमा पर्ने गरेका छन्,’ ति प्रहरी अधिकृतले भने, ‘त्यसलाई कम गर्न मापसे चेकिङ बढाएका छौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकानुसार साउनमा जम्मा ३ तीनजना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका व्यक्ति कारबाहीमा परेका थिए । साउनदेखि फागुन महिनासम्म आइपुग्दा मापसे कारबाहीमा पर्नेको संख्या ५१ जना पुग्यो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चैत महिनामा कुल ५३ जना मापसे कारबाहीमा परेको तथ्यांक छ ।

तर, बाँकेमा वैशाख ५ गतेदेखि १४ गते साँझसम्मको तथ्यांक हेर्दा मापसे कारबाहीमा पर्नेको संख्या एक्कासी बढेर दुई सय ६७ जना पुगेको छ । साउनदेखि वैशाख १४ गते साँझसम्मको कारबाही संख्या जोड्दा कूल तीन सय ८० पुग्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीले त झन एकैदिन जिल्लाभरि एक सय पाँचजनासम्म पनि मापसे कारबाहीमा परेको बताउँछ । वैशाख १४ गते साँझ मात्रै ४५ जना मापसे कारबाहीमा परेका थिए ।

दैनिक मापसे कारबाहीको संख्या बढेसँगै मापसे चेक गर्ने मेसिनको संख्या पनि बढाइएको छ । जिल्लाका विभिन्न १२ स्थानमा ट्राफिक प्रहरी पोष्ट छन् । जिल्लाभरि आठवटा मेसिन छन् । नेपालगन्जको मुख्य बजार क्षेत्र राँझा चोक, फुल्टेक्रा, कोहलपुरको मुख्य बजार क्षेत्र, हाईस्कुल र पिपरी चोक क्षेत्रमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै आएको छ ।

No description available.

यस्तै राप्तीसोनारीको शमशेरगन्ज, कुसुम तथा बैजनाथ क्षेत्रमा चिसापानी, सम्झना बजार, चाँदनी चोक क्षेत्रमा मापसे जाँच हुने गरेको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी स्रोत भन्छ, ‘पछिल्लो डेढ सातायता जिल्लाका विभिन्न क्षेत्रमा विभिन्न पार्टीका झण्डा बोकेका युवाहरु प्रायः मापसेमा पर्ने गरेका छन् ।

पछिल्लो समय देशभरि झै बाँकेमा पनि स्थानीय तह निर्वाचनको रौचक निकै तात्तिएको छ । पार्टीहरु आफ्नो पक्षमा मतदानको अपील गर्दै बिहानैदेखि साँझ रातिसम्म चुनाव प्रसारमा जान्छन् । रातिको समयमा विशेष गरी भित्री गाउँ क्षेत्रबाट दलका कार्यकर्ता दलबलसहित पार्टीका झण्डा हल्याउँदै आइरहेका हुन्छन् ।’

कोहलपुर क्षेत्रमा मापसे चेकिङको नेतृत्व गर्ने एक प्रहरी अधिकारी भन्छन्, ‘हामी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मापसे जाँच गर्छौं । मदिराका कारण दुर्घटना हुन थालेपछि मापसे चेकिङमा कडाइ गरिएको छ । वैशाख महिना सुरु भएयता झण्डावालहरु मापसेको फन्दामा पर्ने गरेका छन् ।’ वैशाख ५ गतेयताको मापसे कारबाहीमा पर्नेहरुको संख्याले यो कुरालाई बल पु¥याउँछ ।

बहुसंख्यक कारबाही पर्ने क्षेत्र नेपालगन्जदेखि कोहलपुरसम्म र बैजनाथ तथा राप्तीसोनारी क्षेत्र रहेको ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाका अन्य क्षेत्रको अवस्था यस्तै छ । जबकी बाँकेमा विगत तीन आर्थिकको वर्षको मापसे कारबाहीको आंकडा हेर्दा एक आर्थिक वर्षभन्दा १० दिनको कारबाही संख्या झन्डै दोब्बरले बढी छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको वार्षिक तथ्यांकानुसार आर्थिक वर्ष २०७५/०७६ मा कारबाही संख्या जम्मा एक सय सातजना मात्रै थियो । विगत १० दिनको तथ्यांक र उक्त वर्षको वार्षिक तथ्यांक घटाउँदा एक सय ६० जनाले बढी हुन आउँछ । त्यस्तै २०७६/०७७ मा एक सय ४० जना कारबाहीमा परेका थिए २०७७/०७८ को संख्या जम्मा ७२ लाई कारबाही गरिएको थियो ।

स्थानीयहरुले भने राजनीतिक दलहरुले मदिरा सेवनमा रोक लगाउनु पर्ने बताएका छन् । केही बेरोजगार व्यक्ति दिनभरि मदिरा सेवनकै लागि राजनीतिक दलको प्रचारप्रसारमा जाने गरेको भन्दै नागरिकहरुले मापसे प्रयोगमा दलहरुले रोक लगाउनु पर्ने बताउँछन् ।

कारबाहीको संख्या बढ्दो छ
हिमालय शाह
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय

मादक पदार्थ सेवनको कारबाहीमा पर्नेमा मिश्रित छन् । सर्वसाधारण, युवादेखि कर्मचारीसम्म मापसे कारबाहीमा पर्ने गरेका छन् । पछिल्लो समय स्थानीय तह निर्वाचन नजिकिँदै आएकाले स्वाभाविकरुपमा त्यसको चाप बढेको छ ।

यसरी हेर्दा कार्यकर्ताहरुको संख्या पनि यसमा जोडिन्छ । अहिले धेरै गतिविधि बढिरहेको छ । मापसे चेक नगरौं दुर्घटनाको जोखिम हुन्छ । गरौं दलहरुबाट प्रेसर आउँछ । यसलाई मिलाइएको छ । झेलिएको छ । योबेलामा अलि बढिनै गतिविधि हुने भएको देखिएको छ ।

हामीले प्रभावकारी व्यवस्थापन गरिरहेका छौं । नगरौं भने भोलि दुर्घटना भएर मान्छेको ज्यानै गयो भने अर्को तनाव आइलाग्छ । यो हाम्रो दुःख दिने मनसाय होइन । मानवीय कार्य र हाम्रो कर्तव्य पनि हो । चुनावको बेलामा नराम्रो घटना नघट्ला भन्न सकिँदैन । त्यसैले म सम्पूर्ण राजनीतिक दललाई समेत हुन अनुरोध गर्न चाहन्छुँ ।

राजस्व संकलनमा वृद्धि

मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएमा प्रतिव्यक्ति एक हजार जरिवना तिर्नुपर्छ । पछिल्लो समय मापसे कारबाहीको संख्या ह्वात्तै बढ्दा राजस्व संकलनमा पनि वृद्धि भएको छ ।

वैशाख ५ गतेयता दुई लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत साउनदेखि वैशाख १४ गतेसम्म तीन लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्रापिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहले बताए । उनका अनुसार २०७५/०७६ मा एक लाख सात हजार २०७६/०७७ मा एक लाख ४० हजार र २०७७/०७८ मा ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गल्ती गर्नेको बचाउ गर्दैनौं
सुधांशु कोइराला
सचिव, नेपाली कांग्रेस बाँके

हामी जहिले पनि निर्वाचनलाई मर्यादित बनाउनुपर्ने पक्षमा किटबद्ध छौं । निर्वाचन आयोगले जारी गरको आचारसंहिता अक्षरशः पालना गर्न हामी तयार छौं र त्यसमा हाम्रो प्रतिबद्धता नै छ । हिजो मात्रै पनि हामीले एउटा कार्यक्रममा यस विषयमा प्रतिबद्धता जनाएका छौं । बालबालिकाको प्रयोग र प्रचार सामग्रीमा तडकभडक नदेखाउने विषयमा हामीले सबै तहलाई निर्देशन दिएका छौं । उक्त निर्देशनको पालना पनि भइरहेको छ ।

जहाँसम्म तपाईंले भन्नुभएको मादक पदार्थ सेवनको कुरा छ । यस विषयमा हामीलाई कुनै पनि निकायबाट यसो भएको भन्ने जानकारी आएको छैन । तथापि हामी कुनै पनि नियम उल्लंघन गर्ने कुराको समर्थन गर्दैनौं । त्यस्तो गर्ने व्यक्तिहरुलाई हामीले बचाउ पनि गर्दैनौं । त्यस किसिमको गल्ती गर्नेलाई कानुनबमोजिम सजाय पनि होओस् ।

यस विषयमा हामी हाम्रो पार्टीको सबै तहमा निर्देशन पनि दिन्छौं । राति ८ बजेपछि कुनै पनि प्रचारप्रसारका गतिविधि हामी गर्दैनौं । हामी निर्वाचन आयोगलाई निर्वाचन शान्तिपूर्ण र सभ्य बनाउन सघाउन तयार छौं ।

मापसे गरेको भेटिए कारबाही हुन्छ

सूर्य ढकाल
इञ्चार्ज, नेकपा एमाले बाँके

निर्वाचनको सन्दर्भमा हाम्रा कार्यकर्ताहरु चुनाव चिन्हसहित मैदानमा होमिएका छन् । जिल्लाभरि कुनै पनि नेता कार्यकर्ताले चुनाव प्रचारका दौरान धुम्रपान वा मध्यपान नगर्न गराउन निर्देशन दिइसकेका छौं ।

यदि हाम्रो चुनाव चिन्हसहित कोही पनि कार्यकर्ता भेटिन्छ भने हामी त्यसलाई तुरुन्त कारबाही गर्छौं । मलाई लाग्छ हाम्रा कार्यकर्ता त्यसरी चुनावी मैदानमा गएका छैनन् । कही कतै भेटियो, देखियो भने तुरुन्त कारबाही हुन्छ । कार्यकर्ता संरक्षण गर्ने काम हामीबाट हुँदैन ।

मापसे गर्नु अराजनीतिक

डम्बरबहादुर विक (तुफान)
संयोजक, नेकपा माओवादी केन्द्र

निर्वाचन भनेको आफूले रुचाएका कुशल जनप्रतिनिधि निर्वाचित गर्ने अवसर हो ।

विभिन्न प्रभावमा पारेर मादक पदार्थ सेवन गर्ने गराउने कुरा छ, यो निर्वाचनको नराम्रो पक्ष हो । अर्कातिर मासु भात छुवाएर, प्रभावमा पारेर भोट लिने यस्ता गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । त्यो प्रवृत्तिले सही जनप्रतिनिधि छान्न अवरोध गरिरहेको छ । त्यसैले यस्तो कुरा कसैले गर्न हुँदैन ।

आफ्नो विचार र नीतिअनुसार अघि बढेर जनताको मन जित्नुपर्छ । विभिन्न प्रलोभन देखाउने, पैसा लिएर रक्सी खुवाएर चुनाव जित्न खोज्नु राजनीतिक कार्य होइन । हामी विचार लिएर चुनावी मैदानमा छौं । माओवादी कार्यकर्ता यस्ता कुरामा विश्वास गर्दैनन् । हामी सरलरुपमा जनताका माझ गएका छौं ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार