शुभाकर विश्वकर्मा । वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेमा सोमबार ठूला दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा झाँकीसहित पुगेर मुख्य दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही दलले आइतबार मनोनयन दर्ता गराएका थिए ।
यसैगरी नेपालगन्जको मेयरमा नेपाली सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट र नेकपा एमालेका तर्फबाट पशुपति दयाल मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराए । नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट जसपाका कमरुद्दीन राई र नेकपा एमालेका तर्फबाट शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि मेयरमा उम्मेदवारी दिएका विष्टले नेपालगन्जको समानुपातिक विकासका लागि आफूले काम गर्ने योजना बनाएको बताए । उनले नेपालगन्जको पछाडि परेका क्षेत्रबाट विकासको सुरुवात गर्ने बताए । विष्टले गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका राई र आफू दुवैजनाको योजना मेल खाएको र त्यसलाई साकार पार्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।
यता एमालेका तर्फबाट मेयरमा उम्मेदवार पशुपतिदाल मिश्रले पनि नेपालगन्जको विकासका लागि आफूसँग पर्याप्त र प्रष्ट योजना रहेको र त्यसको कार्यान्वयन पनि आफूले सजिलै गर्नसक्ने बताए । उनले नेपालगन्जको शिक्षा क्षेत्रको विकास आफ्नो उच्च प्राथमिकतामा रहेको पनि बताए । मुख्य दलहरुको गठबन्धन भएको सन्दर्भमा मिश्रले अरु दलहरुले पार्टीबीच गठबन्धन गरेको तर आफूले जनतासँग गठबन्धन गर्ने टिप्पणी गरे ।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जसपा बाँकेका अध्यक्षसमेत रहेका राईले बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा आफूहरु दुवैजनाले उत्कृष्ट काम गरेर देखाउने दाबी गरे ।
उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेर दोखाउने बताए । यसैगरी खजुरा गाउँपालिकामा एमालेका तर्फबाट सुमन मल्लले उम्मेदवारी दिएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्मर विक (तुफान) ले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट खजुरामा उपाध्यक्षमा नजिरा बेगमको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट खजुराको उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्लको उम्मेदवारी परेको छ ।
डुडवा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा नरेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा शाहिदा वानोले उम्मेदवारी दर्ता गराएकी छन् । यता एमालेका तर्फबाट डुडुवाको अध्यक्षमा सरोजकुमारी यादव र उपाध्यक्षमा शकिल खानको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमालेका तर्फबाटै नरैनापुर गाउँपालिकाको अध्यक्षमा पद्मावती यादव र उपाध्यक्षमा रामकुमार दीक्षित र जानकी गाउँपालिका अध्यक्षमा हिमान्सु यादव र उपाध्यक्षमा भूमिसरा धितालको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसले जानकी गाउँपालिकामा अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव एवम् नरैनापुरको अध्यक्षमा रामचन्द्र मौर्य चौधरी र उपाध्यक्षमा अतिकुन निशाको उम्मेदवारी दर्ता भएको छ ।
यता माओवादी केन्द्र र जसपाले जानकी गाउँपालिकामा समीकरण गरेका छन् । जसअनुसार जानकीको अध्यक्षमा जसपाका राजीव बर्मा र उपाध्यक्षमा माओवादीका रक्षाराम कुर्मीले उम्मेदवारी दिएका छन् । माओवादीका तर्फबाट डुडुवा गाउँपालिका अध्यक्षमा जगदीशबहादुर सिंह र उपाध्यक्षमा प्रेमा शाही एवम् नरैनापुर गाउँपालिकामा उपाध्यक्षमा सविना बेगमको उम्मेदवारी परेको छ । नरैनापुरमा माओवादीले अध्यक्षमा उम्मेदवारी दिएको छैन ।
कोहलपुरमा नेकपा एमालेबाट प्रमुखमा खिलप्रसाद भुसाल, उपप्रमुखमा अस्मिता थारुसहित १५ वटै वडामा अध्यक्षसहित सदस्यहरुको उम्मेदवारी दर्ता गरिएको छ । नेपाली कांग्रेसबाट प्रमुखमा पूर्ण आचार्य र उपप्रमुखमा संगीता सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै १५ वडामा वडा अध्यक्षसहित सम्पूर्ण सदस्यमा उम्मेदवारी दर्ता गरिएको मेयरका उम्मेदवार पूर्ण आचार्यले जानकारी दिए । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । दुई दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने प्रमुख र उपप्रमुखमा नारायणी ओलीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
यस्तै वडामा नेकपा माओवादी केन्द्रले १३ वडाध्यक्ष र सदस्य तथा र नेकपा एकीकृत समाजवादीले वडा नम्बर ४ र ७ नम्बर वडाको अध्यक्षसहित सदस्यमा उम्मेदवारी दिएको छ । यस्तै राप्रपाको तर्फबाट प्रदीप शाहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कोहलपुर दुईजनाले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कोहलपुरको प्रमुखमा देवानन्द अर्यालले प्रमुखसहित वडामा उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट ६ वडा वडामा वडाध्यक्ष र दुईवटा वडामा सदस्यमा उम्मेदवारी परेको छ ।
यस्तै कोहलपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस कोहलपुरका निवर्तमान सभापति बलराम शर्माले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कोहलपुरमा जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जसपालगायतका दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तीर्थराज भट्टले बताए ।
राप्तीसोनारीमा कूल एक सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारीसहित पाँच दलले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
उनका उनका अनुसार गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसबाट तप्तबहादुर पौडेल, नेकपा एमालेबाट रामदास थारु, नेकपा माओवादी केन्द्रबाट पट्टु थारु, राप्रपाबाट भुपेन्द्रबहादुर ओली क्षेत्री र जनता समाजवादी पार्टीबाट प्रेमबहादुर डाँगी गरेर कूल पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्ष पदमा राप्रपाबाट शोभा डिसी, नेकपा एमालेबाट चमेलीकुमाल बागबल, राप्रपा नेपालबाट हिरालाल केसी, नेकपा माओवादी केन्द्रबाट मञ्जुकुमारी रोकाय, नेपाली कांग्रेसबाट मनिषा सिंह थारु र स्वतन्त्र चन्दा लामा गरेर ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्तीसोनारी गाउँपालिकामा मनोनयनको पहिलो दिन कूल १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यो तथ्यांक साँझा ८ः३४ बजेसम्मको हो । त्यसभन्दा पछि पनि उम्मेदवार दर्ता प्रक्रिया चलेको थियो ।
नेपालगन्जमा माओवादी नेताको स्वतन्त्र उम्मेदवारी
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनमा बस्न नसक्ने घोषणा गरेको नेकपा (माओवादी केन्द्र)का नेताहरुले मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपालगन्ज नगर कमिटीले टंक धामीलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा तारा रोकायाको उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय नेताहरुले गठबन्धनको बाँडफाँड गर्दा नेपालगन्जको मेयर र उपमेयर कुनै पनि पद माओवादीलाई नदिइएको भन्दै माओवादी केन्द्रको नगर कमिटीले गठबन्धन नमान्ने घोषणा गरेको थियो ।
यसका साथै वडा विभाजनमा पनि आफूलाई अन्याय गरिएको माओवादी केन्द्रको आरोप छ । स्वतन्त्र उम्मेदवारी दिए पनि वडामा कुरा मिलेमा भने माओवादी गठबन्धनमा फर्कने प्रबल सम्भावना अरु पार्टीका नेताहरु बताउँछन् । नेकपा माओवादी केन्द्रका बाँके जिल्ला इन्चार्ज डम्मर विक (तुफान) पनि अन्तमा केन्द्रको निर्णय नै लागू हुने बताउँछन् ।
दाजुभाई प्रतिस्पर्धीमा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एकै घरका दुई दाजुभाईले फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसबाट विनोद रिजाल र नेकपा एमालेका तर्फबाट हालका पनि वडाध्यक्ष रहेको प्रमोद रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु दुवैजना सहोदर दाजुभाई हुन् ।
आज सूची प्रकाशन
निर्वाचन तालिकानुसार आइतबार र सोमबार परेको उम्मेदवारहरुको मनोनयन दर्ताको गरेकाहरुको सुची प्रकाशन गर्ने कार्यतालिका छ । जिल्लाका सबै निर्वाचन अधिकृतका कार्यालयहरुले उक्त सूची प्रकाशन गर्ने छन् । वैशाख ३० गते मतदान हुने छ ।
कतै तालमेल, कतै बिमेल
लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल बन्यो । सोहीअनुसार सोमबार नेपाली कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दर्ता गराए । अन्य तीन दल भने यस गठबन्धनमा सहभागी भएनन् । विशेष गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले आफ्ना छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराए ।
यता कोहलपुर नगरपालिकामा माओवादी र एसबीच मात्र चुनावी तालमेल भयो । नेपाली कांग्रेसलगायतका दल छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा गए । यति मात्र होइन बाँकेमा आठवटा स्थानीय तहमध्ये पाँच दलीय गठबन्धन कुनै पालिकामा भएन । खजुरामा नेपाली कांग्रेस र माओवादी पार्टी मिलेर चुनावमा गए । यता राप्तीसोनारीमा माओवादी र एसबीच गठबन्धन भयो ।
जानकीमा माओवादी र जसपाबीच चुनावी तालमेल भयो । यहाँ अध्यक्षमा जसपा र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । बैजनाथ गाउँपालिकामा माओवादी र एसले चुनावी तालमेल गरेका छन् । तालमेलअनुसार बैजनाथमा अध्यक्ष पदमा माओवादी र उपाध्यक्षमा एसले उम्मेदवारी दिएका छन् ।
सत्ता साझेदार दलले केन्द्रमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन । दलहरुले आआफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुबीचमै चुनावी प्रतिस्पर्धा हुन थालेको छ ।
गठबन्धनबीच चुनावी तालमेल गर्न ठूलो कसरत भए पनि सफल हुन नसकेको नेपाली कांग्रेसको जिल्ला सभापति नारायणप्रसाद गौडेलले जनाए । ‘केन्द्रको निर्देशनअनुसार जिल्लामा धेरै प्रयास भए,’ उनले भने, ‘तर दलहरुबीच सहमति हुन नसक्दा अन्ततः मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भयो ।’
तर बाँकेमा सत्ता साझेदारबाहेक अन्य दलसँग भने चुनावी तालमेल भएको छैन । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने एक्लै चुनावी मैदानमा छन् ।
डोल्पाका तीन पालिकामा निर्विरोध
डोल्पाका तीन गाउँपालिकामा निर्विरोध नेतृत्व निर्वाचित भएको छ । काइके, छार्काताङ्सोङ र शेफोक्सुण्डो गाउँपालिकामा नेतृत्व निर्विरोध चयन भएको हो । एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचन भएको प्रतिनिधिसभा सदस्य तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङको मात्र उम्मेदवारी परेको थियो । डोल्पाबुद्ध गाउँपालिकामा उपाध्यक्ष निर्विरोध भएका छन् । उपाध्यक्षमा पेमा वाङ्जु गुरूङ निर्विरोध भएका बताइएको छ । उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका थिए ।
त्यस्तै शेफोक्सुण्डो गाउँपालिकामा धावासम्डुक लामा पनि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै यी गाउँपालिकाका उपाध्यक्ष, केहीका वडाध्यक्षका वडाध्यक्ष र वडा सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्