बहुआयमिक ‘अटेरी’ उम्मेदवार



शुभाकर विश्वकर्मा । कोहलपुर ।

व्यवसायी देवानन्द अर्याल व्यक्ति एक हुन् । तर, उनको व्यक्तित्व अनेक छ । मूलतः उनी पर्यटन व्यवसायी हुन् । उनी लामो कालखण्ड राजनीतिक, सामाजिक, पर्यटन र व्यवसायको क्षेत्रमा सक्रिय भए, छन् । तिनै अर्यालले गत माघ महिनामै कोहलपुरको मेयरको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । वैशाख ११ गते कोहलपुरको मेयरका लागि उम्मेदवारी दर्ता गरे ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कोहलपुरमा उम्मेदवारी घोषणा र मनोनयन दर्ता गर्ने पहिलो व्यक्ति हुन्, अर्याल । यसअघि नै उनले गत माघमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनी अहिले आफ्नो पक्षमा माहोल बनाउन घरदैलो अभियानमा छन् । उनले आफ्नो घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।

अर्यालले उम्मेदवारी घोषणा गर्दै भनेका थिए, ‘मेरो उम्मेदवारी कुनै पार्टी र कुनै व्यक्तिका विरुद्ध नभइ सचेत नेपाली नागरिकका हैसियतले हो ।’ कोहलपुरलाई पाँच वर्षभित्रै विकासमा कायापलट गर्न सकिने तर्क उनको छ । अर्याल अहिले पनि भन्छन्, ‘दलीय दलदल र अराजकताविरुद्ध मेरो उम्मेदवारी हो ।’

उनले यसपटकको निर्वाचनमा जबरजस्त उदय भइरहेको अटेरी समूहमार्फत कोहलपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अटेरी अभियानका रुपमा पोखरा महानगरमा गणेश पौडेल र काठमाडौं महानगरमा ¥यापर बालेन शाहले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । अहिले यो समूहमार्फत देशभर हजारौँजना जोडिएका छन् । राजनीति, सामाजिक क्षेत्र र व्यवसायमा सफल अर्यालको यो एक प्रकारको अटेरी नै हो । कोहलपुरमा आफूले पदका लागि नभइ सामाजिक सेवाका लागि स्वतन्त्ररुपमा चुनावमा लड्न लागेको उनको भनाइ छ ।

उनी मूलतः व्यवसायी हुन् । उनले फरकफरक व्यवसाय अंगाल्दै आएका छन् । लामो समय बैदेशिक रोजगारीका लागि विदेशमा बिताएका उनले स्वदेश फर्किएर २०६६ सालमा कोहलपुरमा पर्यटन व्यवसाय सुरु गरे । पाँचतारे होटेल सेन्ट्रल प्लाजाका संस्थापक हुन्, उनी । अहिले यो होटल अग्नि ग्रुपले किनेको छ । होटेल सेन्ट्रल प्लाजा नेपालको १३औँ र पश्चिम नेपालको पहिलो पाँचतारे होटेल हो ।

अहिले पनि कोहलपुरमा अर्यालले ‘व्यवस्थित आधुनिक बजार’ चलाइरहेका छन् । उक्त बजारको नाम ‘हाम्रो बजार’ हो । त्यस बजारभित्र ६५ वटा व्यवसाय एउटा भवनभित्र गर्न सकिन्छ । यसबाट उनले एकैपटक सयौँजनालाई रोजगारीको अवस्था सिर्जना गरेका छन् । उनको हाल बर्दियामा पनि जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालनमा छ ।

व्यवसायका साथै उनी लामो समय सामाजिक क्षेत्रमा समेत सक्रिय भए । कोहलपुर उद्योग वाणिज्य संघमा पहिलोपटक कार्यसमिति सदस्य रहेका उनी एक कार्यकाल कोषाध्यक्ष भएका थिए ।

एक वर्षअघि भएको निर्वाचनमा उनले महासचिवमा उम्मेदवारी दर्ता गरेका थिए, पछि उनले उम्मेदवारी नै फिर्ता लिए । राजनीतिकरुपमा प्रजातान्त्रिक विचार धारा बोकेको नेपाली कांग्रेससँग आबद्ध थिए । केही समययता विद्यमान दलीय राजनीतिका विकृत पक्षबारे सामाजिक सञ्जालमार्फत उजागर गर्दै आएका युवा उद्यमी अर्याल पार्टीबाट अलग भएर ‘अटेरी समूह’ सँग आबद्ध भइ चुनाव लड्न लागेका हुन् ।

यस्तै उनी समाजसेवासमेत गर्दै आएका छन् । विशेषगरी कोभिड–१९ को समयमा उनले राहत वितरण गर्नुका साथै भेरी अस्पताल बाँकेलाई चार र बर्दिया अस्पताललाई दुई थान ‘प्यासेन्ट मनिटर’ सहयोग गरेका थिए ।

यतिमात्र होइन उनले विभिन्न समयमा समाजमा दिनदुखी गरिबहरुलाई समेत आर्थिक सहयोग गर्दै आएका छन् । उनले स्वतन्त्ररुपमा मेयर नै किन रोजे त ? ‘प्रत्यक्ष आफ्नो ठाउँको विकासमा आफ्नो सोचअनुसार काम गर्न सकिने सम्भावना रहन्छ । अर्काे, सरकार फेरबदलले कुनै पनि असर नगरी पाँच वर्ष पूर्ण कार्यकाल आफ्नो योजना कार्यान्वयन गर्दै जनतासँग प्रत्यक्ष सहभागिता हुन सकिन्छ,’ उनी भन्छन् । अर्याल व्यवसाय गर्नुभन्दा पहिला २०५८ सालेदखि २०६५ सालसम्म दक्षिण कोरियामा आठ वर्ष बिताएका थिए । त्यो रोजगारीका लागि थियो । निर्वाचन लक्षित उनले आफ्नो घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।

उनले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षा क्षेत्रको विकासका लागि आफूले मेयर जितेमा त्यसबापत पाउने रकम पूर्णकालीन छात्रवृत्तिको लागि लगानी गर्ने योजना छ । १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका उनले विकासका लागि समाज र जनताको आवश्यकतामा आधारित हुनुपर्ने बताएका छन् ।

यस्तै उनले स्वास्थ्य क्षेत्रको विकासलाई आफूले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी खानेपानी तथा सरसफाई, कृषि, विद्युत्, सडक तथा ढल निकास, प्रविधि, सञ्चार तथा मनोरञ्जन, युवा तथा खेलकुद, यातायात, उद्योग तथा व्यापार व्यवसाय, पर्यटन, पूर्वाधार तथा विकास, स्थानीय कला र संस्कृतिलगायतका विषय उनले समेटेका छन् ।

को हुन् अर्याल ?

२०३४ पुस ४ गते चितवनको कैलाश नगरमा उनको जन्म भएको थियो । उनको बुवाको नाम डोलप्रसाद अर्याल र आमाको नाम तुल्सीदेवी अर्याल हो । उनी २०३९ सालदेखि बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका छन् । उनी हाल कोहलपुरका स्थायी बासिन्दा हुन् । उनको बाल्यकाल भने यतै बित्यो । अर्याल सानैदेखि सामाजिक सेवाको क्षेत्रमा सक्रिय थिए ।

बहुप्रतिभाका धनी उनी एक सिर्जनशिल, कामप्रति बफदार, बौद्धिक सफल व्यवसायी, उद्यमी हुन् । अटेरी समूहमार्फत कोहलपुरको मेयरका स्वतन्त्र उम्मेदवार अर्यालले २०५१ सालमा त्रिभुवन माविबाट एसएलसी पास गरेका थिए । २०५२ देखि २०५४ सम्म कोहलपुर मै आइकम् गरे । पछि चितवनको बालकुमारी क्याम्पसबाट बिबिएस अध्ययन पूरा गरे ।

२०५८ सालदेखि आठ वर्ष बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरियामा बसेका थिए । त्यहाँबाट फर्किएर २०६६ सालदेखि कोहलपुरमा उनले पर्यटन व्यवसाय गर्न थाले । हाल उनी जंगल सेन्टर प्लाजा रिर्सोट र हाम्रो बजारका मालिक हुन् । परिवारमा उनीसहित श्रीमती र बच्चा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार