स्थानीय तह निर्वाचन– २०७९ः उल्लासका साथ मनोनयन दर्ता सुरु



नेपालगन्ज ।

दोस्रो स्थानीय तहको निर्वाचनका लागि आइतबार पहिलो दिन दलहरुलाई उल्लासका साथ उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका सबै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज (सोमबार) ठूला दलहरुले उम्मेदवारी दर्ता गर्दै छन् । आसन्न स्थानीय निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा दुईजना र उपमेयरमा एकजनाको उम्मेदवारी परेको छ । राप्रपाबाट नन्दलाल वैश्य, जनमत पार्टीबाट प्रह्लाद यादव र नेकपा मालेका मेवालाल हलवाई गरी तीनजनाले मेयरमा उम्मेदवारी दिएका हुन् ।

राप्रपाका तर्फबाट नन्दलाल वैश्यले दलबलसहित जिल्ला शिक्षा समन्वय समितिको कार्यालयमा रहेको नेपालगन्ज उपमहानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उम्मेदवारी दर्ता गराए ।

राप्रपाबाट नेपालगन्जको उपमेयरमा बिन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गराएकी छिन् । नेपालगन्ज त्रिभुवन चोकबाट सुरु भएको राप्रपाका नेता कार्यकर्तासहितको ¥याली बागेश्वरी मन्दिर परिक्रमा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराइएको हो ।

उम्मेदवारी दर्ताका लागि नेपालगन्ज उपमहानगरपालिकाका वर्तमान मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, सहमहामन्त्री ऋषिराज देवकोटा, बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेललगायतका नेता कार्यकर्ताहरु पनि ¥यालीमा सहभागी भएका थिए ।

उम्मेदवारी दर्तापछि बोल्दै मेयरका उम्मेदवार नन्दलाल वैश्यले नेपालगन्जमा मेयर डा. राणाको नेतृत्वमा धेरै राम्रा विकासका कामहरु भएको र अब ती कामहरुलाई निरन्तरता दिन आफू चुनावमा होमिएको बताए ।

यसैगरी जनमत पार्टीबाट उम्मेदवार यादवले अहिलेका पार्टीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकोले आफ्नो उम्मेदवारी रहेको बताए । राप्रपाबाट उपमेयरकी उम्मेदवार चर्तीमगरले नेपालगन्जमा महिला तथा पिछडिएका वर्गको उत्थान र शिक्षामा सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।

आइतबार राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेकपा माक्र्सवादी पुष्पलाल, राप्रपा, नेकपा माले र विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गर्न आउने तालिका भए पनि जनमत र राप्रपाबाहेकका दलहरुले मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गराएनन् ।

सोमबार १० बजे राष्ट्रिय सद्भावना पार्टी, ११ बजे एमाले, १ बजे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, २ बजे माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी र साढे ३ बजे लोकतान्त्रिक समाजवादी पार्टीले उम्मेदवारी दर्ता गर्न आउने समय तालिका बनाइएको छ । आइतबार दर्ता गर्न छुटेकाहरुले पनि सोमबार उम्मेदवारी दर्ता गर्न पाउने छन् । नेपालगन्ज उपमहनगरपालिकामा सबैभन्दा पहिलो उम्मेदवारी स्वतन्त्रबाट परेको थियो । नेपालगन्ज वडा नम्बर ५ को वडाध्यक्षमा अब्दुल अजिज हलवाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

ब्याचलरमा कानुन पढ्दै गरेका हलवाईले साढे १२ बजे उम्मेदवारी दर्ता गराएका हुन् । उनले वडामा पाँच वर्षमा विकासभन्दा बढी बजेटको दुरुपयोग भएको र कुनै पनि पार्टीले राम्रो काम गर्ने नदेखेपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । उनले युवाहरूले काम भएन भन्दै हेरेर बस्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने महसुस गरी राजनीतिमा होमिएको बताए ।

यसैगरी राप्रपाले नेपालगन्जका २३ वटै वडामा उम्मेदवारी दर्ता गरेको जनाएको छ । वडा नम्बरर १ को वडाध्यक्षमा तारामान कुँवर, २ नम्बरमा मनोज श्रेष्ठ, ३ नम्बरमा अमन गुप्ता, ४ नम्बरमा इन्दिरा शाही, ५ नम्बरमा मञ्जु बादी, ६ नम्बरमा रविन थापा, ७ नम्बरमा हर्कबहादुर गुरुङ, ८ नम्बरमा रजनिस बाजपेयी, ९ नम्बरमा विक्रम खरेल, १० नम्बरमा श्रवण श्रेष्ठ, ११ नम्बरमा सलाउद्दीन जसगढ, १२ नम्बरमा धु्रवराज बर्मा, १३ नम्बरमा विपिन श्रीवास्तव, १४ नम्बरमा हरदेवबक्स चौधरी, १५ नम्बरमा साकिर अलि कवडिया, १६ नम्बरमा रोशन अलि जोलाह, १७ नम्बरमा धर्मराज यादव, १८ नम्बरमा भेषराज चौलागाई, १९ नम्बरमा धनराज कादु, २० नम्बरमा नवराज सापकोटा, २१ नम्बरमा रामफेरन कोरी, २२ नम्बरमा चेतबहादुर घर्ति र २३ नम्बरमा शोभाराम खटिकले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै कोलहपुर नगरपालिकामा राप्रपाले मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी दिएको छ । राप्रपाबाट मेयरमा प्रदीपकुमार शाह र सावित्री भुसालको उपमेयरमा उम्मेदवारी परेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । स्वतन्त्रबाट देवानन्द अर्यालले पनि मेयरमा उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोहलपुरको मेयरका लागि जनमुक्ति पार्टी मेयरबाट मेयर र उपमेयर, जनमत पार्टीले उपमेयरमा दिएका छन् ।

यता जानकी गाउँपालिकामा अध्यक्षमा एक र उपाध्यक्षमा एक जनासहित १८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये अध्यक्ष र उपाध्यक्षसहित १६ जना जनमत पार्टीका उम्मेदवार रहेका निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए । यसैगरी बैजनाथ गाउँपालिकामा अध्यक्षका लागि एकजना स्वतन्त्रसहित चारजनाको उम्मेदवारी परेको छ ।

बैजनाथमा आइतबार जम्मा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बैजनाथको अध्यक्षका लागि केकपा (माक्सवादी पुष्पलाल) बाट चन्द्रवीर कामी, राप्रपाबाट पारससिंह थारु, नेमकिपाबाट मोहलनलाल थापा र स्वतन्त्रबाट तेजविक्रम थापाको उम्मेदवारी परेको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । बैजनाथको उपाध्यक्षमा नेमकिपाबाट निर्मला विसी एकजनाको मात्रै उम्मेदवारी परेको उनले बताए ।

नरैनापुर गाउँपालिकाको अध्यक्षमा एकजना स्वतन्त्र र एकजना जसपाबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । नरैनापुरको अध्यक्षमा जसपाबाट हालमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्षमा हालकी गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको उम्मेदवारी दर्ता भएको छ ।

स्वतन्त्रबाट रिजवान अहमद शाहले पनि अध्यक्षमा उम्मेदवारी दिएका निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए । नरैनापुरमा आइतबार ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्तीसोनारी गाउँपालिकामा आइतबार १७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय अगैयामा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाका भुपेन्द्र ओलीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी राप्रपाले राप्तीसोनारी वडा नम्बर २ र ९ मा वडाध्यक्षदेखि लिएर वडा सदस्यसम्मका पाँचवटै पदमा उम्मेदवारी दिएको छ ।

यस्तै वडा नम्बर १ को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट मुकुन्दप्रसाद दाहालले मनोनयन दर्ता गराए । वडा नम्बर ७ को अध्यक्षदेखि सदस्यसम्मका पाँचवटै पदमा जनमत पार्टीले मनोनयन दर्ता गराएको हो । कार्यालयमा मनोनयन दर्ता गराउन अन्य राजनीतिक दलको उपस्थिति रहे पनि एउटै पदमा आकांक्षी धेरै देखिएपछि पार्टीले उम्मेदवारको टुंगो लगाउन नसक्दा कम उम्मेदवारी दर्ता भएको हो ।

डुडुवा गाउँपालिकामा जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डुडुवामा आइतबार उम्मेदवारी दर्ता गराउनेमा जनमत मात्रै एक्लो पार्टी हो । जनमतले अध्यक्ष र उपाध्यक्षसहित ५ वडामा उम्मेदवारी दर्ता गराएको छ ।

खजुरा गाउँपालिकामा जम्मा २८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये अध्यक्षमा एक स्वतन्त्रसहित चारजना, उपाध्यक्षमा राप्रपाबाट एकजनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा राप्रपाबाट धनसिंह राना, जनशक्तिबाट मदन थापा, जनमतबाट गंगाराम काँदु र स्वतन्त्रबाट लक्ष्मीनारायण मुराऊले उम्मेदवारी दिएका छन् । राप्रपाबाट तिलकुमारी हमालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार