पशुपतिदयालका महŒवाकांक्षी योजना



नेपालगन्ज ।

नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवार पशुपतिदयाल मिश्रले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बिहीबार नेपालगन्जमा एक कार्यक्रमका बीच मिश्रले ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना हुन्छ साकार, नेपालगन्जमा एमाले सरकार’ नारासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

मिश्रले सार्वजनिक गरेको १० पन्ने प्रतिबद्धतापत्रमा शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनेदेखि लिएर राप्ती नदीबाट लिफ्ट गरेर शुद्ध खानेपानी घरघरमा पु¥याइने उल्लेख छ ।

यसअघि सुरु भएर अलपत्र परेको रिङरोड निर्माणदेखि आकासेपुल र साइकल लेनसम्मका प्रतिबद्धता जनाइएको छ । यीमध्ये राप्ती नदीको पानी नेपालगन्ज ल्याउने योजना यसअघि नै निर्माणाधीन अवस्थामा छ भने रिङरोडका लागि जग्गाको व्यवस्था नहुँदा अलपत्र परेको छ । मिश्रले साइकल र पैदल लेनको कुरा गरिरहँदा नेपालगन्जमा अहिले फुटपाथसमेत अतिक्रमणमा छन् ।

मिश्रको प्रतिबद्धतापत्रमा नेपालगन्जको गुरुयोजनासहित आवधिक योजना र दीर्घकालीन योजनाको आधारमा वार्षिक योजना तर्जुमा गरिने उल्लेख छ । शिक्षालाई पहिलो नम्बरमा राखिएको प्रतिबद्धतापत्रमा डिजिटल अध्ययन सामग्री र पाठ्यक्रम विकास गरिनेदेखि कक्षा कोठालाई शीतल बनाउने प्रविधि प्रयोग गरिने उल्लेख छ । प्रत्येक विद्यालयमा प्राविधिक धार र कम्प्यूटर प्रयोगशालाको सुनिश्चितता गरिने पनि प्रतिबद्धता गरिएको छ ।

यस्तै, स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क बनाइने बताइएको प्रतिबद्धतापत्रमा बहिरंग सेवामा पाँच हजार र स्वास्थ्य बीमाबाट एक लाखसम्मको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था मिलाइने उल्लेख छ ।

सरसफाइतर्फ ठूला सडकहरु सफा गर्न मेसिनहरुको प्रबन्ध गरिने, पैदल तथा साइकल लेनको व्यवस्था गरिने, भर्टिकल पार्किङको व्यवस्था गरिने, ई–रिक्सा व्यवस्थित गरिने, ट्राफिक लाइट र आकाशे पुल बनाइने र रिङरोड निर्माण गर्ने पनि मिश्रले प्रतिबद्धता जनाएका छन् ।

पर्यटनतर्फ नेपालगन्जबाट भैरहवा र भरतपुर उडान, स्टार्टअप कल्चरलाई प्रोत्साहन, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने मिश्रको घोषणा छ । यी योजना पूरा गर्न आफूसँगै सक्षम टिम पनि निर्वाचनमा उत्रिने उनले बताए । एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीको अध्यक्षतामा भएको घोषणापत्र सार्वजकि कार्यक्रममा एमालेबाट नेपालगन्जको उपमेयरका उम्मेदवार शान्ति ढकालको पनि उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार