बाँकेमा आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको एक उपमहनगर, नगरसहित ६ पालिकामा एकैदिन कार्यालय स्थापना गरिएको हो । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
शिक्षा तथा समन्वय इकाई कार्यालय नेपालगन्जमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृतका रुपमा बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी छन् । नेपालगन्जको कार्यालय तिवारीले नै उद्घाटन गरे । समग्र जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्ने गरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । कोहलपुर नगर विकास समितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोहलपुरमा निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टलाई खटाइएको छ ।
यस्तै बैजनाथ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधीश प्रेमबहादुर थापा, राप्तीसोनारी गाउँपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी र खजुरामा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका लोकबहादुर सुनार खटिएका छन् । कपास विकास कार्यालयमा खजुरा गाउँपालिकास्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जानकी गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, डुडुवा गाउँपालिकामा फकिटराज मुडवरी निर्वाचन अधिकृतको रुपमा खटिएको जिल्ला निर्वाचन अधिकृत रमा पन्तले जानकारी दिइन् ।
डुडुवाको कार्यालय वडा नम्बर ४ वनकट्टीमा स्थापना गरिएको छ । यसैगरी नरैनापुर गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता रेशम आचार्य खटिएका छन् । कार्यालय स्थापना भएसँगै बाँकेमा स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी तिव्रता पारिएको निर्वाचन अधिकारी पन्त बताउँछिन् ।
निर्वाचन गतिविधि सुरु गर्नुका साथै निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाइसकिएको उनको भनाइ छ । बाँकेमा २०७४ को निर्वाचनताका जिल्लामा दुई लाख ४८ हजार चार सय ३४ मतदाता थिए । आसन्न निर्वाचनका लागि तीन लाख २९ हजार चार सय ७३ मतदाता पुगेका छन् । बाँकेमा वैशाख ३० गते हुने निर्वाचनका लागि तीन सय ७९ वटा मतदान केन्द्र रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्