अदालतले कसिदिएको लगनः अन्तरजातीय प्रेम गर्दा मानसिक यातनादेखि हिरासतसम्म



वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘हामी बाँचेको समाजमा प्रेम गर्नु कति महँगो पर्छ ?’ तीन वर्षसम्म प्रेम गरेकै कारण आफ्नै परिवार र प्रहरीबाट अनेक यातना झेलेका अञ्जली र अमनको जोडीले महसुस गर्न सक्छन् । त्यो अनाहकमा मूल्य चुकाउँदाको पीडाको अभिव्यक्ति सायद शब्दले मात्रै व्यक्त गर्न सकिँदैन ।

पश्चिम नेपालको सबैभन्दा ठूलो र समृद्ध भनिएको सहर नेपालगन्जकै बासिन्दा यो जोडीले एकअर्कालाई गरेको पवित्र प्रेमलाई अपराधको रुपमा लिइयो । त्यसमा एउटै कारण थियो, जात नमिल्नु ।
……                            ……                                ……

नेपालगन्ज–१५ पिप्रहवाका अमन सिंह नेपाली पहाडी समुदायको कथित तल्लो दलित परिवारको सुयोग्य छोरा । उनकै छिमेकी स्वेता उर्फ अञ्जली शर्मा मधेसी समुदायको कथित उपल्लो ब्राह्मण परिवारकी सुशील छोरी ।

यी दुईजना सानैदेखि एकै आँगनमा हुर्केका बढेका छिमेकी । सानैमा पिता गुमाएका अमनलाई दाईले भारतको कानपुरमा पढाए । तीन वर्षअघि कानपुरबाट बिए पास गरेर आएका अमन नेपालगन्जस्थित एक सहकारी संस्थामा असिस्टेन्ट लोन म्यानेजरको रुपमा काम गरिहेका छन् । अञ्जलीले दुई वर्षअघि नै एसईई पास गरिसकेकी छन् । तर उनले प्रेम गरेकै कारण त्यसभन्दा माथिको पढाइ गर्न पाएकी छैनन् ।

बिए पास गरेर आएपछि अमनले अञ्जलीलाई प्रेम प्रस्ताव गरे । उनी भन्छन्, ‘उहाँको बानी सबभन्दा राम्रो । उहाँ अरुजस्तो छैन । घुम्न जाने, यो लुगा लगाउनै पर्ने, यस्तो छैन । उहाँलाई मैले हेरे कि घरको काम अनि सबैसँग मिलेर बस्ने । गाउँमा उहाँको बारेमा सोध्नु न, सप्पैले तारिफ गर्छ ।’ अञ्जली भन्छिन्, ‘म पनि एज ए फ्राइन्ड मन पराउथँे । पछि अलिअलि गर्दा गर्दै प्रेम गर्न थालियो ।’ अहिले उनीहरुबीचको प्रेम कति गहिरो छ भन्ने जान्न उनीहरुको शाब्दिक स्पष्टिकरणभन्दा उनीहरुले तीन वर्षमा झेलेको तनावको नालीबेलीले नै पुष्टि गर्छ ।

अञ्जली र अमनको परिवारबीच त्यसअघि भेदभावको कुनै महसुस थिएन । खानादेखि पानी सबै चल्थ्यो । एकअर्काले छिमेकीका रुपमा गर्ने व्यवहारमा कुनै फरक थिएन ।

तर जब श्वेता (अञ्जली) र अमनको प्रेम भएको कुरा अञ्जलीको परिवारले थाहा पायो, त्यसपछि सुरु भयो जातको नाममा रडाको । त्यसपछि अञ्जलीलाई आफ्नै परिवारले भारतमा लगेर छुपाउनेदेखि अमनलाई अनेक झुटा मुद्दामा फसाउनेसम्मका प्रपञ्च भए । पे्रम गरेको सजायस्वरुप उनीहरुलाई दुईपटक गरी करिब नौ महिना सम्पर्कविच्छेद गराइयो । अमनले दुईपटक गरी करिब २४ दिन हिरासतमा बिताउनुप¥यो ।

‘ममीबुवाले त जात नहेरे पनि हजुरआमा हुनुहुन्छ । उहाँका रिलेशनहरु छन् । जसले तिमीहरुको छोरी यस्तोसँग लागी, उस्तोसँग लागी, अब तिमीहरुसँग नाता तोडिदिन्छौँ । अनेक भने होलान् । त्यसपछि हामीलाई छुटाउन उहाँहरुले सकेको प्रयास गर्नुभयो,’ अञ्जली भन्छिन् । तर, अञ्जली र अमनको प्रेम जति छुटाउन खोजियो त्यति बलियो हुँदै गयो ।

उनी भन्छिन्, ‘यो त यस्तो फिलिङ हो, जो एकचोटी भइसक्यो त कसरी हटाउने ? जति टाढा गराउन खोजियो त्यति नजिक हुँदै गयौ ।’ अञ्जलीलाई फकाउन उनको परिवारले अनेक मानसिक र शारीरिक हतकण्डाहरु अपनायो । उनले प्रहरीलाई आफ्नो ज्यानको सुरक्षा पाउँ भनेर उजुरी गर्दा पनि प्रहरीले उनको कुरा सुनेन ।

उनी भन्छिन्, ‘ज्यानको सुरक्षा पाउँ भनेर उजुरी गर्दा पुलिसले पनि तिमी रातभरि केटासँग कुरा गर्छौं भने तिम्रो आमाबुवाले पिट्ने नै भो, उल्टै मैमाथि गल्ती । मेरा आँशु, मेरो चोट केही देखाइदिएन ।’

यता अमनको घरमा अञ्जलीको घरमा हुने हल्ला नसुनिने कुरै भएन । सम्झाइबुझाई गर्न जान पनि नमिल्ने । सुनेर बसिराख्न पनि नसकिने । एक प्रेमीलाई त्यो समय सहज पक्कै थिएन । एकपटक बचाउन जाँदा अर्का एक छिमेकीसँग अमनको सामान्य भनाभनका क्रममा हात हालाहाल भयो । त्यसपछि अमनले कोरोनाको महामारी फैलिरहेका बेला अभद्र व्यवहारको मुद्दामा २१ दिन प्रहरीको हिरासतमा बिताउनुप¥यो । उनलाई अनेक झुटा मुद्दाको त्रास देखाउँदै मानसिक प्रताडना दिइयो । प्रहरीले पनि अञ्जलीको परिवारको कुरा सुनेरै अमनमाथि मानसिक दबाबको वातावरण बनाइराख्यो । अमन भन्छन्, ‘म त सर कसरी बाँचेछु । नत्र त यति धेरै इल्जाम ममाथि लगाएको थियो कुरै नगरम् ।’

अञ्जलीलाई उनको परिवारले भारतमा एक आफन्तकोमा एकपटक ६ महिना र अर्काेपटक तीन महिना छुपाइयो । उनको अर्काे केटासँग बिहे गराउने प्रयास पनि परिवारले ग¥यो । अमन र अञ्जलीका लागि त्यो टाढा बस्नुपर्दाको समय झन् कठिन थियो ।

‘न फोन हुन्छ । न केही । के भयो होला, कसो भयो होला अनेक चिन्ता लाग्ने । अनि खाना नरुच्ने, निद्रा नलाग्ने । न कसैसँग बिहे पो गराइदिए कि ? यस्तो हुन्थ्यो,’ अमनले भने । उता अञ्जलीको पनि त्यही हाल । उनमा तनावकै कारण अनेक शारीरिक र मानसिक समस्या देखिन थाल्यो । डिप्रेसनको औषधि खानुप¥यो । ‘उ त दुब्लाएर कस्तो भइसकेकी थिइ । तपाईं फोटो हेर्नुभयो भने छक्क पर्नुहुन्छ,’ फोटो देखाउँदै अमनले भने ।

उनीहरुलाई छुटाउने परिवारको कसरतको चरम उत्कर्ष त्यतिबेला देखियो । जब उनीहरुले भागेर बिहे गरे । २० वर्ष नपुगी बिहे गर्नुहुन्न भन्ने थाहा पाएका उनीहरुले अञ्जली २० वर्ष पुगेपछि भागेर भारतको श्रावस्तीस्थित देवीपाटन मन्दिरमा बिहे गरे । दुई तीन दिन उतै धर्मशालामा बसे । त्यसपछि फर्केर आए । कोहलपुरमा होटलमा बसे ।

त्यहीबीचमा अञ्जलीकी आमाले चैत २३ गते प्रहरीमा अमनविरुद्ध आफ्नी छोरी बेपत्ता पारेको भन्दै उजुरी गरिन् । त्यो थाहा पाएपछि अञ्जलीले आफूलाई बेपत्ता नपारेको बरु आफूहरुले भागेर प्रेम विवाह गरेको भनेर जिल्ला प्रशासन, इलाका प्रहरी कार्यालय जमुनाह, जिल्ला प्रहरी कार्यालय बाँके र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित जानकारी पनि गराइन् । यति गर्दा पनि अमनलाई चैत २९ गते प्रहरीबाट खबर आयो तिमीविरुद्ध उजुरी छ ।

उनी र अञ्जली आफैँ प्रहरी कार्यालय पुगे । त्यहाँ अञ्जलीका बुवा आमा र परिवारका अरु सदस्य पनि थिए । प्रहरीकै सामू उभिएर अञ्जलीले भनिन्, ‘उनले मलाई बेपत्ता पारेका होइनन् । हामीले प्रेम विवाह गरेका हौँ ।’ उनले बिहे गरेका फोटोहरु देखाइन् । सिन्दुर देखाइन् । तर प्रहरीले अञ्जलीको कुरा सुनेन । अमनलाई हिरासतमा पठाइयो । अञ्जलीलाई साथी संस्थाको सेल्टरमा पठाइयो । प्रेम बिहे गरिसकेका जोडीलाई आमाले दिएको झुटा मुद्दाका आधारमा प्रहरीले पुनः छुट्याइदियो । अनाहकमा अमनले तीन दिन हिरासतमा बिताउनुप¥यो ।

हिरासतमा राखिएका अमनमाथि अनुसन्धानका लागि थप गर्न भन्दै वैशाख २ गते प्रहरीले अदातलतमा उपस्थित गराएपछि बल्ल प्रहरी र उनको परिवारले एक उमेर पुगेका जोडीमाथि गरेको ज्यादतिको पटाक्षेप भयो । बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले पक्ष विपक्षका वकिल र पीडित भनिएकी अञ्जलीको बयान सुनेपछि अञ्जलीको बिहे गर्ने उमेर पुगेको, अमनसिंह नेपालीलाई हिरासतमा राखिरहन नपर्ने र अञ्जली शर्मालाई अमनसँगै बस्ने व्यवस्था मिलाइदिनु भन्ने आदेश दिए ।

यस फैसलाका लागि अञ्जली र अमनलाई साथ दिए अधिवक्ता निर्दीपकुमार श्रेष्ठले । अमनकी दिदीले उनीहरुलाई श्रेष्ठ कहाँ लिएर आएकी थिइन् । त्यसपछि श्रेष्ठले उनीहरुलाई कानुनी बाटो देखाए । अदालतमा उनीहरुको प्रेमका पक्षमा तथ्यसहित बहस गरे । उनले प्रहरीले अनाहकमा अमनलाई हिरासतमा राखेको कुराको पनि घोर विरोध गरे र फैसलाका लागि अञ्जलीको बयानले सबैभन्दा बढी काम ग¥यो ।

अञ्जलीले आर्जन गरेको अनुभव

जब अदालतको कठघरामा उभिएर बयान दिनुपर्ने बेला आयो, त्यसबेला अञ्जलीका हातखुट्टा लुगलुग कापे । चिटचिट पसिना आयो । उनले मिसन टुडेसँग भनिन्, ‘म एक उमेर पुगेकी केटी हुँ । मलाई मेरो योग्य जीवनसाथी रोज्ने अधिकार छ । यसबीचमा जातको कुरा ल्याएर हामीमाथि गरिएको दुव्र्यवहार पीडादायी छ । अमन र मैले प्रेम विवाह गरेका हौं भनेर मैले भनेँ ।’

उनले आमालाई पनि दोषी करार गरिनन् । भनिन्, ‘मैले आमालाई पनि दोषी देखाइन । आमाले पनि मलाई माया गरेर यो प्रयास गर्नुभएको होला । आफ्नी छोरीका लागि उहाँले गर्नुभएको प्रयास होला । तर, हर समय छोराछोरी नै गलत हुन्नन् ।

कुनैकुनै समयमा बाउआमा पनि गलत हुन्छन् । सुनुवाइ दुइटैको हुनुपर्छ ।’ अञ्जलीलाई आमाबुवाले आफ्नो स्वविवेकले नभइ समाजको दबाबले आफूलाई अमनसँग छुटाउन भ्याएको प्रयास गरेका हुन् भन्ने थाहा छ । किनकी उनकी आमा पनि पहाडी समुदायकी छोरी हुन् जसले मधेसी समुदायमा बिहे गरेकी थिइन् ।

उनका बुवा आमाले पनि भागेरै बिहे गरेका थिए । त्यही भएर अञ्जली आमाबुवाले आफूलाई बुझ्ने र आफूहरुको सम्बन्धलाई चाडै स्वीकार्ने आशामा छिन् । अदालतले अञ्जली र अमनलाई सँगै बस्ने व्यवस्था मिलाउन आदेश दिएको दिन उनकी आमाले आशीर्वाद दिएको सम्झिँदै अञ्जलीले उज्यालो अनुहारमा भनिन्, ‘अदालतबाट बाहिरिँदा आमाले भन्नुभयो, तँ यसमै खुसी छस् भने हामी के भनौं र ? त सधैं सुखी रहेस् । हाम्रो चाहना यत्ति हो ।’ यो वचन आफ्ना लागि आशीर्वादसँगै भविष्यमा दुई परिवारको मिलन हुने संकेतको रुपमा एक आशाको झिल्कोका रुपमा अञ्जलीले बुझेकी छन् ।

कहिल्यै पनि आमाको वचन नकाटेकी अञ्जलीले आफ्नो प्रेम प्राप्तिको लडाइँमा सबैभन्दा बढी आमासँग नै बाझ्नुप¥यो । यसमा आफूलाई दुःख लागेको बताउँछिन् उनी । यति हुँदा पनि आमाप्रतिको सम्मान र मायामा कत्ति पनि कमी नआएको उनले बताइन् । अञ्जली र अमनको जोडी अब आमाको हँसिलो अनुहारसहितको आशीर्वादको पर्खाइमा छ । त्यसपछि सबैलाई भोज खुवाउने योजना बुनिरहेका छन् उनीहरु ।

र, पहिले धेरै नबोल्ने अञ्जलीलाई प्रेमका खातिर यो तीन वर्षको लडाइँले तीनवटा कुरा सिकाएको छ । एक, आफूमाथिको अन्याय र आफ्नो हकका लागि त बोल्नैपर्छ र लड्नैपर्छ । दुई, जात त मनले हुन्छ, व्यवहारले हुन्छ । नामको पछाडि जोडिने थरले होइन । तीन, जबसम्म विभेदविरुद्ध पीडितहरु बोल्दैनन् तबसम्म यो जारी रहन्छ ।

प्रहरीको व्यवहारप्रति असन्तुष्टि

अन्तरजातीय प्रेममा रहेका आफूहरुलाई प्रहरीले कुरै नसुनेर गरेको व्यवहारप्रति अञ्जली र अमनको असन्तुष्टि छ । अधिवक्ता निर्दीपकुमार श्रेष्ठ पनि भन्छन्, ‘प्रहरीले अनाहकमा दुःख दिएको देखियो । एकपक्षीयरुपमा कुरा सुनेर झुटा मुद्दाका आधारमा हिरासतमा राखेको देखियो । यसरी निर्दाेषहरुले अनाहकमा सजाय पाए । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा दुरुत्साहन गरियो ।’

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुससुदन न्यौपाने आमाले छोरीको बिहे गर्ने उमेर नपुगेको जन्मदर्ता देखाएपछि प्रहरी अमनलाई हिरासतमा राख्न बाध्य भएको तर्क गर्छन् । ‘सबैभन्दा नजिकको अभिभावक भनेको आमा नै हो ।

उहाँले नै उमेर नपुगेको जन्मदर्ता देखाएर छोरी बेपत्ता पारेको भन्ने उजुरी दिएपछि हामीले अनुसन्धान त अगाडि बढाउनैपथ्र्याे । अब अदालतले नै उनीहरुलाई सँगै बस्न दिनु भनेपछि सबै कुरा सकियो ।’ तर बेपत्ता भनिएकी व्यक्तिले नै आफू बेपत्ता नभइ बिहे गरेको बयान दिँदा पनि प्रहरीले प्रतिवादीलाई हिरासतमा राख्नु अधिकारको दुरुपयोग भएको अधिवक्ताहरु बताउँछन् ।

अदालतको स्वातयोग्य फैसला

जिल्ला अदालत बाँकेले अन्तरजातीय विवाह गर्ने अञ्जली र अमनको जोडीका पक्षमा स्वागतयोग्य फैसला गरेको छ ।

प्रहरीले अमनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि अदालतमा पेस गरेपछि बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले चैत २ गते शुक्रबार गरेको फैसलामा भनिएको छ, ‘जाहेरवालाले प्रतिवादीले मेरो छोरीलाई बेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयम् उपस्थित भई आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्रबमोजिम म्याद थप अनुमति दिन मिलेन । तसर्थ प्रतिवादीलाई हाजिर जमानीमा छाडी मुद्दाको थप अनुन्धान गर्नुपर्ने भए गरी कानुनबमोजिम गर्नू ।’

अञ्जलीले पनि आफूलाई प्रहरीले साथी संस्थाको संरक्षणमा पठाएकोमा अब आफ्नो पतिको साथमा बस्ने गरी जिल्ला प्रहरी कार्यालयका नामाा आदेश जारी गरी पाउँ भनी दिएको निवेदनका सन्दर्भमा आदेशमा भनिएको छ, ‘निज कुमारी अञ्जली शर्मालाई अन्य कारण नभए प्रस्तुत मुद्दाको रोहबाट प्रतिवादी अमन सिंह नेपालीको साथमा बस्न आवश्यक व्यवस्था मिलाइदिनु ।’ यस फैसलाले अदालतले नै अञ्जली र अमनको प्रेम बिहेलाई स्वीकार गरेको अधिवक्ताहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार