निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धि भएको भन्दै बाँकेका निर्माण व्यवसायीले निर्माण कार्य ठप्प पार्दै ‘निर्माण होलिडे’ घोषणा गरेका
छन् । बाँके निर्माण व्यवसायी संघले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सोमबारदेखि निर्माण ठप्प पारेको घोषणा गरेको हो ।
यससँगै बाँकेमा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब सात अर्ब बराबरका करिब पाँच सय सरकारी निर्माण आयोजनाका काम रोकिएका छन् ।
बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले ठेक्का सम्झौता हुँदाका बखतको भन्दा अहिले निर्माण सामग्रीको मूल्य आकाशिएपछि व्यवसायी घाटामा जान थालेको बताए । अहिलेको अवस्थामा पहिले गरिएको ठेक्का रकममै अहिलेको महँगीलाई धानेर निर्माण कार्य अघि बढाउन नसकिने भएपछि निर्माण होलिडे घोषणा गरिएको उनले बताए ।
गत साउनमा डिजेल एक सय सात रुपैयाँ रहेकोमा अहिले बढेर एक सय ४३ पुगेको, इट्टा प्रतिगोटा १२ रुपैयाँबाट बढेर १८ रुपैयाँ पुगेको र फलाम ९५ रुपैयाँ केजीबाट बढेर एक सय २५ रुपैयाँ पुगेको खड्काले बताए ।
उनका अनुसार निर्माण सम्झौता गर्दाको समयभन्दा अहिले डिजेलमा २५ प्रतिशत, इट्टामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्य वृद्धि भएको छ । यस्तो अवस्थामा व्यवसायीले काम अघि बढाउन नसक्ने भएपछि निर्माण कार्य ठप्प पार्नुपरेको उनले बताए ।
यस समस्याका बारेमा जिल्ला प्रशासनमार्फत सरकारलाई अवगत गराए पनि कुनै सुनुवाइ नभएपछि अन्तिम विकल्पका रुपमा निर्माण होलिडे गर्नुपरेको संघका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले बताए । ‘अहिलेको अवस्थामा काम गर्नै नसकिने अवस्था छ । कति व्यवसायीले सामग्रीहरु खरिद गर्न नै सकेका छैनन् ।
उनीहरु यतिखेर ठूलो नतावमा छन्,’ चन्दले भने । संघले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्नुपर्ने, सरकारले मूल्य वृद्धिलाई राहत हुनेगरी निर्देशिका ल्याउनुपर्ने वा निर्माण पूरा गर्ने म्याद थप्नुपर्ने माग अघि सारेको छ । यी माग पूरा नभएसम्म निर्माण कार्य सूचारु गर्न नसकिने अध्यक्ष खड्काले बताए ।
पत्रकार सम्मेलनमा सहभागी निर्माण व्यवसायीले कच्चा पदार्थ पनि नपाइएको, पछिल्लो महिनादेखि भुक्तानी पनि नपाइएको गुनासो गरेका छन् । निर्माण कार्य धमाधम हुनुपर्ने समय र आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको समयमा निर्माण व्यवसायीले गरेको होलिडेको निर्णयले निर्माण योजनाहरु प्रभावित हुने देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्