कोहलपुरमा लगातार तीनपटक जित हासिल गरेको नेकपा एमाले आफ्नो विरासत रक्षा गर्ने रणनीतिक योजनामा छ । वशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रिँदै छ ।
२०४९, २०५४ र २०७४ मा स्थानीय तह प्रमुख जितेको एमालेलाई एक्लै चुनाव जित्न त्यति सजिलो भने छैन । एमालेलार्ई चुनाव जित्न दुईटा कुरा बाधक देखिन्छन् । पहिलो, पार्टी फुट र दोस्रो, पाँच दलीय गठबन्धन ।
झट्ट हेर्दा कोहलपुरमा पार्टीको फुटको ठूलो असर नदेखिएको दाबी गरिन्छ । कार्यपालिका सदस्य नारायणी ओलीबाहेक अरु जनप्रतिनिधि एमालेमै छन् । तर, यसपटक नेकपा एमालेको भोट काटिने सम्भावनालाई भने नकार्न सकिँदैन ।
कोहलपुर नगरपालिका मात्र होइन, वडामा समेत जित दोहो¥याउन एमालेले कसरत गरिरहेको छ । गत निर्वाचनमा नेकपा एमालेले प्रमुखसहित सातवटामा जितेको थियो । वडा नम्बर १, २, ३, ८, ११, १२, १३ गत निर्वाचनमा एमालेले जितेका वडा हुन् ।
कार्यपालिकामा भने नेकपा एमाले झिनो बहुमतमा छ । जिल्लाभरि एक्लै चुनाव लड्ने तयारीमा रहेको एमालेले जिल्लाका ८१ मध्ये सबै वडामा सर्वसहमतिमै उम्मेदवार टुंगो लगाएको छ । तीमध्ये कोहलपुरका १२ वडामा वडाध्यक्षका उम्मेदवार छनोट गरिएको छ । वडा नम्बर २, ८ र ११ मा आंकाक्षी धेरै भएको टुंगो लाग्न सकेको छैन ।
बाँकी सहमति भएका वडामा नेकपा एमालेले गत निर्वाचनमा जित हासिल गरेका बहुसंख्यक वडाध्यक्षलाई अवसर दिएन । नगर कमिटी अध्यक्ष खिलप्रसाद भुसाल भन्छन्, ‘पाँच वर्षीय कार्यसम्पादन र जनविश्वासलाई आधार बनाइएको छ । अर्को कुरा नयाँलाई अवसर दिनुपर्ने भन्ने पनि हो ।’
गत निर्वाचनमा वडाध्यक्ष जितेका दुईजनाबाहेक अन्य वडा अध्यक्ष भने लगभग चुनावी मैदानबाट बाहिरिसकेका छन् । तीमध्ये वडा नम्बर ८ का वडाध्यक्ष रेशमबहादुर खत्री उपप्रमुखको सिफारिसमा परेका छन्, भने वडा नम्बर ३ का अध्यक्ष माधव रिजाललाई मात्रै नेकपा एमालेले वडामा दोहो¥याएको छ । कोहलपुर नगरपालिका निर्वाचित वडा अध्यक्ष सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । कार्यकालभरि उनी चर्चामा रहे ।
उनले कार्यकालको सुरुवातमा वडाध्यक्षबापत पाउने पारिश्रमिक नलिने निर्णय गरे । उक्त रकम उनले विद्यालय भवन निर्माण र विद्यार्थीहरुको शैक्षिक अवस्था सुधारमा लगाए । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी कोहलपुरमा कुशल युवा नेतृत्वका रुपमा परिचित छ ।
‘व्यक्तिगतरुपमा भन्नुपर्दा म दोहोरिने सोचमा थिइन्ँ । मलाई लाग्छ पार्टी र जनताले मेरो आवश्यकता महसुस गर्नुभयो ।
मैले उक्त प्रस्तावलाई सहजरुपमा स्वीकार गरेको हो,’ रिजाल भन्छन् । उनले पहिलो कार्यकालमा चुनावी प्रतिबद्धतानुसार काम गरेको दाबी गरे । दोस्रोपटक निर्वाचित भए पहिलो कार्यकालमा पूरा नभएका काम पूरा गर्ने योजना रहेको पनि बताए ।
उनले आफूले वडाध्यक्षको रुपमा अरुभन्दा पनि राम्रो काम गरेको पनि बताए । नेकपा एमाले कोहलपुर कमिटीका अध्यक्ष खिलप्रसाद भुसालका अनुसार जनता र पार्टी कमिटीले योग्य ठानेका व्यक्तिलाई दोहो¥याउनु सामान्य हो । जनताको मन जितेका र काम गर्न सक्ने व्यक्तिहरुलाई अवसर दिँदा पार्टीको विरासतसमेत जोडिने उनको भनाइ छ ।
‘कोहलपुरमा एमालेको आधार क्षेत्र हो । हामी फेरि जित्ने अभियान नै लागेका छौं । वडाहरुको नेतृत्वको लागि उम्मेदवार टुंगिएको छ । नयाँलाई अवसर, पुरानालाई सम्मान गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
वडाध्यक्षको लागि वडा नम्बर १ बाट रुद्र खनाल, वडा नम्बर ३ बाट माधव रिजाल, वडा नम्बर ४ बाट सफि मोहम्मद गुजर, वडा नम्बर ५ बाट दिपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ बाट परदेशी थारु सर्वसम्मतरुपमा सिफारिस भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ बाट ठग्गा थारु, वडा नम्बर ९ बाट नन्दराम थारु, वडा नम्बर १० बाट हेमकुमार रावत, वडा नम्बर १२ बाट टेकबहादुर शाही, वडा नम्बर १३ बाट रुपसिंह डाँगी, वडा नम्बर १४ बाट ज्ञानेन्द्र थापा र वडा नम्बर १५ बाट मोहन थारुलाई वडाध्यक्षको उम्मेदवारको लागि सिफारिस गरिएको छ ।
तीमध्ये वडा नम्बर १० अध्यक्षको लागि सिफारिसमा परेका रावतले अध्यक्षको लागि शिक्षकबाट राजीनामा दिएका छन् । नेकपा एमालेले वडा नम्बर २, ८ र ११ मा भने अध्यक्षको उम्मेदवार टुंगोमा लगाउन सकेको छैन । आंकाक्षी धेरै भएकोले केही समय ढिलो भएको तर केही दिनमा टुंगो लाग्ने अध्यक्ष भुसाल बताउँछन् ।
मेयरका छोरा वडाअध्यक्षको टिकट
नेकपा एमालेले कोहलपुर–१० को वडाध्यक्षमा मेयर लुटबहादुर रावतका छोरालाई उम्मेदवार बनाएको छ । तीनपटक कोहलपुरको प्रमुखमा विजयी रावतले वडा नम्बर १० मा आफ्ना जेठा छोरा हेमकुमारलाई वडाअध्यक्षको उम्मेदवार बनाएका हुन् ।
मेयर बाबाको साथका कारण शिक्षा पेसाबाट राजीनामा दिएर हेमकुमार राजनीतिमा होमिएका हुन् । उनी त्रिभुवन माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक थिए । अहिले उनले राजीनामा दिइसकेका छन् ।
तर विगत चार वर्षयता रावतले पढाउने काम भने छोडिसकेका थिए । उनी काजमा नगर शिक्षा शाखामा कार्यरत थिए । पछिल्लो एक वर्षयता भने मेयर रावतले आफ्नो सचिवालयको कर्मचारी नै बनाए । अहिले भने रावत वडाध्यक्षको उम्मेदवार बनेका छन् । रावतको राजीनामा शिक्षा तथा समन्वय इकाई कार्यालयले वैशाख १ गते स्वीकृत गरिसकेको छ ।
वडाध्यक्षको उम्मेदवारीका बारेमा मिसन टुडेसँग कुराकानी गर्दै रावतले आफूले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएको बताए । उनले भने, ‘मैले शिक्षकबाट राजीनामा दिइसके । स्वीकृतसमेत भइसक्यो । जनता र पाटीको आर्शीवादले चुनावी मैदानमा होमिएको छुँ ।’ उनले आफ्नो चुनावी प्राथमिकता शिक्षा स्वास्थ्य, कृषि र पूर्वाधार रहेको बताए ।
उनले आफूले जित्ने पनि विश्वास व्यक्त गरे । गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । उक्त वडामा अहिलेसम्म नेकपा एमालेले जितेको इतिहास छैन । आफूले जितेर इतिहास कायम गर्ने वडाध्यक्षका उम्मेदवार रावतले बताए । उक्त वडामा वडाध्यक्षसहित पम्फा शाही, अञ्जु परियार, जग्गु थारु र गोरे रावतलाई सदस्यको उम्मेदवारका रुपमा टुंगो लगाइएको छ ।
वडा नम्बर वडाध्यक्षका उम्मेदवार कैफियत
१. रुद्र खनाल
२. टुंगो लाग्न बाँकी
३. माधव रिजाल
४ सफि मोहम्मद गुजर
५. दिपेन्द्र श्रेष्ठ
६. परदेशी थारु
७. ठग्गा थारु
८. टुंगो लाग्न बाँकी
९. नन्दराम थारु
१०. हेमकुमार रावत
११. टुंगो लाग्न बाँकी
१२. टेकबहादुर शाही
१३. रुपसिंह डाँगी
१४. ज्ञानेन्द्र थापा
१५. मोहन थारु










प्रतिक्रिया दिनुहोस्