कोहलपुरमा गठबन्धन नहुने, माओवादीबाट मेयरका उम्मेदवार न्यौपाने सर्वसम्मत



कोहलपुर ।

नेकपा (माओवादी केन्द्र) कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । सत्ता गठबन्धन दलहरुबीच सँगै चुनावमा जानेबारे छलफल चलिरहँदा कोहलपुरमा भने माओवादीले आफ्नै नेतृत्वमा जाने निर्णय गरेको छ ।

त्यसको लागि माओवादी कोहलपुरले युवा नेता नरेन्द्र न्यौपानेलाई मेयरको उम्मेदवारको रुपमा अगाडी सार्ने भएको छ । कोहलपुर नगर कमिटी बैठकले मेयरमा न्यौपानेको एकल नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

मंगलबारको नगर कमिटी बैठकले कोहलपुरको विकास माओवादीबाट सम्भव रहेकोले आफ्नै नेतृत्वमा चुनावमा जाने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

‘हामी आफ्नै नेतृत्वमा चुनावमा जान्छौं । सर्वसम्मत रुपमा न्यौपानेलाई मेयर उम्मेदवारमा अगाडी सारेका छौं’ ती नेताले भने, ‘कोहलपुरमा हामी चुनावमा होमिसकेका छौं ।’ बैठकले निर्वाचन परिचालनका लागि ३ वटा कमाण्ड बनाएर जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

कोहलपुरको उपमेयरको लागि धेरैजना आकांक्षी रहेकोले सहमतीको प्रयास भइरहेको माओवादीले जनाएको छ । रेणुका खड्का, साबित्रा पुन, बिष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काले उपमेयरमा दाबेदारी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार