बाँकेको कोहलपुरस्थित चौराहामा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ । शनिबार मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.को आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर गरिएको हो ।
मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालका अनुसार निःशुल्क शिविरबाट कूल ८० जना लाभान्वित भएका थिए । उनले चालक र सह–चालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिए । यसले विभिन्न कारण हुने दुर्घटनाबाट बच्न सहयोग पुग्ने उनको भनाइ छ ।
शिविरमा चालकहरुको ब्लडप्रेसर, सुगर तथा आँखा जाँचको जाँच गरिएको थियो । शिविरको उद्घाटन जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले गरेका थिए ।
उनले विभिन्न संघ संस्थाबाट हुने यस्ता शिविरबाट चालकहरुको स्वास्थ्य अवस्था बुझ्न सहयोग पुग्ने बताए । शिविरको लागि कोहलपुर नेत्रालय कोहलपुरले आँखा चेक गर्ने सामग्री र कौशिल्या अस्पताल प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो ।
शुक्रबार बर्दियाको बाँसगढीमा पनि मध्यपश्चिम यातायात प्रा.लि.ले चालकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्