नेपालगन्ज ।
सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा जाने प्रयासबाट बाँकेमा जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । नेपालगन्जलगायत आफ्नो बलियो दाबेदारी रहेका अरु स्थानीय तहमा पनि प्रमुखमा भाग नपाउने अवस्था आएको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।
जसपाका जिल्ला अध्यक्ष कमरुद्दीन राईले बाँकेमा एक्लै चुनावमा जाने निर्णयमा पुगेको र गठबन्धनको बैठकमा जान छोडिसकेको बताए । उनले नेपालगन्जसहित नरैनापुर, डुडुवा र जानकीमा उम्मेदवारहरुको पनि टुंगो लगाइसकेको जानकारी दिएका छन् ।
राईका अनुसार नेपालगन्जको मेयरमा राई स्वयम्, नरैनापुरमा वर्तमान गाउँपालिका अध्यक्ष इश्तियमक अहमद शाह, डुडुवामा वर्तमान वडाध्यक्ष भण्डारीलाल यादव र जानकीमा राजीव बर्माको नाम अध्यक्षका टुंगिसकेको बताए । अरु बाँकी स्थानीय तहका उम्मेदवार पनि वैशाख ५ गतेभित्र टुंग्याइसक्ने उनले बताए ।
यी चारवटै स्थानीय तहमा जसपाले दाबी गरेको थियो । तर गठबन्धनका अरु मुख्य दलहरु यी स्थानीय तह आफ्नो पक्षमा पार्न रस्साकस्सी गरिरहेका छन् । मुख्य गरी नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपालाई यी स्थानीय तहको नेतृत्व दिन अस्वीकार गरेका थिए । बाँके अध्यक्ष राई अरु पार्टीहरुले जसपाको अहिलेको जनमतलाई आँक्न नसकेको बताउँछन् ।
पछिल्लो समय जसपाको संगठन सुदृढ भएको र पार्टीका प्रतिनिधिसभा सदस्य ईश्तियाक राईले धेरै विकासका योजनाहरु ल्याएकोले आफूहरुप्रति जनमत बलियो बनेको उनको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्