स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि सत्ता साझेदार दलहरुले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगाउन सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा नमिल्दा सत्ता गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस भएको हो ।
नेकपा एमालेले भने केही स्थानीय तहमा उम्मेदवारको विषय टुंग्याइसकेको छ । अन्य पालिकामा पनि उम्मेदवार टुंग्याउन अन्तिम तयारी एमालेको छ । यता सत्ता साझेदार दलहरुबीच भागबण्डा नै मिल्न सकेको छैन, जसले गर्दा उम्मेदवार छनोटमा समस्या भएको छ । बाँकेका आठ पालिकामध्ये कुन पालिका कुन दलले लिने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरु सहमतिमा आउन सकेका छैनन् ।
नेपाली कांग्रेसले पहिला जितेको राप्तीसोनारी र डुडुवासहित थप नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमा बलियो दाबी गरेको स्रोतले जनायो । यसमा सत्ता गठबन्धन दलहरुसँगको सहमति र सहकार्यमा टुंग्याउने कांग्रेसले जनाएको छ । यद्यपि चुनावी तालमलेका विषयमा कांग्रेस बाँकेमा एक मत छैन । यसका लागि आन्तरिक छलफल भएको नेपाली कांग्रेसका पार्टी सभापति नारायणप्रसाद गौडेलले बताए ।
यता नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमध्ये एक र खजुरामा सशक्तरुपमा दाबी गरेको छ । नेकपा एसले पनि दाबी कायमै राखेको छ । नेकपा एमालेले जितेका सबै स्थानीय तहमा एसले पहिलो दाबी गरेको छ । त्यसमा सहमति हुन नसकेमा बैजनाथ, नरैनापुर र जानकी गाउँपालिका आफूले पाउनु पर्ने नेकपा एसको माग छ ।
एकै पालिकामा दलहरुबीच मतभेद हुँदा पनि सत्ता गठबन्धन दलहरुलाई भागबण्डा मिलाउन हम्मेहम्मे भएको छ । भागबण्डाकै गाँठो नफुक्दा दलहरु उम्मेदवारबिनै जनताको घरदैलोमा पुग्ने गरेका छन् । नेपाली कांग्रेसले अन्तरिक छलफलमा भएको बताए पनि बाँकेको महŒवपूर्ण पालिका नेपालगन्जमा शसक्त दाबी छ । गत निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । यद्यपि उपप्रमुख भने नेपाली कांग्रेस नै जितेको थियो ।
माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रप्रसाद (आइपी) खरेल गठबन्धनको मूल्य, मान्यता र सहमतिका आधारमा थप एक पालिकामा दाबी हुने बताउँछन् ।
नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र पछिल्लो समय नरैनापुरमा आफ्नो दलको राम्रो उपस्थिति रहेको अध्यक्ष कोइरालाको भनाइ छ । नेकपा एस बाँकेका आठ पालिकामध्ये डुडुवा गाउँपालिकामा कमजोर देखिएको छ । क्षेत्र नम्बर ३ अन्तर्गत रहेका खजुरा, जानकी र बैजनाथ गाउँपालिकामा दाबी रहने बताइएको छ ।
‘बाँकेमा दुई तीन चरणमा छलफल भइसकेको छ । चुनावी गठबन्धन हुन्छ,’ उनले भने, ‘केन्द्रीय निर्णयअनुसार नै बाँकेमा पनि तालमेल गर्छौं । सबैले जित्नेखालको गठबन्धनको पक्षमा हामी छौं ।’










प्रतिक्रिया दिनुहोस्