गठबन्धनलाई बढार्नुपर्छ: ओली



नेपालगन्ज ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई बढार्नुपर्ने बताएका छन् ।

नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँच दलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे ।

‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ । एमालेलाई जिताउनुपर्छ । यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुवा कार्यकर्ताहरुलाई भने ।

बाँके जिल्लालाई अब एमालेको किल्ला बनाउनुपर्ने भन्दै ओलीले स्थानीय तहका सबै पदाधिकारी जिताउन क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए । नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएका उनले नेकपा (एस) लाई अब ‘नेकपा फुस’ बनाउनुपर्ने पनि बताए ।

ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताउँदै त्यसको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गरे ।

उनले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधार गर्नभन्दा योजनाहरु कटौति गर्न थालेकोले अब वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका ओलीले व्यक्त गरे । पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशीशक्तिको षड्यन्त्र सफल हुने पनि ओलीको तर्क छ ।

कार्यक्रममा नेकपा (एस) बाँकेका सहसचिव र युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव किशोर थापा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष ओली र नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वागत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २५ गते शुक्रबार