विदेशी पर्यटकहरु ओसार्ने र ‘डलरमा कमाइ’ गर्ने ध्याउन्नमा लागेर निजी कम्पनीका विमानले कर्णाली र सुदूरपश्चिमको लागि हप्तामा एक दिन गर्नुपर्ने सहुलियत उडानसमेत गरिरहेका छैनन् ।
तर यहीबेला नेताहरुका लागि भने समिटले नियमित उडान गरेको छ ।
तिलक गाउँले । वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा अहिले निजी विमान कम्पनीले उडान बन्द गरेका छन् ।
सीता, समिट, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएकोमा अहिले सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको एउटा विमानले मात्रै उडान गरिरहेको छ । उक्त विमानले पनि नियमित उडान गर्ने भनेर तोकेको उडान तालिका मिचेर चार्टर उडान गरिरहेको छ । तर सर्वसाधारण यात्रुहरु टिकट नपाएर नेपालगन्जमा अलपत्र छन् ।
विदेशी पर्यटकहरु ओसार्ने र ‘डलरमा कमाइ’ गर्ने ध्याउन्नमा लागेर निजी कम्पनीका विमानले कर्णाली र सुदूरपश्चिमको लागि हप्तामा एक दिन गर्नुपर्ने सहुलियत उडानसमेत गरिरहेका छैनन् ।
तर यहीबेला नेताहरुका लागि भने एक निजी कम्पनीले नियमित उडान गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सुर्खेतबाट जुम्ला पु¥याउन समिट एयरले बिहीबार एक नियमित उडान ग¥यो ।
नेपालगन्जबाट जुम्ला नियमित उडान गरेको समिटले पुनः सुर्खेत आएर मुख्यमन्त्री शाहीसहितको टोलीलाई जुम्ला पु¥याएको थियो । समिटले पनि उडान गरेपछि अलपत्र परेका नागरिकले केही राहत त पाए ।
तर, शुक्रबारबाट समिटको जहाजले फेरि नेपालगन्जबाट चार्टर उडान गरेर काठमाडौं फर्किने छ । शुक्रबार सिमीकोट, रारा र बाजुरामा चार्टर उडान हुने समिट एयरका कर्मचारी उमेश डिसीले जानकारी दिए । ‘त्यसपछि पूर्व गएर १० तारिखमा आउने कुरो छ,’ उनले भने । सर्वसाधारण जनताले टिकटका लागि अनेक संघर्ष गर्नुपरिरहेको छ ।
उनीहरुले नियमित उडानका लागि टिकट काटिसक्दा पनि उडान स्थगित गरेर नेपाल एयरलाइन्सले चार्टर उडान गरिरहेको छ । तर नेताहरुका लागि भने यहीबेला निजी कम्पनीले पनि नियमित उडान ग¥यो ।
नेपालगन्ज विमानस्थलमा भेटिएका एक यात्रुले भने, ‘कर्णाली र सुदूरपश्चिमवासीलाई हेपिएको हो कि के हो । हामीले हप्ता दिनदेखि कुर्दा पनि टिकट पाइएको छैन । जहाजहरु नै पूर्वतिर लगिएको छ । तर नेताका लागि मिलिहाल्दो रहेछ ।’
नेताका लागि नियमित उडान
नेपाल एयरलाइन्सको जहाजले करिब अढाइ वर्षपछि बिहीबार पहिलोपटक डोल्पाको जुफाल विमानस्थलमा उडान ग¥यो । नेपाल एयरलाइन्सले लकडाउनपछि जुफालमा उडान गरेको थिएन ।
जुफालमा नियमित र चार्टर उडान गरिरहेका निजी कम्पनीका विमानहरु पूर्व गएपछि ठप्प भएको जुफाल विमानस्थलमा पनि नेपाल एयरलाइन्सले नियमित उडान गर्नुका पछाडि पनि नेताहरुको ‘पावर’ले काम गरेको छ ।
पूर्वराज्यमन्त्री धनबहादुर बुढा डोल्पा पुग्नु पर्ने भएपछि डोल्पामा नेपाल एयरलाइन्सले नियमित उडान गरेको हो ।
बिहीबार नेपाल एयरलाइन्सले डोल्पासहित जुम्ला र ताल्चामा पनि नियमित उडान ग¥यो । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले धेरै लामो प्रयासपछि नेपाल एयरलाइन्सको जहाज ल्याउन सफल भइएको बताए ।
‘यतिबेला निजी कम्पनीहरु लुक्लातिर गइदिए । नेपाल एयरलाइन्सको जहाज त धेरै लामो समयदेखि आएको नै थिएन । विशेष गरी पूर्व पर्यटन राज्यमन्त्रीज्यूको विशेष पहलमा यहाँ ल्याउन सफल भइयो ।
जनतालाई यसले केही राहत देला भन्ने आशा गरेका छौँ,’ प्रजिअ अधिकारीले भने ।
आज त नेताज्यू आउनु भएर मात्रै आएको होला नि ? भन्ने प्रश्नमा अधिकारी भने, ‘यहाँका सबै दल, नागरिक समाजको नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्छ भन्ने माग छ । एयरलाइन्सबाट पनि हप्तामा एक दुईवटा उडान नियमित हुन्छ भन्ने जानकारी पाएका छौँ ।’ नेपाल एयरलाइन्स नेपालगन्जका वरिष्ठ लेखा अधिकृत पवीन गुरुङ अब हप्तामा एक दिन उडान गर्ने गरी तालिका तोकिएको बताउँछन् । अब अर्काे उडान सोमबारका लागि तोकिएको उनले बताए ।
गुनासो र समस्या समाधानबारे पहल
नेपाल एयरलाइन्सले सेड्युल गरेका उडान रद्ध गरेर चार्टर उडान गरिरहेको सम्बन्धमा बिहीबार मिसन टुडे दैनिकमा रिपोर्ट प्रकाशित भएको थियो ।
नागरिकहरुले पनि नेपाल एयरलाइन्सले पहुँचका भरमा टिकट दिने गरिएको, टिकटमा कालोबजारी गरिएको, नियमित उडान रोकेर चार्टर उडान गरिएको बारे गुनासो गरिरहेका छन् । त्यस सम्बन्धमा रिपोर्ट प्रकाशित भएपछि नेपालगन्ज विमानस्थलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालगन्ज विमानस्थलका प्रमुख सुभाष झाले आफूले उक्त रिपोर्टबारे नेपाल एयरलाइन्सको प्रधान कार्यालयमा चासो राखेको बताए ।
‘उहाँहरुले यसबारेका थप बुझ्छौँ भन्नुभएको छ,’ झाले भने, ‘अनि चार्टर उडानबारे नेताहरुको दबाबका कारण नियमित उडान रोक्नुपर्ने गरेको बताउनुभएको छ । चार्टर उडानका लागि धेरै दबाब आउँदा तोकिएको सेड्युल पूरा गर्न नकिएको बताउनुभएको छ,’ उनले भने ।
झाले अब सेड्युलमा तोकिएका उडान नगरेर चार्टर उडान गर्न नदिइने पनि बताएका छन् ।
मैले प्रष्ट भनेको छुँ । अब नियमित उडान नभइकन चार्टर उडान गर्न दिइँदैन । हामीले गर्न सक्ने यति नै हो,’ उनले भने । यता जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि दैनिकरुपमा पहुँचका भरमा टिकट दिने गरिएको, टिकट नपाइएको बारे गुनासो आउने गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले यसबारेमा बुझिरहेको तर आफूले उडान थप भनेर भन्न सक्ने अवस्था नहुने बताए । यद्दपि सेवाप्रवाहमा कुनै समस्या रहेको भेटिएमा त्यसबारेमा आफूले कारबाही गर्ने उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्