विचौलियासँग मिलेर चार्टर उडानको नाममा चर्को शुल्क असुल्दै नेपाल एयरलाइन्स



एउटा विमानबाट सेवा दिइरहेको नेपाल एयरलाइन्सले पनि नागरिकहरुलाई सकेसम्म सहज सेवा दिनुपर्नेमा यही मौकामा उल्टै चार्टर उडानको नाममा चर्काे शुल्क असुलिरहेको पाइएको छ ।

विचौलियाहरुसँग मिलेर शक्ति र पैसा हुनेहरुलाई चार्टर उडानबाट ओसार्ने तर निमुखाहरुलाई टिकट लिइसकेका नियमित उडान पनि रद्ध गरेर थप दुःख दिइरहेको खुलेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाजुराकी कमला शाही दिदीका साथ काठमाडांैबाट उपचार गरेर फर्किइन् । चैत १९ गते उनीहरुले नेपालगन्जबाट बाजुरा जान नेपाल एयरलाइन्सको टिकट लिइसकेका छन् । उनीहरुको टिकटमा मंगलबार बिहान ११ः१५ बजेको उडान समय उल्लेख छ । तर मंगलबार बिना कारण उडान रद्ध गरिएको र अब शुक्रबार मात्रै उडान हुने भनेर खबर आयो ।

उनीहरुले अब शुक्रबारसम्म उडानका लागि कुर्नुपरे कम्तिमा एक हप्ता नेपालगन्जको होटलको खर्च उठाउनुपर्नेछ । ‘शुक्रबार पनि हुन्छ कि हुँदैन ठेगान छैन । प्लेनको टिकटभन्दा बढी होटल र खानाकै खर्च भइसक्यो,’ कमलाले भनिन्, ‘टिकट लिइसकेका मान्छेलाई कुराएर चार्टर उडान गर्नु त ठूलो अन्याय भएन र ?’

कमलाकी ७५ वर्षीया दिदीको अपरेसन भएकोले उनलाई बसमा बाजुरा लैजान नसकिने अवस्था छ । बाजुरामा बालविकास शिक्षिका रहेकी कमलाजस्तै कयौं नागरिकहरु नेपाल एयरलाइन्सको मनोमानीका कारण समस्यामा परेका छन् । ‘बाध्य भएर प्लेनमै जानुपर्ने अवस्था भएका हामीजस्ता दुर्गम क्षेत्रवासीलाई यो ठूलो अन्याय हो । हामीजस्तै बाध्यताले होटलमा थन्किएकाहरु धेरै छन्,’ उनले भनिन् ।

नेपालको पूर्वी क्षेत्रमा पर्यटकको चाप बढेको भन्दै निजी विमान कम्पनीहरुले नेपालगन्जबाट सबै उडान काठमाडौं सारेपछि कर्णाली र सुदूरपश्चिमका नागरिक र पर्यटकलाई आवतजावत गर्न पाइरहेका छैनन् । नेपालगन्ज र पर्यटकीय गन्तव्यहरुमा यात्रु तथा पर्यटकहरु अलपत्र परेका छन् ।

एउटा विमानबाट सेवा दिइरहेको नेपाल एयरलाइन्सले पनि नागरिकहरुलाई सकेसम्म सहज सेवा दिनुपर्नेमा यही मौकामा उल्टै चार्टर उडानको नाममा चर्काे शुल्क असुलिरहेको पाइएको छ । बिचौलियाहरुसँग मिलेर शक्ति र पैसा हुनेहरुलाई चार्टर उडानबाट ओसार्ने तर निमुखाहरुलाई टिकट लिइसकेका नियमित उडान पनि रद्ध गरेर थप दुःख दिइरहेको खुलेको छ ।

नेपाल एयरलाइन्सले २० गते आइतबारबाट नियमित उडान गर्ने भन्दै समय तालिका तोकेको थियो । नेपालगन्जमा कर्णाली र सुदूरपश्चिमका पाँचवटा विमानस्थल जुम्ला, सिमिकोट, ताल्चा, बाजुरा, रुकुममा नियमित उडान गर्ने तालिका नेपाल एयरलाइन्सले बनाएको छ ।

यी विमानस्थलमध्ये सिमीकोट र ताल्चामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी हप्तामा चारपटक, बाजुरामा सोमबार, मंगलबार र शुक्रबार गरी तीनपटक, जुम्लामा आइतबार र बिहीबार गरी हप्तामा दुईपटक, रुकुममा मंगलबार र शुक्रबार गरी हप्तामा दुईपटक उडान तालिका तोकिएको छ । तालिकाअनुसार बुधबारसम्म आठवटा मियमित उडान हुनुपर्नेमा मात्र दुईवटा नियमित उडान गरियो । बरु आठवटा चार्टर उडान गरियो ।

आइतबार भने जुम्लामा नियमित उडान भयो । त्यसपछि सोमबार बाजुराको नियमित उडान भएन । बरु सिमीकोटमा नियमित उडान गरियो । सोमबार नै ताल्चा विमानस्थलमा दुईवटा चार्टर उडान गरियो । मंगलबार तोकिएको बाजुरा, सिमीकोट, ताल्चा र रुकुमको नियमित उडान गरिएन । बरु मंगलबारका दिन सिमीकोटमा एउटा र ताल्चामा एउटा चार्टर उडान गरियो । बुधाबार कुनै पनि नियमित उडानको तालिका तोकिएको थिएन । यस दिन सिमीकोटमा दुईवटा, ताल्चामा एकवटा र रुकुममा एउटा चार्टर उडान गरियो । यसरी बल्लबल्ल भए पनि उडानका लागि टिकट पाएका र पालो कुरेर बसेका नागरिकलाई नेपाल एयरलाइन्सले ठगेको छ ।

नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख पविन गुरुङ चार्टर उडानको निर्णय एयरलाइन्सको केन्द्रीय कार्यालयले गर्ने गरेको बताउँछन् । माथिबाट चार्टर उडानको तालिका ताकेर पठाइदिने गरेको र आफूहरुले बाध्य भएर नियमित उडान रोक्नु परेको उनले बताए । यसबाट सेवाग्राही मर्कामा परेको थाहा हुँदाहुँदै आफूहरु आदेश मान्न बाध्य भएको उनको भनाइ छ ।

यता, यात्रुहरुले नियमित उडान रोकेर हतारमा चार्टर उडानबाट मान्छे पठाइरहेको नेपाल एयरलाइन्सको कामबारे अनुगमन गरिनुपर्ने र यात्रुहरुलाई सास्ती दिने कर्मचारीहरुलाई कारबाही गरिनुपर्ने बताए । ‘यसरी खुलेआम राज्यकै कम्पनीले नागरिकलाई ठगिरहेको छ । तर यहाँ हाम्रो पीडा सुनिदिने कुनै निकाय नै छैन,’ विमानस्थलमा भेटिएका एक व्यक्तिले भने ।

विमानस्थल प्रमुख झा नियमित उडान रोकेर चार्टर उडान गरेको भए यात्रुहरुले लिखित उजुरी दिनसक्ने र त्यस्तो उजुरीमाथि कारबाही गरी नियमित उडान नभएसम्म चार्टर उडान गर्न नदिइने बताउँछन् । ‘म केही दिन बाहिर थिएँ । मलाई यसबारेमा कतैबाट पनि जानकारी आएको छैन । यदी कतैबाट बेनामे उजुरी आयो भने पनि मैले एयरलाइन्सलाई कानुनानुसार कारबाही गर्छु,’ उनले भने ।

बुवासँग छुट्टिनुपरेकी पेमा

चार दिनअघि बझाङबाट बुवासँगै नेपालगन्ज आएकी हुम्लाकी करिब ११ वर्षीया पेमा नाम गरेकी बालिका नेपालगन्जबाट हुम्ला उड्दा बुवासँग छुट्टिनु प¥यो । विमानमा क्षमताभन्दा बढी यात्रु भएको भन्दै पेमालाई टिकट दिइएन । बुवा भने उडेर हुम्ला पुगिसके । पेमा भने विमानस्थलमा हेरेको हे¥यै भइन् । उनीहरु बास बसेको होटल सञ्चालिकाले उनको रेखदेख गरिरहेकी छन् ।

उनी पेमालाई घर पठाउन दैनिक विमानस्थल धाउँछिन् । टिकट काट्ने ठाउँ पुग्छिन् । तर टिकट पाइएको छैन । चार्टर उडानकै टिकट काटेर पठाइदिन पनि तयार रहेको बताउँदै होटल सञ्चालिकाले पहुँचका भरमा मात्रै टिकट दिने गरेका कारण पेमा आफ्नो परिवारसँग छुट्टिनुपरेको बताउँछिन् । ‘एकजनाको लागि मात्रै टिकट पाइयो । त्यही टिकटमा बुवा चाहिँ उनलाई पछि पठाइदिनु भनेर गइहाले । उनलाई पनि के थाहा कि टिकट नै नपाइला भन्ने । अहिले चार दिन भइसक्यो यी नानी यतै छिन्,’ उनले भनिन् ।

पेमा घर जाने आसाले दैनिक विमानस्थल धाउँछिन् । अन्तमा भरिएका आँखा लिएर पुनः होटल फर्किन बाध्य हुन्छिन् । बुधबार पनि नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख श्रेष्ठका सामू पुगेर उनले टिकटको व्यवस्था गरिदिन भरोसापूर्ण आँखाले हेरिरहिन् । श्रेष्ठले उनका लागि विमानमा ठाउँ नभएको जवाफ दिए । तर, बुधबार नै दुईवटा चार्टर उडान उनले हुम्ला पठाए । ‘आमाले चिन्ता मान्नुभएको छ । बुवा सदरमुकाममै मलाई कुरेर बस्नुभएको छ,’ पेमाले मलिन स्वरमा भनिन् ।

हुम्ला सदरमुकामबाट दुई दिन पैदल हिँडेर पुगिने ठाउँमा उनको गाउँ छ । घरमा उनकी आमा छट्पटिर बसेकी छन् । छोरीलाई लिएर मात्रै घर आउनु भनेपछि उनका बुवा सदरमुकाममै कुरेर बसेका छन् । तर पेमालाई उनको बुवासम्म पुग्ने एकमात्र साधन जहाजले कहिले लगिदिने हो ठेगान छैन ।

चार्टर उडानमा श्रेष्ठको मनोमानी

चैत २१ गते चार्टर उडानमा नेपालगन्जबाट हुम्ला गएका दोर्जे लामाको टिकटमा विमानस्थल शुल्क दुई सय रुपैयाँमात्रै उल्लेख छ । उनले कति रुपैयाँ तिरेर हुम्ला गएका हुन् ? टिकटमा उल्लेख छैन । उक्त टिकट पनि २१ गते एकाबिहानै ५ बजे प्रिन्ट गरिएको छ । प्रिन्ट गर्ने व्यक्तिको नाममा किरणएम  उल्लेख छ ।

नेपालगन्ज विमानस्थल प्रमुख शुभाष झा हरेक यात्रुको टिकटमा उसले तिरेको मूल्य लेखिएको हुनुपर्ने बताउँछन् । ‘न्यूनतम मूल्यभन्दा दोब्बर नबढ्ने गरी चार्टर शुल्क लिन पाइन्छ । उक्त शुल्क टिकटमा लेखिएको हुनुपर्छ वा रसिद दिइएको हुनुपर्छ,’ झाले भने । तर नियमत उडान रोकेर चार्टर उडान गराइरहेका नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख किरणमान श्रेष्ठले चार्टर उडानमा यस्ता अनेक गल्ती र मनोमानी गरिरहेका यात्रुहरुले बताए ।

कार्यालय प्रमुख रहेका श्रेष्ठ नेपालगन्जको धम्बोझीस्थित उनको कार्यकक्षमा भन्दा बढी विमानस्थलमा भेटिन्छन् । आफ्ना सम्पर्कका र पैसा भएका मान्छेहरु बोकेर उनी विमानस्थल पुग्ने र पैसा भएका आफ्ना मान्छेहरु पठाउने गरेका विमानस्थलमा भेटिएकाहरुले बताए ।

उनले टिकट नदिएरै मानिसहरुलाई विमानस्थल टर्मिनलमा जान दिन त्यहाँ रहेका सुरक्षाकर्मीहरुलाई दबाब दिने गरेको समेत पाइएको छ । केही दिनअघि त्यही विषयमा विवाद हुँदा त्यहाँ रहेका सुरक्षाकर्मी र उनीबीच तनाव उत्पन्नसमेत भएको थियो । पछि उनले आफूलाई सुरक्षाकर्मीले हातपात गरेको प्रचार गरेका थिए ।

टूर प्याकेजमा आएका ४५ जनाको लिस्टमात्रै लिएर विमानस्थलमा पुगेपछि त्यहाँ रहेका सुरक्षार्कीले टिकट भएमा मात्रै टर्मिनलमा जान पाइने नियम रहेकोले टिकट देखाउन अनुरोध गर्दा उनले जबजस्ती गरेको ती सुरक्षाकर्मी बताउँछन् । मंगलबार पनि रारा जाने यात्रुहरुले नेपाल एयरलाइन्सले मनोमानी गरेको भन्दै विमानस्थलमै नाराबाजी गरेका थिए ।

विमानस्थलको जिम्मेवारी पाएका एकजना अधिकृतलाई एयरलाइन्सले यहीबेला नेपालगन्ज सिटी अफिमै बस्न निर्देशन दिएको छ । सिटी अफिसमा बसेर व्यवस्थापनका लागि चाँजोपाँजो मिलाउने र नागरिकका गुनासा सम्बोधन गर्नुपर्ने श्रेष्ठ भने कार्यालयमा भन्दा बढी विमानस्थलमा भेटिन्छन् । तर, पनि नागरिकहरु आफू ठगिएको गुनासो गरिरहेका छन् ।

निजी कम्पनीहरुले नाफाको लोभमा आफ्नो न्यूनतम दायित्वसमेत भुलेर अहिले नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्लामा उडान शून्य बनाएका छन् । अर्काेतिर सरकारी स्वामित्वको वायु सेवा निगमका कर्मचारीको मनोमानीका कारण सर्वसाधारण र पर्यटकहरुले सास्ती भोगिरहेका छन् ।

केन्द्रको निर्देशनअनुसार उडान

हामीले केन्द्रको निर्देशन मान्ने हो । केन्द्रले नियमित उडान र चार्टरका लागि समय तालिका पठाएको छ । हामीले सोहीअनुसार काम गर्ने हो । अर्काे कुरा छ टिकटमा दुई सय रुपैयाँ लेखिएको । त्यसमा कार्यालय जिम्मेवार हुँदैन । हामीले चार्टरका लागि पाटी –व्यक्ति वा कम्पनीलाई) लाई जिम्मा दिएका हुन्छौं ।

उहाँले हामीलाई एकमुष्ट दिनुहुन्छ र यात्रुबाट लागेको पैसा उहाँहरुले लिनु हुन्छ । जहाँसम्म हामीलाई आरोप लगाइएको छ । त्यो झठ्ठा हो । हाम्रा पनि घरपरिवार र आफन्त हुन्छन् । सक्ने भए त उहाँहरुलाई पनि उडान गराइहालथ्यौं ।

हाम्रा मान्छे पनि टिकट नपाएर अलपत्र हुनुहुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २४ गते बिहीबार