कोहलपुर ।
कोहलपुर नगरपालिकाका ३७ हजार सात सय ३० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । अभियान नै सञ्चालन गरेर बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।
कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रम गरेर मंगलबार यसबारेमा जानकारी दिएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने नगर स्वास्थ्य शाखाका प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए । बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान कोहलपुरसहित बाँकेमा आजदेखि सुरु गरिनेछ ।
‘कोहलपुरमा सञ्चालनमा रहेका ७५ वटा विद्यालयबाट बालबालिकाको संख्या एकिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख खड्काले भने, ‘स्कुल बाहिर रहेका तीन हजार ९ सय ५५ जना बालबालिकालाई समेत खोप लगाइन्छ । सबै गरेर ३७ हजार सात सय ३० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेका छौं ।’
टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको लागि ४५ वटा खोप केन्द्रहरु तोकिएको कोहलपुर नगरपालिकाले जनाएको छ । तीमध्ये अधिकांश केन्द्रहरु विद्यालयमा नै छन् । नगरका केही वडामा खोप अभियान केही दिनमा नै सकिए पनि धेरै बालबालिकाको संख्या भएका वडामा अभियान सकिन दुई सातासम्म लाग्ने नगर स्वास्थ्य शाखा प्रमुख खड्काले जानकारी दिए ।
कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले सबै स्वास्थ्यकर्मीहरुलाई आफूलाई दिएको जिम्मा राम्रोसँग पूरा गर्न निर्देशन दिए । ‘खोप अभियानलाई सफल पार्न सबैले पाएको जिम्मेवारी पूरा गर्न आग्रह गर्दछुँ,’ उनले भने । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, सामाजिक विकास समिति संयोजक नारायणी ओलीलगायतको उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्