कोहलपुरको जुवा खालमा प्रहरीको छापाः पौने चार लाखसहित पाँच जुवाडे पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको एक जुवा खालमा ईलाका प्रहरी कार्यालय कोहलपुरले छापा मारेको छ । कोहलपुर बसपार्कमा रहेको एक होटलमा भइरहेको जुवा खालमा कोहलपुर प्रहरीले सोमबार राति छापा मारेको हो ।

जुवा खालबाट प्रहरीले पौने चार लाख रुपैयाँसहित पाँचजना जुवाडेलाई समेत पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जुवा खालबाट नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– १३ का २५ वर्षीय थमन केसी, २६ वर्षीय अरुण खत्री, ३१ वर्षीय शुनिल ओली, ४३ वर्षीय प्रकाश खत्री र ३७ वर्षीय नरबहादुर खत्री रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ३ लाख ६२ हजार ६ सय ५० रुपैयाँ तथा तासका गड्डी बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका जुवाडेहरुलाई छुटाउने चलखेल सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयका केही अधिकृत र कोहलपुर प्रहरीका केही अधिकृतले केही लाभ लिएर जुवाडे रिहा गर्नेबारे छलफल चलिरहेको स्रोतले मिसन टुडेलाई जनाएको छ ।

यसबारे विस्तृतमा मिसन टुडेले अर्को भागमा प्रकाशित गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार