नेपालगन्ज ।
बाँकेमा टाइफाइडविरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्लामा एक लाख १५ हजार दुई बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउन चैत २३ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गरिँदै छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।
खोप अभियानबारे जानकारी दिन स्वास्थ्य कार्यालय बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा खोप फोकलपर्सन नरेश श्रेष्ठले जिल्लाका एक लाख १५ हजार दुई सय बालबालिकालाई खोप दिन लागिएको जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा खोप फोकलपर्सन श्रेष्ठले जिल्लाका विभिन्न विद्यालयहरुलाई नै खोप केन्द्र तोकेर खोप लगाउन लागिएको बताए । दुई सय बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेर आसपासका पायक पर्ने बालबालिका तिनै केन्द्रमा खोप लगाइने उनले बताए । छुटेका बालबालिकालाई अन्तिम दुई दिनमा हरेक वडाका स्वास्थ्य संस्थामा पनि खोप लगाइने श्रेष्ठले जानकारी दिए ।
अभिमुखिकरणमा सहभागी वरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद खेतानले दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट टाइफाइड रोग सर्ने भएकोले पानी र खाना दुवै सुरक्षित नहुँदासम्म टाइफाइडको जोखिम रहिरहने बताए । उनले टाइफाइडबाट विरुद्धको खोप सुरक्षित रहेको बताउँदै आफ्ना बालबालिबालाई निश्चित भएर खोप लगाउन आग्रह गरे ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बाँके पूर्णखोप जिल्ला घोषित भइसकेकाले अब खोपको दीगोपनाका लागि अरु खोप लगाए नलगाएको पनि यस अभियानका क्रममा पहिचान गरिने जानकारी दिए । जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले यस खोप अभियानलाई सफल पार्न सहयोग गर्न सबै जनप्रतिनिधिहरु र समाजिक अगुवाहरुलाई आग्रह गरेका छन् ।
प्रति एक लाख जनामा एक सय भन्दा बढी टाइफाइइडबाट संक्रमित भएको अवस्थामा संक्रमण दर बढी भएको क्षेत्र मानिनेमा नेपालमा प्रति एक लाखमा एक हजार ७२ जनामा टाइफाइडको संक्रमण रहेको अध्ययनले देखाएको छ ।
जुन डब्लूएचओको मापदण्डभन्दा १० गुणा बढी हो । त्यसकारण नेपाल टाइफाइडको अति जोखिममा छ । टाइफाइडको खोप एकपटक लगाएमा जीवनभर टाइफाइडविरुद्धको प्रतिरक्षा दिने डा. खेतानको भनाइ छ । तर बिरामी अवस्थाका, उपचारमा रहेका र अरु खोप लगाएको १५ दिन अघिपछि भने खोप लगाउन नहुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्