आफ्नै भवनमा कोहलपुरका वडा सरकार



कृष्ण ओली । बाँके ।

२०७४ को निर्वाचनपछि वडावडामा वडा सरकार पुगे । जिल्लामा हुने काम वडाबाटै हुने भएपछि जनताले संघीयताको उपलब्धिलाई महसुस गर्न पाए । सामान्य सिफारिस लिनलाई झन्झट व्यहोर्नु पर्ने बाध्यता ट¥यो ।

घर नजिकैबाट त्यस्ताखालाका कामकाज हुन थाले । गाउँगाउँमा वडा सरकार पुगे पनि सरकार सञ्चालन गर्न जनप्रतिनिधिलाई सहज थिएन । भाडाका घरका साँघुरा कोठाबाट असहजताकै बीचबाट उनीहरुले नागरिकलाई सेवा प्रवाह गरे ।

तर, यतिबेला वडाका सिंहदरबार भाडामै सीमित छैनन् । उनीहरुले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरे । जनप्रतिनिधिहरुको जुन पहिलो उपलब्धि हो । सहज ढंगले सेवा प्रवाह गर्न आफ्नै भवन अत्यावश्यक थियो ।

अहिले कोहलपुरका प्रायः सबै वडाले आफ्नै भवन निर्माण गरेका छन् । दरबारविहीन भएका गाउँका सिंहदरबारले दरबार पनि पाउँदा नागरिकको सेवा प्रवाहका सहजतासँगै छिटो छरितो हुने गरेको छ ।

नगरपालिकामा रहेका १५ वटा वडामध्ये अहिले १३ वटा वडा कार्यालयले आफ्नै भवन निर्माण गरेका छन् । २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधि आउँदा कोहलपुरका तीनवटा वडा कार्यालय मात्रै आफ्नै भवनबाट सञ्चालित थिए । पछिल्लो करिब पाँच वर्षमा कोहलपुर नगरपालिकाका १० वटा वडा कार्यालयका नयाँ भवन बनेका छन् ।

स्थानीय तह निर्वाचनसम्म कोहलपुर नगरपालिका वडा नम्बर ५, १० र १४ ले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका थिए । अन्य वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९, ११, १२, १३ र १५ ले कोहलपुर गोलपार्क नजिकैबाट भाडामा कोठा लिएर कार्यालय सञ्चालन गर्दै आएका थिए । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले वडा सरकार आफ्नै भवनबाट सञ्चालन हुन थालेको बताए ।

‘हामी आउँदा नगरपालिकाका १५ वडामध्ये १३ वटा वडाका आफ्नै भवन थिएनन्,’ उनले भने, ‘अहिले तीमध्ये १० वटा वडा कार्यालयका आफ्नै भवन बनेर सेवा सुरु गरिसकेको अवस्था छ । अन्य दुई कार्यालयका भवन निर्माणाधीन छन् ।’

वडा नम्बर ७ र ११ का कार्यालय भवन अहिले निर्माणाधीन रहेको कोहलपुर नगरपालिकाले जनाएको छ । ‘हामीले चाहेर मात्रै काम नहुँदो रहेछ,’ मेयर रावतले भने, ‘निर्माण कम्पनीले काम समयमै नसक्दा समस्या पैदा भयो । केही महिनामै दुई वडा कार्यालय पनि आफ्नै भवनबाट सञ्चालनमा आउँछन् ।’

जिल्लामै आफ्नै भवनबाट वडाको सेवा प्रवाह गर्ने कोहलपुर नगरपालिका रहेको उनको दाबी छ । ‘सबै वडा कार्यालयका आफ्नै भवन बनाउन त्यति सम्भव थिएन,’ उनले भने, ‘तर हामीले आफ्नो कार्यकालमा सिंहदरबारको अधिकार जनताकै घरदैलोबाट सहजै पाउने व्यवस्था मिलाएका छौं ।’ कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले आफूहरु आउँदा एउटै कोठाबाट सबै वडाका कार्यालय सञ्चालन गर्नुपरेको बताइन् ।

‘गोलपार्क नजिकैको एक घरमा धेरै वडाका कार्यालय एकै स्थानबाट सञ्चालन गरेका थियौं,’ उनले भनिन्, ‘पछि वडाबाटै जनतालाई सेवा दिनुपर्छ भनेर सबै वडामा भाडाकै घरमा वडा कार्यालय स्थापना ग¥र्यौ ।’ अहिले सबै वडा कार्यालयहरु आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भएको देख्दा खुसी लाग्ने उनले बताइन् ।

‘हामी निर्वाचित भएर आउँदाखेरिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ,’ उपमेयर चौधरीले भनिन्, ‘वडा सरकार अब जनताकै घरदैलोमा आइसकेका छन् । जनतालाई समेत सानातिना कामको लागि नगरपालिका जानुपर्ने बाध्यता हटेको छ ।’

वडा कार्यालय उद्घाटन

कोहलपुर नगरपालिका वडा नम्बर ६ को कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । आफ्नै भवन नहुँदा अहिलेसम्म वडा नम्बर ६ ले भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको थियो ।

स्थानीय गोविन्द वाग्लेले आफूले भोगचलन गर्दै आएको साढे तीन कट्टा जग्गा वडालाई दिएपछि भवन निर्माण गरिएको हो । सोही स्थानमा निर्माण गरिएको सुविधा सम्पन्न वडा कार्यालय भवनको सोमबार भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष रामशरण थारुले आफ्नै भवन बनेपछि सेवा प्रवाहमा सहज हुने बताए ।

‘जग्गा व्यवस्थापनको लागि केही समय लाग्यो । सबैको साथ सहयोगमा राम्रो स्थानमा जग्गाको व्यवस्थापन भयो,’ उनले भने, ‘वडावासीलाई सहज हुने स्थानमा अहिले कार्यालय भवन बनेको छ ।’ उक्त अवसरमा आफूले भोगचलन गर्दै आएको जग्गा दिने गोविन्द वाग्लेलाई कदरपत्रले सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार