नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा खरायो ठोकिएको छ । काठमाडौंबाट आएको जहाज अवतरण गर्ने क्रममा विमानस्थलको रनवेमा खरायो ठोकिएको हो । सोमबार राति करिब आठ बजेतिर अवतरणको क्रममा बुद्ध एयरको जहाजमा खरायो ठोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बुद्ध एयर, नेपालगन्जका व्यवस्थापक विनित शाहले जहाज अवतरण हुने क्रममा खरायो ठोकिएको जानकारी दिए । उनका अनुसार जहाजमा ठोकिएपछि खरायोको मृत्यु भएको छ ।
जहाजमा खरायो ठोकिएपछि केहीबेर नेपालगन्ज विमानस्थलमा उडान अवतरण बन्द भएको थियो । ‘बुद्धको जहाजमा खरायो ठोकिएपछि केहीबेर विमानस्थल बन्द भएको थियो,’ नेपालगन्ज विमानस्थल स्रोतले भन्यो, ‘रनवेमा रहेका खरायोका टुक्राहरु सरसफाइ गरेपछि विमानस्थल सञ्चालनमा आयो ।’
खरायो ठोकिएको बुद्धको जहाजमा भने कुनै क्षति भएको छैन । सोमबार राति नै उक्त जहाज नेपालगन्ज विमानस्थलबाट यात्रु लिएर काठमाडौं गइसकेको छ । नेपालगन्ज विमानस्थलमा यसअघि पनि पटकपटक बँदेललगायतका जनावर जहाजमा ठोकिँदै आएका छन् ।
विमानस्थलमा जहाजसँग जनावर ठोकिने क्रम बढेपछि सुरक्षाकर्मीको सहयोगमा धावनमार्ग नजिकको झाडी सफाइ गरिएको थियो । नेपालगन्ज विमानस्थल कार्यालयले भने झाडी सफाइका लागि बजेट नआउँदा नियमित सफाइ हुन नसकेको बताउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्