घर नजिकैको सरकार भनिने स्थानीय तहको चुनावपछि नेतृत्व गर्ने दलभित्रका नेता मात्र होइनन् स्वतन्त्र व्यक्ति पनि आकांक्षीका रुपमा अगाडि बढेका छन् ।
कोहलपुरको नेतृत्व आफ्नो पोल्टामा पार्न यतिबेला दलहरु जुटेका छन् । चुनाव नजिकिँदै गर्दा कोहलपुर नगरपालिकाको चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरु मतदाता रिझाउन लागेका छन् ।
पश्चिम तराईको कोहलपुर उदाउँदो सहर हो । कोहलपुर जति विकसित हुँदै गएको छ, त्यतिनै राजनीतिक गतिविधि पनि बढ्दो छ । यही चलायमान कोहलपुरको अबको नेतृत्व को ? अहिले यही विषय चोक, चौतारा, चिया पसलदेखि टोल, छरछिमेकसम्म बहस र छलफल हुन थालेको छ ।
घर नजिकैको सरकार भनिने स्थानीय तहको चुनावपछि नेतृत्व गर्ने दलभित्रका नेता मात्र होइनन् स्वतन्त्र व्यक्ति पनि आकांक्षीका रुपमा अगाडि बढेका छन् । कोहलपुरको नेतृत्व आफ्नो पोल्टामा पार्न यतिबेला दलहरु जुटेका छन् । चुनाव नजिकिँदै गर्दा कोहलपुर नगरपालिकाको चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरु मतदाता रिझाउन लागेका छन् ।
२०४९, २०५४ र २०७४ सालमा भएको निर्वाचनमा कोहलपुर नेतृत्व नेकपा एमालेले गर्दै आएको थियो । नेकपा एमाले पहिलेदेखिकै आफ्नो वर्चस्व कायम राख्न रणनीतिकरुपमा लागेको छ । अन्य दल भने एमालेको हातबाट यसपालि कोहलपुर नगरपालिकाको नेतृत्व फुत्क्याउने दाउमा छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा एमालेका लुटबहादुर रावत झिनो मतले विजयी भएका थिए ।
उपमेयरमा कांग्रेसकी सञ्जुकुमारी चौधरी विजयी हुँदा एमालेका रावत कांग्रेसलाई ८३ मतले मात्र पछि पारेर मेयरमा बाजी मारे । त्यतिबेला मेयरमा कांग्रेसभित्रको अन्तरघातको फाइदा एमालेले उठायो । अहिले दल तथा कोहलपुरको परिस्थिति परिवर्तन भएको छ । कोहलपुरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा विभाजन आएको छ । नेपाली कांग्र्रेस र मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)बीच एकता भइसकेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेका रावतले ९ हजार सात मत, कांग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९ सय २४ मत, माओवादीका नरेन्द्र न्यौपानेले ६ हजार दुई सय २१ मत र फोरमका फुलाराम थारुले दुई हजार तीन सय तीन मत प्राप्त गरेका थिए । चुनावको मत हेर्दा नेकपा एमालेलाई चुनाव जित्न निकै प्रयास गर्नुपर्ने देखिन्छ । तर, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष खिलप्रसाद भुषाल कोहलपुरमा एमालेलाई कसैले हराउन नसक्ने बताउँछन् ।
‘सबै दल एकातिर मिलेर आए पनि कोहलपुरमा एमालेलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘आफ्नै धरातलका कारण एमालेले चुनाव जित्छ ।’ कोहलपुरमा आफूहरुको सांगठनिक आधारसमेत बलियो रहेको नगर अध्यक्ष भुषालले दाबी गरे । ‘कोहलपुरमा हाम्रो सांगठनिक आधार कमजोर छैन । यो पनि हाम्रो चुनाव जित्ने आधार हो,’ उनले भने, ‘अर्को कुरा हामी सधैभरि जनताको कामका लागि जनताकै घरदैलोमा छौं ।’ सहमतिकै आधारमा मेयर, उपमेयरलगायतका पदका उम्मेदवार छानिने उनले बताए ।
गत निर्वाचनमा ८३ मत अन्तरले मात्रै पराजित भएकोले नेपाली कांग्रेस चाहिँ अलि ढुक्कजस्तै देखिन्छ । कोहलपुरमा नेपाली कांग्रेसको आधार राम्रै रहेको नेपाली कांग्रेस कोहलपुरका सभापति वीरेन्द्र शाहले जानकारी दिए । ‘हामी एक्लै चुनावमा गए पनि जित्छौं,’ उनले भने, ‘पहिले नै कोहलपुरमा राम्रो थियो । पछि फोरम लोकतान्त्रिकसँग एकता भएपछि बलियो बनेका छौं ।’
सत्ता गठबन्धनमा रहेका दलहरुसँग कोहलपुरमा अहिले नै गठबन्धन हुने या नहुने भन्नेबारे अहिल्यै केही भन्न नसकिने उनले बताए । ‘गठबन्धनबारे अहिले नै हामीले केही भन्नसक्ने अवस्था छैन,’ सभापति शाहले भने, ‘माथिल्लो तहबाट के निर्देशन आउँछ त्यहीअनुसार अगाडि बढ्नुपर्छ ।’
गत निर्वाचनमा तेस्रो भएको नेकपा (माओवादी केन्द्र)ले पाँच वर्षमा जनाधार फेरबदल भइसकेको बताउँदै आफूहरुको जित पक्का भएको बताइरहेको छ । गठबन्धन भएमा आफूहरुले मेयर पाउनुपर्ने माओवादीले माग राखेको छ । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले आफूहरु एक्लै चुनावमा जान तयार रहेको बताए ।
‘कोहलपुरमा हुने गठबन्धनप्रति हामी नेगेटिभ छैनौं,’ उनले भने, ‘सहमति हुन नसकेमा एक्लै चुनावमा जान माओवादी तयार भइसकेको छ ।’ कोहलपुरमा माओवादीले पछिल्ला पाँच वर्षमा थप आधारहरु बनाएको अध्यक्ष खड्काले बताए । ‘कोहलपुरवासीलाई माओवादीले जितेमात्र विकास हुन्छ भन्ने भएको छ,’ उनले भने, ‘अन्य दललाई मतदाताले हेरिसकेका छन् ।
हामीले नगर विकासमा हुँदा थु्रपै काम गरेका छौं ।’ २०७४ स्थानीय तह निर्वाचनमा १९ हजार पाँच सय पाँच महिला र पुरुष १७ हजार आठ सय ३२ गरेर ३७ हजार तीन सय ३७ जना मतदाता थिए । त्यसमध्ये २९ हजार चार सय २२ मत खसेको थियो । आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि ५६ हजार सात सय ९७ जना मतदाता छन् ।
कुन दलमा को आकांक्षी ?
नेपाली कांग्रेस
कोहलपुरको मेयरमा नेपाली कांग्रेसबाट बलराम शर्मा, भानुभक्त भट्टराई, सञ्जुकुमारी चौधरी, चिन्तामणि धिताल, पूर्ण आचार्य र चक्र अधिकारी आकांक्षी छन् । भट्टराई गत स्थानीय निर्वाचनमा अहिलेका मेयर लुटबहादुर रावतसँग ८३ मतले पराजित भएका थिए ।
चौधरी हाल कोहलपुर नगरपालिकाकी उपमेयर हुन् । शर्मा नेपाली कांग्रेसभित्र अवसर नपाएको पाको नेताको रुपमा चिनिन्छन् । आचार्यले सबैको सहमति भएमात्र आफू मेयरमा उठ्ने बताउने गरेका छन् ।
धिताल र अधिकारी कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका व्यवसायी हुन् । अन्यले दाबी गरे पनि भट्टराई र शर्मामध्ये एकजनाले टिकट पाउने कांग्रेस नेताहरु बताउँछन् ।
नेकपा एमाले
नेकपा एमालेबाट कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुषाल र पूर्व नगर अध्यक्ष वसन्ती अधिकारी मुख्य आकांक्षी हुन् । अधिकारीले गत स्थानीय तह चुनावमा एमालेले उपमेयर लड्न आग्रह गरे पनि मानेकी थिइनन् ।
पहिलेदेखि नै उनी कोहलपुरको मेयरमा मात्र उठ्ने बताउँदै आएकी थिइन् । एमालेबाट हालका नगर अध्यक्ष भुषालसमेत मेयरको बलियो दाबेदार हुन् । एमाले विभाजनको बेला पनि कोहलपुरमा एमालेलाई एकढिक्का बनाएर लैजानेमा उनको ठूलो भूमिका रहेको बताइन्छ ।
गोपाल गिरी, कर्णबहादुर थापा, नरेन्द्र शर्मा, बलराम भट्टराईलगायत पनि मेयरका आंकाक्षी छन् । अधिकारी र भुषालमध्ये एकले कोहलपुरको मेयरका लागि टिकट पाउने नेकपा एमालेका नेताहरु नै बताउँछन् ।
नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र) बाट मेयरका उम्मेदवार युवा नेता नरेन्द्र न्यौपाने पक्कापक्की जस्तै छन् । औपचारिक निर्णय नभए पनि माओवादीले न्यौपानेलाई मेयरका रुपमा अगाडि सारिसकेको छ । २०७४ सालको चुनावमा न्यौपाने तेस्रो स्थानमा थिए ।
चुनावमा पराजित भएपछि न्यौपानेले फेरि पनि मेयरमा उठ्ने भन्दै जनताको घरदैलोमा गइरहेका थिए । अखिल क्रान्तिकारीका पूर्व अध्यक्षसमेत रहेका उनी मेयरका उम्मेदवार पक्कापक्की भएको माओवादीका नेताहरु बताउँछन् ।
एकीकृत समाजवादी
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले गतिलो दाबेदारी दिन सकेको छैन । कुनै दलसँग गठबन्धन हुन नसकी निर्वाचनमा जानुपरे एकीकृत समाजवादीबाट नारायणी ओली र मञ्जु कोइराला आकांक्षी हुन् । उनीहरु सकेसम्म गठबन्धन भए उपमेयरका आकांक्षी छन् । ओली हाल कोहलपुर नगरपालिका नगर कार्यपालिका सदस्य हुन् ।
राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कोहलपुर नगर अध्यक्ष अर्जुनजङ शाहले आकांक्षा देखाएका छन् । राप्रपाले अन्य कुनै दलसँग गठबन्धन नगरेर उम्मेदवार उठाउनुपरेमा शाहलाई नै मेयरमा रुपमा अगाडि सार्नेछ ।
अन्य तीन दलको तुलनामा कोहलपुरमा राप्रपाको संगठन कमजोर भएकोले अन्य कसैले मेयरमा आकांक्षा देखाएका छैनन् । कोहलपुरमा व्यवसायीसमेत रहेका आकांक्षी शाह राप्रपा कोहलपुर नगर कमिटी अध्यक्ष हुन् ।
स्वतन्त्र
कोहलपुर नगरपालिकाको मेयरका लागि देवानन्द अर्यालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । केही वर्षअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील रहेका उनले सबैभन्दा पहिला कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका हुन् । यस क्षेत्रका चर्चित होटल व्यवसायी रहेका अर्यालले घरदैलो समेत सुरु गरिसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्