कोहलपुर, २३ जेष्ठ / जुन ५ तारिख, विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले तय गरेको ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । प्रत्येक वर्ष जुन ५ तारिखमा नेपाल लगाएत विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यसै सन्दर्भमा बाँके राष्ट्रिय निकुञ्जको आयोजना र जेडएसएलको सहयोगमा वृक्षारोपण कार्यक्रम गरिएको छ । निकुञ्जको पूर्वी सेक्टर कार्यालय परिसरमा वृक्षारोपण गरेर दिवस मनाइएको छ ।
दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले वृक्षारोपणलाई तीव्रता दिने बताएका छन् । निकुञ्ज अन्तरगतका विभिन्न ठाउँमा वृक्षारोपण गरिने उनको भनाई छ । ‘यो सुरुवात हो, वृक्षारोपणलाई अगाडि बढाउँदै जानेछौं’ उनले भने । वृक्षारोपण कार्यक्रममा श्री मेयर गणका सेनानी जंगलाल चौधरी, जेडएसएल नेपाल कोहलपुर प्रमुख पवन गौतम, नेपाल पत्रकार महासंघ बाँके शाखा कोषाध्यक्ष केशव राना, सहायक संरक्षण अधिकृत प्रमोद यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रमको संचालन संरक्षणकर्मी कृष्ण चौधरीले गरेका थिए ।
दिवसकै अवसर पारेर चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जालको आयोजनामा १० वटा विद्यालयहरुमा संरक्षण सचेतना कार्यक्रम गरिएको छ । मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने ती विद्यालयका विद्यार्थीहरुलाई संरक्षण सम्बन्धी सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ ।
साथै सञ्जालले स्वयंसेवकका रुपमा सामुदायिक विद्यालयहरुमा ६ देखि १० कक्षा सम्मका मासिक रुपमा संरक्षण शिक्षा कार्यक्रम संचालन गर्ने सञ्जाल अध्यक्ष कृष्ण चौधरीले बताए ।
प्रकाशित मिति : २०७४ जेठ २३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्