देशभरिका होमस्टे सञ्चालकको संस्था होमस्टे एसोसिएसन नेपाल अब महासंघ ढाँचामा जाने भएको छ । बाँकेको गाभर भ्यालीमा शनिबारबाट सुरु भएको एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनबाट महासंघमा जान लागेको हो ।
त्यसको लागि राष्ट्रिय सम्मेलनको बन्दसत्रमा एसोसिएसनबाट महासंघमा जाने विधान पेस हुने छ । ‘तेस्रो सम्मेलनपछि होमस्टे एसोसिएसन महासंघमा जान्छ,’ होमस्टे एसोसिएसन नेपालका महासचिव प्रेमशंकर मर्दनीया थारुले भने, ‘सम्मेलनपश्चात हामी नयाँ ढंगले अगाडि बढ्न खोजिरहेका छौं ।’ महासंघमा देशभरिका होमस्टे सञ्चालक अटाउने गरी विधान बनेको महासचिव थारुले जानकारी दिए ।
गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले महासंघमार्फत होमस्टेलाई क्रियाशिल बनाउन सहज हुने बताए । ‘राज्य पनि संघीय संरचनामा गइसकेको अवस्थामा हामी पनि महासंघ जान लागेका हौं,’ उनले भने, ‘महासंघमा जाँदा सरकारी निकायसँग होमस्टेका समस्याका बारेमा कुरा राख्नसमेत सहज हुन्छ ।’
देशभरि रहेका निजी तथा सामुदायिक होमस्टेहरु महासंघको छातामुनि अटाउने उनले दाबी गरे । ‘होमस्टेलाई ग्रामीण क्षेत्रको आर्थिक मेरुदण्डको रुपमा स्थापित गर्नुपर्छ,’ अध्यक्ष थारुले भने, ‘होमस्टेहरुलाई व्यवसायीकरण, संस्थागत गर्ने विभिन्न कार्यका लागि महासंघ आवश्यक पर्ने देखियो । सोहीअनुसार हामी अगाडि बढ्न खोजेका हौं ।’
होमस्टे एसोसिएसन महासंघको ढाँचामा गएपछि सातै प्रदेश, सबै जिल्ला र पालिकामा समेत शाखा स्थापना गरिनेछ । हाल देशका ६८ जिल्लाका एक हजार तीन सय बढी होमस्टे सञ्चालनमा रहेको बताइन्छ । तीमध्ये तीन सय निजी र एक हजार बढी सामुदायिक होमस्टे रहेका छन् ।
गाभर भ्यालीमा जारी होमस्टे एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनले महासंघमा जाने निर्णय गरेसँगै कार्यान्वयनमा जानेछ । सम्मेलनमा भाग लिन देशभरिका ६ सय बढी होमस्टे सञ्चालक गाभर भ्यालीमा आइपुगेका छन् ।










प्रतिक्रिया दिनुहोस्