यसरी हुँदैछ गाभर भ्यालीमा मौलिक भोजन मेलाको तयारी (फोटोफिचर)



कोहलपुर ।

बाँकेस्थित गाभर भ्यालीमा मौलिक भोजन मेला आयोजना हुने भएको छ । चैत १२ र १३ गते गाभर भ्यालीमा मौलिक भोजन मेलाको आयोजना हुने भएको हो । मौलिक भोजन मेला आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले रैथाने, मौलिक भेषभुषा, कला संस्कृतिको प्रवद्र्धनका लागि मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । ‘रैथाने बिउविजन नास हुँदै गएका छन् ।

कतिपय रैथाने बाली लोप भइसकेका छन्,’ उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हरेक समुदायका आफ्ना मौलिक खाना र संस्कृति छन् । पत्रु खानाको संस्कृति रोक्न र रैथाने मौलिक भोजनको प्रचारप्रसार गर्न मौलिक भोजन मेला गर्न थालेका हौं ।’ पर्यटन गतिविधि बढाउन भूमिका खेल्ने लक्ष्य राखिएको मौलिक भोजन मेलाको तयारी तीव्र पारिएको संयोजक चौधरीले बताए ।

उनका अनुसार अहिले मेलास्थलमा मञ्च, स्टललगायतका निर्माणको काम धमाधम चलिरहेको छ । ‘मेलास्थलसमेत हामीले मौलिक वस्तुको नै प्रयोग गरेर निर्माण गरिरहेका छौं,’ संयोजक चौधरीले भने, ‘सबै कुरामा हामीले मौलिकपन दिन खोजिरहेका छौं ।

मेलामा आउनेहरुले त्यो अनुभव गर्न पाउनुहुनेछ ।’ पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोग र रैथाने एग्री प्रडक्टस् नेपालको प्राविधिक सहयोगमा गाभर भ्याली सामुदायिक होमस्टेमा मौलिक भोजन मेला हुन गइरहेको हो । मानिसको जीवनशैलीमा समेत परिवर्तन आउँदा त्यसको असर नेपाली खाना संस्कृतिमा समेत पर्दै गएको मेलाका संयोजक चौधरीले बताए ।

‘मानिसको जीवनशैलीमा आएको परिवर्तका कारण मौलिक खानाहरु बिस्तारै हराउँदै र लोप हुँदैछन्,’ उनले भने, ‘नेपाली हावापानीमा उत्पादित खाद्य वस्तु स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छन् । नेपाली रैथाने खाना विदेशी पर्यटकहरुको रोजाइमा पर्दै गइरहेको सन्दर्भमा संरक्षण र प्रवद्र्धन जरुरी हुन्छ ।’

कतिपय खानासँग संस्कृतिको अन्तर सम्बन्ध रहने भएकाले मौलिक खानाहरु लोप भए हाम्रा मौलिक संस्कृतिसमेत लोप भएर जाने संयोजक चौधरीले दाबी गरे । ‘होमस्टेको माध्यमबाट केही हदसम्म स्थानीय मौलिक खाना र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने कार्यमा मद्दत पुगेको छ,’ उनले भने, ‘मौलिक भोजन मेलाले केही भए पनि यसमा सहयोग पु¥याउने हामीले लक्ष्य राखेका छौं ।’

रैथाने एग्री प्रडक्टस् नेपालका राईबहादुर राईले समुदायको आर्थिक स्तर वृद्धिको आधारमध्ये रैथाने खाना संस्कृति पनि रहेको बताए । ‘लुम्बिनी प्रदेशमा पनि समुदाय विशेष महŒवपूर्ण खाना परिकार अनि खाना संस्कृतिको अध्ययन, अनुसन्धान र अभिलेखिकरण हुन जरुरी छ,’ उनले भने ।

देशभर होमस्टे सञ्चालक गाभर आउँदै

देशभरिका होमस्टे सञ्चालक गाभर भ्यालीमा भेला हुने भएका छन् । चैत्र १२ र १३ गते गाभर भ्यालीमा होमस्टे एसोसिएसन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा सहभागी हुन देशभरिका होमस्टे सञ्चालन गाभर भ्यालीमा आउन लागेका हुन् ।

करिब ६ सयजना होमस्टे सञ्चालकहरु सम्मेलनमा भाग लिन गाभर भ्यालीमा आउन लागेको होमस्टे एसोसिएसन नेपालका महासचिव प्रेमशंकर मर्दनीया थारुले जानकारी दिए । ‘यो क्षेत्रमा यति धेरै संख्यामा देशभरिका होमस्टे सञ्चालक आउन लागेको पहिलोपटक नै होला,’ उनले भने, ‘यसले गाभर भ्यालीलगायतका पर्यटकीयस्थललाई चिनाउन मद्दत पु¥याउनेछ ।’

राष्ट्रिय सम्मेलनले होमस्टे एसोसिएसनको विधान परिमार्जन गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । उनका अनुसार सम्मेलनमा होमस्टे व्यवसायीका समस्या, आगामी दिनमा गर्नुपर्ने कामलगायतका विषयमा समेत व्यापकरुपमा छलफल हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १० गते बिहीबार