नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले कर्मचारीमाथि हातपात गरेका छन् । बर्माले नगरपालिकाको सरसफाइ शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका हुन् ।
वडाको फोहोर उठाउने विषयमा भएको भनाभनपछि बर्माले हातपात गरेका बताइएको छ । फोहोर उठाउने आफ्ना सहकर्मीलाई हातपात गरेको भन्दैं सरसफाई शाखामा काम गर्ने कर्मचारीहरुले नगरपालिकामा गएर नारा जुलुस गरेपछि विषय बाहिर आएको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले आइतबार कर्मचारीसँग वडाध्यक्षको विवाद भएको पुष्टि गरे । उनले कर्मचारीहरुले विरोध गरेपछि बैठक बसी विवाद मिलाइएको जानकारी दिए । बर्माले स्वीकारेपछि विवाद मिलेको बताइएको छ । कर्मचारीले कोठामा हातपात गरेको भन्दै सहकर्मीहरुसँग न्यायको गुहार गरेका थिए ।
यता वडाध्यक्ष बर्माले हातपात नभएको बताएका छन् । ‘चुनाव आउन लागेको छ । यस्ता अफवाहहरु आइहाल्छन् । ती कर्मचारीहरुले काम नगर्ने गरेकोले मैले सम्झाएको हुँ । काम गर्ने भए राम्ररी गर्नु नत्र राजीनामा दिनु भनको हुँ । काम नगर्ने हो भने म आफैँ पनि प्रोसेस चाल्छु भनेको थिएँ । त्यो पनि सबैको सामू भनेको हुँ । आज छलफल भएको हो । छलफलमा मैले माफी पनि मागेको होइन । अबदेखि राम्ररी काम गर्ने सल्लाहमा सहमति भएको हो,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्