कोहलपुरको फोहोरमा राजनीति, नागरिकलाई सास्ती



  • नेपाली कांग्रेस र माओवादी मतदाता भट्काउन चाहान्छन् भने मेयर रावतलाई आफ्नै पार्टीभित्रबाट असहयोग भइरहेको छ । आफूसँग स्रोतसाधन र अधिकार हुँदा पनि मेयर रावतले हिम्मत गर्न नसकेको यर्थाथ हो ।
  • स्थानीय सरकार आफैँ सक्षम हुँदाहुँदै राजनीतिक दललाई गुहारेका मेयर रावतले उक्त मौखिक आदेश पाएको तीन दिनसम्म फोहोर व्यवस्थापन गर्न सकेका छैनन् भने अन्य राजनीतिक दलले पनि फोहोर व्यवस्थापन गर्न खुलेर सहयोग गरेनन्, जसले गर्दा लामो समयदेखि नगरभित्रको फोहोर यत्रतत्र सडकमा छरिएको छ ।

कृष्ण ओली । कोहलपुर ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा शनिबार कोहलपुर नगरपालिकाका नगर प्रमुख (मेयर) लुटबहादुर रावतले आदेशात्मक स्वीकृत मागे, ‘तपाईंहरु आदेश दिनुहुन्छ भने म अहिलेको अहिल्यै नगरभित्रको फोहोर उठाउँछु । यदी तपाईं (राजनीतिक दललगायत अन्य) ले साथ र सहयोग नदिने हो भने फोहोर सडकमै थुप्रिन्छ । हामी फोहोर उठाउन सक्ने अवस्थामा छैनौं ।’

कोहलपुर नगरक्षेत्रमा करिब तीन सातादेखि फोहोर संकलनमा अवरोध सिर्जना भएपछि सर्वपक्षीय र सर्वदलीय बैठकमा मेयर रावतले फोहोर व्यवस्थापनमा सहयोग मागेका थिए । सहमतिबिनै फोहोर व्यवस्थापन गर्दापछि आउने समस्यामा राजनीतिक दल तथा सरोकारवालाले साथ सहयोग दिनुपर्ने उनको आसय थियो ।

उनको सहयोगमा यहाँका राजनीतिक दलहरुले मौखिकरुपमा सहमति जनाए तर लिखित भएन । स्थानीय सरकार आफैँ सक्षम हुँदाहुँदै राजनीतिक दललाई गुहारेका मेयर रावतले उक्त मौखिक आदेश पाएको तीन दिनसम्म फोहोर व्यवस्थापन गर्न सकेका छैनन् भने अन्य राजनीतिक दलले पनि फोहोर व्यवस्थापन गर्न खुलेर सहयोग गरेनन्, जसले गर्दा लामो समयदेखि नगरभित्रको फोहोर यत्रतत्र सडकमा छरिएको छ । फोहोर दिन प्रतिदिन बढ्दै जाँदा नगर थप दुर्गन्धित हुँदै गएको छ ।

नगरको फोहोर व्यवस्थापनको जिम्मा जटायु रिसाइकलर्सले पाएको थियो । जटायुले नगरबाट उठाएर फोहोर फाल्दै आएको कोहलपुर–९, मा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रमा गत फागुन १५ गते स्थानीयले तालाबन्दी गरेका थिए । सोही बेलादेखि नै फोहोर फाल्ने ठाउँ नभएको भन्दै जटायुले नगरको फोहोर संकलन गर्न छोडेपछि फोहोरको थुप्रो लागेको हो ।

कोहलपुर बजार क्षेत्र फोहोरको थुप्रोले कुरुप र थप दुर्गन्धित बन्दै जान थालेपछि नगरपालिकाको आचोलना हुन थालेको छ । फोहोर व्यवस्थापनमा नगरपालिकाको नेतृत्व चुक्दै गएको देखिन्छ भने राजनीतिक दलले पनि असहयोग गरेको प्रष्ट देखिन्छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेबाहेकका राजनीतिक दल समस्या हल गर्न खुलेर लागेका छैनन् । फोहोरले जति कोहलपुर दुर्गन्धित भयो त्यही नै चुनावमा फाइदा हुने एमालेबाहेकका दलको मनसाय देखिन्छ ।

प्रत्यक्षरुपमा कोहलपुरका क्रियाशील राजनीतिक दलहरुले फोहोर व्यवस्थापनको विषयमा विरोध नगरे पनि आन्तरिकरुपमा भने असहयोग गरिरहेका छन् ।

नगर प्रमुख लुटबहादुर रावतले कोहलपुरमा रहेका केही सामुदायिक वनसँग फोहोर व्यवस्थापनको लागि छलफल चलाएका थिए । सम्भावित केही सामुदायिक वनमा फोहोर व्यवस्थापनका लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिले अवरोध गरेका छन् । ‘फोहोर व्यवस्थापनका लागि मेयरज्यूले प्रयास चाहिँ गर्नुभएको हो,’ एक नगरपालिकाका कर्मचारीले भने, ‘उहाँकै पार्टीबाट निर्वाचित वडाध्यक्षले फोहोर फाल्न अवरोध गर्नुभयो । अन्य पार्टीले असहयोग गर्ने नै भए ।’

शनिबार नै राजनीतिक दलले मौखिकरुपमा फोहोर व्यवस्थापन गर्न सहमति जनाए पनि नगरपालिकाले फोहोर उठाउन सकेन । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले फोहोर व्यवस्थापनका लागि सरस्वती सामुदायिक वन उपयुक्त हुने बताए ।

‘राजनीतिक दलहरुले फोहोरमा राजनीति गर्दैनौं भनिसकेको अवस्थामा तत्कालै बजारको फोहोर व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘सहमति हुन नसकेको अवस्थामा अब बलमिच्याइ गरेर भए पनि अगाडि बढ्ने की ?’ कुनै कम्पनीले नउठाएको भन्दैमा नगरलाई फोहोर बनाउने अधिकार कसैलाई पनि नभएको अध्यक्ष पौडेल बताउँछन् ।

सरकारी जमिन बेच्न खोज्नुभयो
लुटबहादुर रावत, प्रमुख कोहलपुर नगरपालिका

सकभर छलफलमै सहमति गरौँ भनेर म लागिपरेको छुँ । उहाँहरुसँग बारम्बार कुराकानी भइरहेको छ । उहाँहरुका माग बुझ्नै नसकिने छन् । नगरले थेग्नै नसक्ने रकम मागिरहनु भएको छ । उहाँहरुको मनसाय अप्ठ्यारोमा पारिरहने देखिन्छ । त्यो वन जनताले संरक्षण गरेको हो । हामीले बल प्रयोग गर्दा जनता जालान्, धकेलमकेल होला । अहिले नै यस्तो नगरी हालौँ भन्ने हो ।

म लचिलो भएको छुँ । म जनतालाई माया गर्ने मान्छे भएको हुनाले दुःख नदिउ भन्ने हो । जबरजस्ती गर्दा कस्तो परिणाम निस्कन्छ, मैले बुझेको छुँ । यसो हेर्दा समस्या जटिल देखिन्छ । यो हामी सबैको दायित्व हो । सहजरुपमा समस्या समाधान गरौँ भन्ने हाम्रो कुरा उहाँहरुले बुझ्न सक्नुभएन । उहाँहरुले सरकारी जमिन बेच्न खोज्नुभयो । किन्ने कुरा स्वीकार गर्न गरेनौँ ।

सवदलीय बैठकले बल प्रयोग गर्न अधिकार दिएकै हो । जनताले दुःख पाउलान् भनेर मात्रै रोकिएको छँु । सकेसम्म छिट्टै व्यवस्थापन हुन्छ । राजनीतिक दलले मलाई सहयोग गरिरहेकै छन् । जुनसुकै हालतमा सहमतिमा गर्नुहोस् ।

सहमति भएन भने बल प्रयोग गर्नुहोस भन्नु भएको छ । मलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले फेरि फरक बोल्नु भएको भए म जान्दिन । उहाँहरुले सहमति दिनु भएको छ । अब सहज रुपमै फोहोर उठ्छ ।

बल प्रयोग गर्नुपर्छ
खिलप्रसाद भुषाल
अध्यक्ष, नेकपा (एमाले) कोहलपुर

बल प्रयोग गरेर भए पनि अब कोहलपुरको फोहोर व्यवस्थापन गर्नुपर्छ । हामीले कोहलपुर नगरपालिकालाई बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुहोस् भनेर भनिसकेका छौं । उहाँहरुले किन फोहोर उठाउनु भएन उहाँहरुले नै जान्ने कुरा हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार फोहोरमैला व्यवस्थापनको काम अगाडि बढाउनुपर्छ भन्ने हाम्रो पार्टीको आधिकारिक धारण छ । बैठकमा सबै राजनीतिक दलहरुले बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुहोस् भनेका थियौं ।

मेयरज्यूले बल प्रयोग गरेर पनि किन फोहोर व्यवस्थापन गर्न सक्नु भएन त्यो उहाँले जान्ने कुरा हो । नेकपा एमाले कोहलपुरले फोहोर व्यवस्थापनमा कुनै अवरोध गरेको छैन । जसरी भए पनि नगरको फोहोर व्यवस्थापन हुनुपर्छ ।

सहमतिअनुसार काम गरे हुन्छ
वीरेन्द्रबहादुर शाह
सभापति, नेपाली कांग्रेस कोहलपुर

फोहोर व्यवस्थापनका लागि सर्वदलीय सर्वपक्षीय बैठकले नगरपालिकालाई अनुमति दिइसकेको छ । फोहोर व्यवस्थापनका लागि बैठकले दिएको अनुमतिअनुसार नगरपालिकाले काम गरे हुन्छ नि ।

बैठकले कोहलपुरको फोहोर व्यवस्थापन जुनसुकै सामुदायिक वनमा कोहलपुर नगरपालिकाले गर्नसक्ने अनुमति दिएको थियो । त्यो काम उहाँहरुले गर्नुभयो की भएन भनेर उहाँहरुलाई नै सोध्नुहोस् । आफूले फोहोर व्यवस्थापन गर्न नसक्ने दोष चाहिँ अन्य राजनीतिक दललाई दिएर हुँदैन ।

शनिबारको सर्वदलीय सर्वपक्षीय बैठक सकेर म सिधैं काठमाडौं आएको हुँ । अहिले काठमाडौंमा नै छुँ । बैठकको निर्णयपछि फोहोर उठ्यो की उठेन मलाई थाहा भएन । सर्वदलीय सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न सक्नुभयो की भएन उहाँहरुलाई नै थाहा होला ।

समन्वयमा कमजोरी छ
अवराज खड्का
अध्यक्ष नेकपा (माओवादी केन्द्र) कोहलपुर

कोहलपुर नगरपालिकाले हामीसँग समन्वयसमेत गरेको छैन । जटायु र नगरपालिकाबीच के सम्झौता भएको छ । त्योसमेत हामीलाई थाहा भएन । जटायु र नगरपालिकाको विवादका कारण जनताले दुःख पाउनु राम्रो होइन ।

दुवै पक्षबीच भएको सम्झौता तथा अहिलेसम्म खर्च भएको रकम सार्वजनिक गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुरले माग गरेको थियो । सोही कारण हामीलाई उहाँहरु (नगरपालिका) ले नबोलाएको हुन सक्नुहुन्छ । केही दिन पहिला हामीले फोहोर उठाउँछौं भन्दा उहाँहरुले उठाउन दिनुभएन ।

हामी उठाउँछौं भन्नुभएको थियो, अहिले हेर्दा त सडकभरि नै फोहोर देखिन्छ । सामुदायिक वनले पहिला किन फोहोर फाल्न दिएको थियो । अहिले किन फेरि फोहोर फाल्न नदिने बताइरहेको । त्यो कुरा हामीलाई थाहा हुने कुरा भएन ।

समस्या समाधानमा सहयोग गर्न त उहाँहरुले हामीलाई बोलाएर छलफल गर्नुप¥यो नी ? यो विषयमा हामीलाई कुनै जानकारी पनि छैन ।

खोई नागरिक दायित्व ?

कोहलपुर–नेपालगन्ज सडकखण्डमा दैनिक फोहोर बढ्दो छ । व्यापारी तथा सर्वसाधारणले उत्पादित फोहोर सडक छेउमै लिएर बिर्सजन गर्छन् । फोहोर उठ्न नसकिरहेको अवस्थामा नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ तर, त्यसो देखिएन ।

नागरिकमा हामीले कर तिरेका छौं, राज्यले फोहोर उठाउनुपर्छ भन्ने भावना छ । तर यस्तो अवस्थामा नागरिकले आफ्नो दायित्व निर्वाह गर्न जरुरी नै छ । राज्यलाई सहयोग गर्नु पनि एउटा जिम्मेवार नागरिकको कर्तव्य हो ।

पसल तथा घरमा उत्पादित फोहोर अस्थायीरुपमा आफैँ व्यवस्थापन गर्न सके सडकभरि फोहोरको थुप्रो हुने थिएन । जलाउन मिल्ने जलाउने र गाड्न मिल्नेलाई अस्थायीरुपमा आफैँले डस्टबिन प्रयोग गर्ने बानी बसाले केही हदसम्म सडकमा यत्रतत्र फोहोर छरपस्ट हुने थिएन ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ८ गते मंगलबार