बाँकेमा १७ सय ८६ म्यादी प्रहरी भर्ना गरिने



नेपालगन्ज ।

बाँकेमा एक हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

देशभर एक लाख म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएकोमा बाँकेमा प्रारम्भिकरुपमा एक हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गरिने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । थप प्रहरी आवश्यक देखिएमा प्रहरी प्रधान कार्यालयले सोहीअनुसार संख्या थप्नसक्ने अधिकारीले बताए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि जनसंख्या र मतदान केन्द्रका आधारमा म्यादी प्रहरीको संख्या माग गरिएको एसपी अधिकारीले बताए । आज चैत्र ६ देखि ११ गतेसम्म म्यादी प्रहरीका लागि आवेदन संकललन गरिनेछ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । छनौटका लागि निर्धारण गरिएको मापदण्डअनुसार पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

चैत्र १५ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ भने २२ गतेसम्म नतिजा प्रकाशन गरी २८ गतेदेखि प्रशिक्षण सुरु गरिने अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार