हिरानव युवा क्लब च्याम्पियन



राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि हिरानव युवा क्लबले जितेको छ । राप्तीसोनारी–९ ढकेरीको उक्त क्लबले उपाधिसँगै ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा राप्तीसोनारी–४ धामपुरले द्वितीय स्थान हासिल गरेको छ भने राप्तीसोनारी–९, जंगवीर ढकेरीको ए टिम तृतीय भएको छ । क्रमशः द्वितीय हुनेले २० हजार, शिल्ड, प्रमाणपत्र र तृतीय स्थान हासिल गर्नेले १० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । फागुन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा १८ टिम सहभागी भएको आयोजकले जनाएको छ ।


प्रतियोगिताका विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले पुरस्कार प्रदान गरेका थिए । उक्त प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष थारुले युवाहरुमा सिर्जनशीलता र सकारात्मक सोचको विकास गर्न खेलकुद अपरिहार्य भएको बताए । अध्यक्ष थारुले खेलकुद समाजिक एकताको प्रतिक रहेको बताउँदै गाउँपालिकाले खेल जगतलाई सधै प्राथमिकतामा राखेर काम गरिरहेको बताए । प्रतियोगितामा कसैको हार र कसैको जीत हुने भए पनि संघर्ष गर्नेले अवश्य नै जीत हासिल गर्ने उनको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, जनप्रतिनिधि, स्थानीयलगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार