सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा एकैघरका चारजनाको निसासिएर ज्यान गएको छ । घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा चारैजनाको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जाजरकोट स्थायी घर भएका उनीहरु शनिबार राति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पना बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट छन् ।
घटना शुक्रबार रातिकै भए पनि शनिबार साँझमात्रै थाहा भएको थियो । जाजरकोटबाट परिवारका सदस्यहरु आएपछि चारैजनाको आइतबार पोस्टमार्टमपश्चात भेरी नदीमा दाहसंस्कार गरिसकिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्