पालिकास्तरिय महिला भलिबलः चार पालिका सेमिफाइनलमा



नेपालगन्ज ।

बाँकेको खजुरामा रहेको शुक्र भलिबल स्टेडियममा जारी जिल्ला व्यापी पालिकास्तरिय महिला भलिबल प्रतियोगितामा चार वटा पालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहका अनुसार नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

योसँगै जानकी, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएको उनले बताए । शनिबार बिहान भएको खेलमा जानकी गाउँपालिकालाई बैजनाथ गाउँपालिकाले सोझो सेटमा पराजित गरेको थियो ।

त्यसैगरि, कोहलपुरले खजुरा गाउँपालिकालाई पनि सोझो सेटमा पराजित गरि सेमिफाइनलको यात्र तय गरेको हो । शनिबार नै भएको खेलमा राप्तीसोनारीले खजुरालाई र नरैनापुरले जानकीलाई पराजित गरेको आयोजक बाँके जिल्ला खेलकुद विकास समितिले जनाएको छ । शनिबार दिउँसो भएको खेलमा कोहलपुरले डुडुवालाई र राप्तीसोनारीले पनि डुडुवालाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका थिए ।

यसैगरि, नेपालगन्जले बैजनाथ र नेपालगन्जले नरैनापुर गाउँपालिकालाई पराजित गरि नेपालगन्ज सेमिफाइनलको यात्रा तय गरेको हो । आइतबार (आज) चार वटा पालिकाबीच सेमिफाइनलका खेल हुने र आजै नै फाइनल खेल हुनेछ ।

गाउँ–गाउँबाट महिला भलिबल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । प्रतियोगितामा बाँकेका आठ वटै पालिकाहरुले भाग लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार