रेबिजबाट बच्न कुकुरलाई खोप



शिवु खनाल । दाङ ।

कुकुरको टोकाईबाट मानिसमा रेबिजको संक्रमण सर्दछ । कहिलेकाँही त मानिसको ज्यानसम्म जानसक्ने अवस्था पनि आउँछ ।

यही जोखिमलाई मध्यनजर गर्दै पशुसेवा उप–शाखा कार्यालय लमहीले रेबिजबाट बच्न कुकुरलाई निःशुल्क भ्याक्सिन लगाउन थालेको छ । लमही नगरपालिका अन्तर्गतको कार्यालयले कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगायने अभियान थालेको हो ।

रेबिज लागेका कुकुरको टोकाइबाट पशु चौपाया मर्न थालेपछि कुकुरलाई खोप लगाउन थालिएको छ । मानिसमा संक्रमण फैलिन नदिन, रोग रोकथाम एवम् रोग नियन्त्रणका लागि रेबिज विरुद्धको खोप लगाउन थालिएको लमही नगरपालिका पशुसेवा उप—शाखा कार्यालय लमहीका प्रमुख शिवराज न्यौपानेले बताए । रेबिज रोगकै कारण विगतमा केही मानिसहरूले ज्यान गुमाएका छन् ।

‘सोही अनुरुप पशु कार्यालयले नगरभरीका सबै घरपालुवा कुकुरलाई जम्मा पारेर १५ औं विश्व रेबिज दिवसको अवसरमा तीनदिने निःशुल्क रेबिजविरूद्वको खोप कार्यक्रम अगाडि बढाइएको हो,’ प्रमुख न्यौपानेले भने । उनले यो अभियान तीन दिनसम्म चल्ने जानकारी दिए । नगरपालिकाभित्रका दुई सय भन्दा बढी घरपालुवा कुकुरलाई एन्टिरेबिज खोप लगाइनेछ ।

रेबिज रोगको नियन्त्रण एवम् महामारी फैलिन नदिन प्रयासका लागि पालिका भित्रका सबै कुकुरलाई ऐन्टिरेबिज भ्याक्सिन लगाउन थालेको लमही नगरपालिका नगर उप—प्रमुख देबका बेल्वासेले बताइन् । लमही नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा सामुदायिक र घरपालुवा कुकुरको पछिल्लो समय बिगबिगी बढेको छ ।

लमही नगरपालिका पशु सेवा उप—शाखा कार्यालय लमहीले १५ औं विश्व रेबिज दिवसको अवसरमा तीनदिने निःशुल्क रेबिजविरूद्वको खोप कार्यक्रम अगाडि बढाइएको हो । यस्तै, घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन पशु कार्यालय लमहीले आग्रह गरेको छ ।

रेबिजबाट कसरी बस्ने ?

रेबिज संक्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे–पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरू सुनिने, पानीदेखि डराउने लगायतका लक्षण देखिन्छन् ।

घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले हात धुने र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि पशु कार्यालय लमहीले अनुरोध गरेको छ ।

रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ । रेबिजका कारण विश्वमा बर्सेनि झन्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १३ गते बुधबार