स्वास्थ्य बीमामा छैन आकर्षण



सुर्खेत ।

चार वर्ष अघि जुम्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू छ ।

तर अझैपनि ८३ प्रतिशत कर्णालीबासी स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर छन् । संघीय सरकारले तामझामका साथ सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम १८ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा अहिलेसम्म २ लाख ६७ हजार १ सय ९७ जनाले मात्रै बीमा गराएका छन् ।

जसका कारण नागरिकको समग्र स्वास्थ्यस्थितिमा सुधार ल्याउन तथा सवैका लागि स्वास्थ्य बीमा सुनिश्चि गर्ने उद्देश्यले ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम कर्णाली प्रदेशमा प्रभावकारी बन्न नसकेको देखिएको हो । धेरैलाई त बीमा कार्यक्रमबारे नै जानकारी छैन ।

हालसम्म सुर्खेतमा ५२ हजार ५ सय ९९, कालिकोटमा ३६ हजार ८ सय ६, जाजरकोटमा ४० हजार १ सय ७६, रुकुमपश्चिममा ५५ हजार ३८, जुम्लामा ५३ हजार ६२, डोल्पा २ हजार १ सय ९०, मुगु ४ हजार २ सय ५६, दैलेख १० हजार ३ सय ५१ र सल्यानमा ५ हजार ३ सय ८५ जनाले बीमा गराएका छन् ।

बीमा गराएकामध्ये कतिपयले नवीकरण समेत गरेका छैनन् ।

व्यवस्थित रुपमा प्रचारप्रसार हुन नसक्दा बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको स्वास्थ्य बीमा वोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितको जानकारी दिए । कर्णालीमा २४ स्वास्थ्य संस्थाबाट विमितहरुले सेवा लिन पाउने व्यवस्था मिलाइएको छ ।

तोकिएकै संस्थाबाट सेवा लिनुपर्ने, ती स्वास्थ्य संस्थामा पनि पर्याप्त औषधि नहुने र सेवा लिँदा झन्झटिलो प्रक्रिया हुने हुँदा स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्न नसकेको स्वास्थ्य बीमा वोर्ड कर्णालीका संयोजक पण्डित बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २६ गते शनिबार