‘कोहलपुरमा सिसीटिभीको निगरानी आवश्यक छ’



कोहलपुर  बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा चोरी, डकैती,हत्या हिंसा बढ्दै गएको सरोकारवालाले बताएका छन् ।समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि सरोकारवालाहरुको आपसी समन्वय अभावमा यस क्षेत्रमा अशान्ति र असुरक्षा बढ्दै गइरहेको उनीहरुकोले बताएका छन् । समाजमा शान्ति सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरी संगठनलाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारिने गरेका कारण समाजमा शान्ति स्थापनामा समस्या भइरहेको उनीहरुको भनाइ थियो ।

यस्तै पछिल्लो समय कोहलपुर क्षेत्रमा दिनहुँ चोरी डकैती बढ्नुका साथै हत्या हिंसा र लागू औषधको ट्रान्जिट बनिरहेको सरोकारवालाले बताएका थिए । आइतबार इलाका प्रहरी कार्यालय कोहलपुरले आयोजना गरेको अपराध रोकथाम, नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गरी सार्वजनिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा आयोजित अन्र्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रमा पछिल्लो समय शान्तिसुरक्षामा खलल पुग्ने खालका गतिविभि भइरहेको बताए ।

उनका अनुसार पछिल्लो समय लागू औषध दुव्र्यसन तथा ओसारपोसारको ट्रान्जिट बन्ने खतरा रहेको छ । कोहलपुर क्षेत्रलाई अपराध मुक्त गर्नको लागि यस अघि सुरक्षा निकायलाई सिसिटिभ सहयोग प्रदान गरिएको प्रमुख रावतको भनाइ थियो । उक्त अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले सुरक्षा निकायले सीमित जनशक्तिका बाबजुत जिल्लाको शान्तिसुरक्षाका लागि अनवरत रुपमा लागि परेको बताएका थिए ।

उनका अनुसार बाँकेमा नेपालगञ्जपछि बढी जनसंख्या र जनघनत्व रहेको कोहलपुरलाई अपराधमुक्त बनाउन सबैको सहयोग आवश्यक छ । त्यसको लागि सम्पूर्ण नागरिक, उद्योगी, राजनीतिक दल तथा सुरक्षा निकायबीच समन्वय हुन आवश्यक रहेको बताए । उक्त अवसरमा बोल्ने अधिकांश वक्ताले शान्तिसुरक्षा कायम गर्नको लागि सम्भावित अपराध हुने स्थापनको पहिचान र सिसिटिभी जडान कार्यलाई तिव्रता दिन आवश्यक रहेको भनाइ रहेको थियो । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुरको शान्ति सुरक्षाको लागि संघ आवश्यक सहयोग तयार रहेको बताए ।

उनले अपराध नियन्त्रण तथा व्यवसायीहरुको सुरक्षाका लागि सधै अघि बढ्ने बताएका थिए । अध्यक्ष पौडेलका अनुसार सिसिटिभी क्यामरा जडानका लागि समेत सहयोगको प्रतिबद्धता व्यक्त गरिएको छ । उक्त अवसरमा बोल्ने अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले अपराध न्युनिकरणमा राजनीतिक दलको समेत भूमिका रहने बताएका थिए । यस्तै उक्त बैठकबाट कोहलपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्नको लागि दुई वटा समिति समेत गठन गरिएको छ ।

अन्तरक्रिया मार्फत सिसिटिभी स्थापन पहिचान र सिसिटिभी जडान तथा व्यवस्थापन समिति गठन गरिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डियसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार ससिटिभी स्थापन पहिचान समितिमा इलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ कोहलपुर, वडा नम्बर ११ र कोहलपुर नगरपालिकाका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको छ ।

यस्तै सिसिटिभी जडान तथा व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघ संयोजक रहनेगरी कोहलपुर नगरपालिका, सुनचाँदी व्यवसायी संघ कोहलपुर पत्रकार महासंघ बाँके कोहलपुर, बैंकर्स क्लब, यातायात व्यवसायी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी गठन गरिएको डिएसपी खनालको भनाइ छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमबार