सम्पादकीय : स्वास्थ्य सुरक्षा अपनाउ



बाँके जिल्ला पहिलो चरणमा कोरोना संक्रमणको हटस्पट बन्यो । त्यतिबेला ठूलो जनसंख्या प्रभावित भएको थियो । पहिलो चरणको कोरोना संक्रमणको समयमा जिल्लामा विशेष गरी दीर्घरोगी नागरिकहरुले ज्यान गुमाए । तर पहिलोपटक बाँकेमा एक २४ वर्षीय युवकको मृत्यु भएको थियो । उनी भारतबाट पैदल आएर आइसोलेसन सेन्टरमा बसेका थिए । ती युवक नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दोस्रो कोरोना संक्रमित हुन् । पहिलो कोरोना संक्रमित एक सुत्केरी महिला हुन् । जसले नेपालमा पहिलोपटक कोरोना संक्रमणका कारण मृत्युवरण गरिन् । २०७६ को चैत्र महिनाको ११ गते पहिलो पटक नेपालका कोरोना संक्रमण जोखिमका कारण लकडाउन गरिएको थियो । अहिलेसम्म देशभर १० हजार नेपाली नागरिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

यस्तै दोस्रो चरणको कोरोना संक्रमणको समयमा समेत बाँके जिल्ला निकै प्रभावित बन्यो । यो समयमा बाँकेमा ठूलो संख्यामा मानवीय क्षति पुग्यो । सयौ नागरिकले कोरोनाका कारण ज्यान गुमाए । हालसम्म बाँकेमा कोरोनाका कारण कुल ३२२ जनाले ज्यान गुमाइसकेका छन् । झण्डै ४ सयको हाराहारीमा बाहिरी जिल्लाबाट उपचारको क्रमा बाँकेमा आएका नागरिकहरुको मृत्यु पनि बाँके मै भएको छ । दोस्रो पटक बैशाख महिनामा लागू गरिएको निषेधाज्ञा अहिलेपनि लागु छ । केही महिनायता कोरोना संक्रमण न्युन हुँदै गएपनि अहिलेपनि बाँकेमा कोरोना संक्रमणको उच्च संभावना रहेको छ । पछिल्लो समय बाँकेमा निषेधाज्ञा खुकुलो बनाइएसँगै फेरि कोरोना संक्रमण पुष्टि भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहरको समेत सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले समेत तेस्रो लहरको कोरोना संक्रमणको पूर्व तयारी थालिसकेको छ । तेस्रो लहरको संकेत जिल्लाका पालिकाहरुमा देखिएको कोरोना संक्रमणले समेत पुष्टि गरिसकेको छ । जिल्लाको कोहलपुर नगरपालिका तेस्रो लहरको उच्च जोखिममा रहेको छ । कोहलपुरमा अहिले ६५ सक्रिय कोरोना संक्रमित रहेका छन् । साउन महिनामा मात्रै यहाँ दर्जनौँ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोभिड १९ व्यवस्थापन समितिले पनि कोहलपुर जोखिममा रहेको निष्कर्ष निकालेको छ । जिल्लाका अन्य पालिका समेत जोखिममा रहेका छन् । तेस्रो लहरमा बालबालिका बढी जोखिममा हुनेछन् । बाँके जिल्लाको चार लाख जनसंख्या मध्ये साढे २ लाख बढी बालबालिका प्रभावित हुन सक्ने अनुमान गरिएको छ । त्यसैले यो अवस्थामा सबैभन्दा धेरै बालबालिकाहरुलाई सुरक्षित बनाउनुपर्ने देखिन्छ । त्यतिमात्रै होइन पहिलेको जस्तै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत अत्यावश्यक छ । त्यसैले सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय र स्वयम नागरिकहरुले स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार