कोहलपुर शैक्षिक झलक बिमोचन



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रको सम्पूर्ण शैक्षिक गतिविधि समेटिएको कोहलपुर शैक्षिक झलक २०७८ बिमोचन गरिएको छ । ‘हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ कोहलपुर शैक्षिक झलक २०७८ अंक दुई बिमोचन गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उक्त शैक्षिक झलक बिमोचन गरे ।

बिमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले नगर शिक्षाले कोरोना कहरका बीच लकडाउन अवधिमा तयार पारेको झलक यहाँको शैक्षिक क्षेत्रको उपलब्धि भएको बताए । ‘कोहलपुर क्षेत्रका शैक्षिक क्षेत्रका गतिविधि समेटिएको छ’ उनले भने, ‘यो अति महत्वपूर्ण काम हो ।’ यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ भन्दै नगर शिक्षा शाखालाई धन्यवाद समेत दिएका थिए ।

उक्त अवसरमा बोल्दै उप–प्रमुख सन्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउने नीतिमा पुरा गर्नका लागि यस्ता प्रकारका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनका अनुसार २ वर्षदेखि कोरोना महामारीले पिल्सीएको शैक्षिक क्षेत्रमा पनि कोहलपुर नगर शिक्षाले स्राहनीय काम गरेको भन्दै खुसी व्यक्त गरिन् । ‘अहिले कोहलपुर शैक्षिक झलकको २ अंक भयो, ‘अब आउने अर्को अंकमा भने कोहलपुरका विद्यालयका सफलताका कथाहरु समेटीएमा झन् राम्रो हुने थियो, उनले भनीन् ।

यस्तै मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमालले ‘कोहलपुर शैक्षिक झलक’ भित्रको विश्लेषण गरेका थिए । सो विश्लेषण झलकमा के कस्ता कुराहरु समावेश गरिएको छ ?

शैक्षिक हब बनाउन के कस्ता कार्य गर्नुपर्दछ ? के कस्ता गुरु योजना बनाउनुपर्दछ ? जस्ता विषयबस्तु कोहलपुर शैक्षिक झलकमा समावेश भएको विश्लेषण गरेका थिए । सामुदायिक विद्यालयमा सुशासन कायम राख्नका लागि अहिलेको शैक्षिक झलकले वस्तुनिष्ठता र सत्यता र आवश्यकतामा आधारित रहेको क्याम्पस प्रमुख हमालले बताए ।

यस्तै कुल ११० पेजको उक्त झलकमा कोहलपुरको शैक्षिक क्षेत्रको बृहत जानकारी सहितका २१ वटा विषयवस्तु समेटिएको छ । उक्त झलकमा कोहलपुर नगरपालिकाको संक्षिप्त चिनारी, शैक्षिक स्थिति, तहगत विद्यालय संख्या, विद्यालयगत नतिजा, आगामी वर्षमा गरेका कार्यहरु, नेपालको वर्तमान अवस्था, तहगत शिक्षकको संख्या, नेपाल सरकारको वार्षिक निति तथा कार्यक्रम, दरबन्दी मिलानको प्रक्रिया र नतिजा, कोहलपुरको शिक्षा ऐन २०७६, आधारभुत तह (कक्षा८) मुल्याङ्कन तथा नतिजा प्रकाशन कार्यविधि, २०७८, बालसंरक्षण निति, २०७८, शैक्षिक हब अवधारण पत्रको प्रस्ताव, बालविकास केन्द्रमा गर्नुपर्ने न्यूनतम क्रियाकलाप र अन्य विषयबस्तुहरु समेटिएको छ । कोहलपुर नगरपालिका बाँके जिल्लामा नै पहिलो पटक साक्षर नगर घोषणा गरेको थियो ।

उक्त अवसरमा सम्पूर्ण पेसागत संगठन, नगर क्षेत्रका प्र.अ. विभिन्न संघ संगठनका प्रमुख, शिक्षा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त शैक्षिक झलकको लेखन तथा निर्देशन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौड्याले गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार