कोहलपुरमा १८ लाख लागतमा संघर्ष रोज सेनेटरी उद्योग स्थापना



कोहलपुर  : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ मा संघर्ष रोज सेनेटरी उद्योग सञ्चालनमा आएको छ । संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्र्तगत संघर्ष रोज ग्रुपले कोहपुरमा सेनेटरी उद्योग सञ्चालनमा आएको हो । उद्योगको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतले उद्घाटन गरे ।


‘गुणस्तरीय सेनेटरी प्याड प्रयोग गरौँ, महिला स्वास्थ्यप्रति सजक बना’ैँ भन्ने मूल नारा सहित उद्योगको औपचारिक उद्घाटन गरिएको हो । उद्योग उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख रावतले सेनेटेरी प्याड महिलाहरुको स्वस्थ जीवनको लाथि आवश्यक रहेको बताए । उनका अनुसार खासगरी किशोरी युवती तथा महिलाहरु महिनावरी भएको बेला सुरक्षा अपनाउनको लागि अति आवश्यक हुन्छ ।

उद्योग उद्घाटनको क्रममा बोल्दै संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शितला परियारले समाजमा अहिले पनि चुलौचौकोमा सीमित रहेका महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउनको लागि उद्योग स्थापना गरिएको बताइन् ।

सहकारीकी प्रमुख व्यवस्थापक तुलसी सुनार सहकारीमा आवद्ध बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाई आर्थिक सम्बृद्धि तर्फ अग्रसर बनाउने काम गरिरहेको बताउँछिन् ।

महिलाहरुको शसक्तिकरणलाई मध्यनजर गर्दै संघर्ष रोज ग्रुप प्रा.लि. मार्फत सेनेटरी उद्योग सञ्चालनमा ल्याइएको उनले बताइन् । पहिलो चरणमा उद्योग सञ्चालनको लागि १८ लाख लागत रहेको उनको भनाइ छ । उक्त अवसरमा रोज अभियान काठमाडौँका माधव भण्डारी,कोहलपुर नगरपालिकाका वडा अध्यक्षहरु, अन्य सरोकारवाला तथा सहकारीका सस्दयहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार