प्रतिपक्ष दल एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। आजको बैठक विशेषगरी संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताए।

एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेको छ। तामाङका अनुसार हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित केही सांसदले विश्वासको मत दिएको विषयमा पनि आजको बैठकमा समीक्षा हुनेछ। हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री चयन हुँदा ह्वीप नलाग्ने र पार्टी ह्वीप नजान्नेलाई कारबाही हुन नसक्ने फैसला सुनाइएकाले अरु कारण देखाएर उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने एमालेको तयारी छ।

हिजो देउवालाई एमाले अध्यक्ष ओली पक्षका ८ र वरिष्ठ नेता नेपाल पक्षका १४ जना सांसदले विश्वासको मत दिएका थिए। १० जना सांसद मतदानमै सहभागी भएनन्। तामाङका अनुसार भोट हाल्ने र नहालेर बाहिरिनेका विषयमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्ने छ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार