सत्तापक्षको अदालत बाहिर प्रदर्शन



कोहलपुर ।

नेकपा एमालेको सत्तारुढ समूहले बाँकेको नेपालगञ्जमा सरकारको पक्षमा प्रदर्शन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नै सत्तारुढ एमालेका युवा विद्यार्थीहरुले शनिवार नेपालगञ्जमा प्रदर्शन गरेका हुन् ।

न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने भन्दै एमाले निकट युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । एमालेको पार्टी कार्यालयबाट सुरु भएको नारा जुलुसहितको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरेर बाँके जिल्ला अदालत बाहिर गएर कोण सभामा परिणत भएको थियो ।

शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेपका विरुद्ध भन्दै युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले प्रदर्शन गरेका हुन् ।

अदालत बाहिर भएको कोण सभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय महासचिव रमेश आचार्यले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने बताएका थिए ।

अदालत बाहिर प्रदर्शनमा सहभागीहरुले सरकारको पक्षमा नाराबाजी गर्नुका साथै न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने लगायतका नारा लगाएका थिए ।

संसद विघटनको फैसला आउने पूर्वसध्यामा सत्तारुढ दलकै युवा विद्यार्थीहरुले स्वतन्त्र न्यायपालिकाको आवाज उठाउँदै गरेको प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अदालतले भोली संसद विघटन विरुद्ध परेको रिटमा फैसला सुनाउँदैछ । प्रदर्शनमा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रविन्द्र लम्साल, नेकपा एमाले नेता देवराज भार, पदम धिताल, अशोक कर्माचार्य, दत्त आचार्य, युवा संघका स्थायी कमिटी सदस्य खेमराज शर्मा, अनेरास्ववियु सचिवालय सदस्य सूर्य रोकाय, केन्द्रीय सदस्य मोहित शाह लगायत युवा विद्यार्थीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २७ गते आइतबार